गृहमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ सियाओहङ भेट

सीमापार अपराध नियन्त्रणका लागि चिनियाँ साथ खोज्दै उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस ३० असोज २०८० २०:१८
10
SHARES
सीमापार अपराध नियन्त्रणका लागि चिनियाँ साथ खोज्दै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एव‌ं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिसुरक्षा कायम गर्न र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहयोग अभिवृद्धि गर्न आवश्यक भएको बताएका छन्। उनले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सदस्य, स्टेट काउन्सिलर एवम् चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको भेटमा यस्तो बताएका हुन्। 

‘आन्तरिक तथा बाह्य राजनीतिक परिस्थितिमा फेरबदल भए पनि एक चीन नीतिप्रति नेपालको स्पष्ट र अटल अडान छ,’ उनले भनेको उल्लेख गर्दै सचिवालयले जनाएको छ, ‘कानुन कार्यान्वयन, सीमा व्यवस्थापन तथा सुरक्षा अधिकारीको क्षमता अभिवृद्धिलगायत विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको छ। शान्तिसुरक्षा कायम गर्न तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहकार्य थप बढाउन आवश्यक छ।’

चिनियाँ सार्वजनिक सुरक्षामन्त्री सियाओहङले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहायता सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। नेताहरूले भेटमा दुई देशबीचको उत्कृष्ट सम्बन्धका साथै दुई मन्त्रालयबीच बढ्दो सहयोगप्रति सन्तोष पनि व्यक्त गरेका थिए।

उनले विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा पनि  छलफल गरेका थिए । साथै कानुन प्रवर्तन, सीमा व्यवस्थापन र सुरक्षाकर्मीको क्षमता अभिवृद्धिलगायत विषयमा समेत दुई नेताबीच छलफल भएको बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल-चीन सीमामा रहेका १४ वटा सीमा बन्दरगाह खोलिएकोमा दुवै नेताले प्रशंसा गरेका छन्। उनीहरूले सीमा बन्दरगाह खुल्दा द्विपक्षीय व्यापार प्रवद्र्धन मात्र नभई दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए।
डेलेगेसन स्तरको उक्त भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, चीन समेत हेर्ने परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ र विपद् तथा जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा चीनका तर्फबाट सार्वजनिक सुरक्षामन्त्री सियाओहङसहित चिनियाँ उच्च अधिकारी सहभागी थिए।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले साँझ तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको भ्रमणमा आएका विदेशी प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेका थिए । उक्त स्वागत भोजमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ सहभागी भएका थिए।

यसअघि दिउँसो उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको सम्मानमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले दूतावासमा स्वागत समारोह आयोजना गरेका थिए। कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए। उनले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताएका हुन्।

‘नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ। यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ,’ उनले भने, ‘यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ।’

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको पनि बताए।

प्रकाशित: ३० असोज २०८० २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =