महिलामा स्तनपानबारे सचेतना न्यून

हिमाल प्रेस ३० असोज २०८० १५:३३
132
SHARES
महिलामा स्तनपानबारे सचेतना न्यून स्थलगत अध्ययनमा सहभागी विद्यार्थी। तस्बिर : हिमाल प्रेस

सुर्खेत- महिलामा स्तनपानबारे सचेतना न्यून रहेको पाइएको छ। मध्यपश्चिम विश्वविद्यालयका समाजशास्त्रका स्नातकोत्तर अध्ययनरत विद्यार्थीले क्षेत्रगत रूपमा गरेको अनुसन्धानले यस्तो तथ्य संकलन गरेको हो।

नियमित स्तनबाट प्राप्त हुने पौष्टिक आहार र पोषणतत्त्वबारे धेरै आमाहरू अनभिज्ञ छन्। यस्तै स्तनपन नगराएमा रोग लाग्छ न्ने जानकारी पनि उनीहरूलाई छैन। केही महिलाले फुर्सद मिलाएर मात्रै शिशुलाई स्तनपान गराउने गरेको बताएका छन्।

कतिपयले सार्वजनिक स्थानमा असहज हुँदा स्तनपान गराउने गरेका छैनन्। सरफाइमा ध्यान नदिँदा स्तनमा विभिन्न रोग लागेका पनि महिलाहरूको भनाइ छ।

विद्यार्थीले सुर्खेत नगरपालिका-९ स्थित कालीमाटी टोलका ४० जना महिलामा आधारित भएर अनुसन्धान गरेको संयोजक मनोज न्यौपानेले जानकारी दिए। उनले भने, ‘महिलाले आफ्नो शरीर बिग्रने चिन्ताले सन्तानलाई स्तनपान गराउन छाडेका भन्ने सुनिन्छ। त्यसलाई बुझ्न पनि हामीले स्थलगत रूपमा अनुसन्धान गरेका हौँ।’

अध्ययनका क्रममा यस्ता महिला नभेटिएको न्यौपानेले बताए। उनले भने, ‘बुझेर वा नबुझेर पनि कालीमाटी टोलका सबै आमाले बच्चाबच्चीलाई स्तनपान गराइरहेका छन्। तर उनीहरूमा स्तनबारे सचेतना भने असाध्यै कम पाइयो।’

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्। प्रदेशको बहुसूचक सर्वेक्षण सन् २०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको पाइएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

यस्तै कर्णालीमा ६ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत महिला छन्। नेपालमा ६२ प्रतिशत महिलाले मात्र शिशु जन्मेको ६ महिनासम्म स्तनपा गराउँछन्। बहसूचक सर्वेक्षण २०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बागमती र गण्डकी प्रदेशभन्दा कर्णालीमा बढी देखाएको छ।

मध्यपश्चिम विश्वविद्यालयको मानविकी संकायको समाजशास्त्रका विभागीय प्रमुख वेदप्रकाश ढकालले विद्यार्थीलाई स्थलगत अवलोकनको सिकाइ हुने भएकाले अनुसन्धानमा संलग्न गराइएको बताए। स्थानीयबारे व्यावहारिक ज्ञान सिक्न र समाजको आवश्यकताबारे जानकारी लिन स्थलगत अध्ययनमा खटाइएको ढकालले जानकारी दिए।

समाजशास्त्रका प्राध्यापक डा. आनन्दप्रसाद सुवेदीले समाजको यथार्थ अवस्था बाहिर ल्याउन यस्ता अध्ययन उपयोगी हुने बताए। यस्ता कार्यले विद्यार्थीलाई अनुसन्धानमूलक काममा जुट्न थप सहयोग पुग्ने सुवेदीको भनाइ छ। अध्ययनका लागि ३८ विद्यार्थी खटिएका थिए।

प्रकाशित: ३० असोज २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =