थोकरको फोटो पुस्तक ‘लाइफ इन पान्डेमिक’ सार्वजनिक

हिमाल प्रेस २ कार्तिक २०८० १६:४२
24
SHARES
थोकरको फोटो पुस्तक ‘लाइफ इन पान्डेमिक’ सार्वजनिक

काठमाडौँ- फोटो पत्रकार केशवराज थोकरको ‘लाइफ इन पान्डेमिक : काठमान्डु ड्युरिङ कोभिड-१९’ नामक फोटो पुस्तक सार्वजनिक भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन्।

सभामुख घिमिरेले म्हेन्दो ट्रस्टद्वारा प्रकाशित पुस्तकमा कोरोना कालमा भएका घटनालाई दस्ताबेज गरिएको बताए। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका वरिष्ठ सरुवा रोग चिकित्सक डा. शेरबहादुर पुनले प्रकाशित पुस्तकले आफूलाई कोरोनाको समयमा भोगेका, देखेका घटनालाई पुनः स्मरण गराएको र कतिपय घटना सम्झिएर भावुक भई आँखा रसाएको बताए।

लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय थोकरले कोरोनाले थिलथिलो बनाएको काठमाडौँले भोगेको जीवन, महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कोरोना संक्रमणले अक्सिजन अभावमा जीवन र मृत्युसँग पौँठेजोरी खेलिरहेकाहरुको संवेदनायुक्त परिदृश्यलाई फोटोमार्फत पुस्तकमा समावेश गरेका छन्।

साथै थोकरले पारिवारिक भोगाइका रूपमा आफू दैनन्दिन काम गरिरहँदा गर्भवती श्रीमती साङमो योञ्जन कोरोनाबाट संक्रमित भई आइसोलेसनमा बस्दा भोगेका क्षणलाई फोटो कथाका रूपमा समावेश गरेका छन्। पुस्तक विभिन्न सात शीर्षकमा विभाजन गरिएको छ।

पुस्तक सार्वजनिक समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा फोटो पत्रकार क्लबका निवर्तमान अध्यक्ष विकास कार्की, भाषाविद् एवं भाषा आयोगका सदस्य अमृत योञ्जनलगायतले मन्तव्य राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =