गृहमन्त्री अध्यक्ष रहेको प्रतिष्ठान : निजी आवासमा सरकारी लगानी !

विवेक विवश रेग्मी ५ पुष २०८० १५:१०
284
SHARES
गृहमन्त्री अध्यक्ष रहेको प्रतिष्ठान : निजी आवासमा सरकारी लगानी ! इटहरी उपमहानगरपालिका- ३ मा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका नाममा बनाइएको व्यक्तिको जग्गामा रहेको भवन । तस्बिर : विवेक विवश रेग्मी।

इटहरी- नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान,  सुनसरीको भवन व्यक्तिको जग्गामा निर्माण गरेको पाइएको छ। इटहरी उपमहानगरपालिका-३ याक्थुङ चोकमा प्रतिष्ठानका नाममा अनिता परियारको जग्गामा भवन बनाइएको पाइएको हो। भवन अहिले निजी आवासका लागि प्रयोग भइरहेको छ। भवनमा अनिता परिवारका भाइबुहारी बस्दै आएका छन्।

संविधानसभा सदस्य परियारको नाममा दर्ता रहेको डेढ कट्ठा जमिनमध्ये १० धुर जमिनमा प्रतिष्ठानले भवन बनाएको छ। परियार संविधानसभा सदस्य रहेका बेला संघीय सरकारबाट बजेट विनियोजन गरी भवन निर्माण गरिएको हो।

भवन बनाउनका लागि सुरुमा स्थानीयको भेला बोलाएर कृषक समूह गठन गरिएको थियो। समूहले कृषि भवन बनाउने निर्णय गरेको थियो। सोही आधारमा कृषि भवन निर्माणार्थ सरकारबाट बजेट विनियोजन गरिएको थियो।

कृषि समूहलाई थाहै नदिई प्रतिष्ठानका नाममा भवन बनाइएको त्यति बेला कृषक समूहमा आबद्ध एक पदाधिकारीले बताए। भवन प्रतिष्ठानका नाममा नभई अनिता परियारको नाममा छ। ‘परियारको सांसद विकास कोष र पहुँचका आधारमा संघीय सरकारबाट बजेट विनियोजन गरिएको थियो’, समूहका ती पूर्वपदाधिकारीले भने।

प्रतिष्ठानको तीनतले भवन (ट्रस्टसहित) निर्माण सम्पन्न भइसकेको छ। भवन निर्माण भए पनि नक्सा पास गरिएको छैन। प्रतिष्ठानका पदाधिकारी भने नक्सा पास गरेर मात्रै भवन निर्माण गरेको दाबी गर्छन्।

यस विषयमा इटहरी उपमहानगरपालिकाको घर नक्सा शाखामा घर (भवन) नक्सा पासको कागजात ‘सूचनाको हक प्रयोग’ गर्दै खोजी गरे पनि उपलब्ध हुन सकेन।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान नेकपा माओवादी निकट संस्था हो। प्रतिष्ठानको केन्द्रीय अध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। गृहमन्त्रीसमेत रहेका श्रेष्ठ इटहरीमा रहेको यो भवनबारे जानकार छन्। तर भवन निर्माणका प्रक्रियामा श्रेष्ठलाई गुमराहमा राखिएको स्थानीय बासिन्दा बताउँछन्।

प्रतिष्ठानलाई उक्त जग्गा उपलब्ध गराउने भन्नेबारे कतै उल्लेख छैन, न कुनै निर्णय नै भएको छ। प्रतिष्ठानले भने निर्णय गरिसकेको दाबी गर्दै आएको छ।

प्राविधिक विषय अध्यापन हुँदै आएको प्रतिष्ठानले इटहरी-९ मा सञ्चालनमा रहेको क्याम्पस सार्ने तयारी गरेको छ। प्रतिष्ठानको भवन तीन वर्षअघि निर्माण सम्पन्न भइसके पनि क्याम्पस भाडाको भवनमा सञ्चालनमा छ।

प्रतिष्ठानले क्याम्पसका लागि मासिक दुई लाख भाडा तिर्दै आएको क्याम्पस प्रशासनले जानकारी दियो। अनिता परियारका भाइबुहारीसहित नेकपा माओवादी केन्द्र इटहरीका नेतासमेत रहेका बहादुरसिंह तामाङ (ज्वाला) समेत प्रतिष्ठान परिसरमा निर्माण गरिएको टहरोमा बस्दै आएका छन्।

ज्वालाले उक्त भवन प्रतिष्ठानका नाममा ल्याउने प्रक्रिया अघि बढिरहेको स्वीकार गरे। ‘भवन प्रतिष्ठानको नाममा ल्याउने प्रक्रियामा छौँ,’ उनले भने, ‘झन्झटिलो प्रक्रिया रहेका कारण अझै केही समय लाग्छ।’

प्रतिष्ठान सुनसरीका अध्यक्ष एकचन्द्र बराल (निर्मल) ले पूर्वाधार बन्नुअघि सबै भवनको नक्सा पास गरेको दाबी गरे। उनले भने, ‘नक्सा पास नभई भवन बन्दैन। इटहरी उपमहानगरपालिकाबाटै नक्सा पास गरेर हामीले भवन बनाएका छौँ।’

भवन त व्यक्तिको नाममा रहेछ नि? भन्ने प्रश्नमा उनको दाबी छ, ‘भवन प्रतिष्ठानको नाममा ल्याउन निर्णय भइसकेको छ। यो क्याम्पसको भवन नभई प्रशासनिक भवन हो।’ उक्त भवन २०७७ सालमा निर्माण सकिएको उनले बताए।

‘भवनमा कलेज ल्याउने होइन, प्रशासनिक भवन हो,’ उनले भने, ‘समुदायबाट प्रतिष्ठानलाई प्राप्त जग्गामा भवन बनाएका हौँ। क्रमशः प्रतिष्ठानका नाममा आउँछ, निर्णय भइसकेको छ।’ उनले चालु आर्थिक वर्षभित्रमा प्रतिष्ठानको नाममा भवन आउने दाबी गरे।

प्रतिष्ठानले २०७४ पुस १६ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा शाखा दर्ता गरी विद्यार्थी भर्ना गरेर अध्यापन गराउँदै आएको छ। प्रतिष्ठानले २०७५ यता सुनसरीमा बालीविज्ञान, कृषि, सिभिल इन्जिनियरिङ, हस्पिटालिटी एन्ड होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको छ। निःशुल्क कार्यक्रमअन्तर्गत प्रिडिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन भइरहेको छ।

       दर्ता पत्र

इटहरी उपमहानगरपालिका-३ का वडाध्यक्ष उमेश सुवेदी यस विषयमा आफू जानकार नरहेको बताए। उनले भने, ‘हाम्रो कार्यकाल आउनुभन्दा अगाडि बनेको भवन हो। हरेक वर्ष प्रतिष्ठानले विभिन्न निकायबाट बजेट ल्याइरहेको छ।’ उनले आफूले वडा कार्यालयबाट भने बजेट विनियोजन नगरेको र अन्य निकायबाट प्रतिष्ठानले हरेक वर्ष बजेट ल्याइरहेको प्रतिक्रिया दिए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा २०७३ सालमा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ ले नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयका नाममा अध्यापन गराउँदै आएको छ।

इटहरी उपमहानगरपालिका वडा नं. ६ मा शाखा कार्यालय रहने गरी शाखा दर्ता गरिएको छ। प्रतिष्ठानको मुख्य कार्यालय ललितपुरमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =