‘स्तनपानको महत्त्वबारे आमाहरू नै अनभिज्ञ’

हिमाल प्रेस ९ पुष २०८० १२:५०
230
SHARES
‘स्तनपानको महत्त्वबारे आमाहरू नै अनभिज्ञ’ अनुसन्धान प्रतिवेदन सार्वजिनक गर्दै विद्यार्थी। तस्बिर : हिमाल प्रेस

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका- ९ की ४० वर्षीया सीता चौधरीलाई स्तनपानबारे धेरै कुरा थाहा छैन। चौधरीले बच्चा नरोए दूध नखुवाउने र रोएमात्र खुवाउने गरेकी छन्। त्यसमा पनि काममा व्यस्त हुँदा दूध खुवाउनै बिर्सने गरेको चौधरी सुनाउँछिन्।

सोही वडाकी २७ वर्षीया आकृती थारू र लक्ष्मी चौधरी जागिरका कारण बच्चालाई पूर्ण रूपमा स्तनपान गराउन नसकेको स्वीर्काछन्। बच्चालाई स्तनपान गराउने समय थाहा हुँदा पनि पूर्ण रूपमा स्तनपान गराउन नसकेको उनीहरूको भनाइ छ।

यी मात्र होइन स्तनपानबारे अधिकांश आमाहरू अनभिज्ञ रहेको हालै गरिएको एक अनुसन्धानले देखाएको छ। मध्यपश्चिम विश्वविद्यालयका समाजशास्त्रका स्नातकोत्तर अध्ययनरत विद्यार्थीले क्षेत्रगत रूपमा गरेको अनुसन्धानले नियमित स्तनपानबाट प्राप्त हुने पौष्टिक आहार र पोषण तत्त्वबारे धेरै आमा अनभिज्ञ रहेको तथ्य फेला पारेको हो।

विद्यार्थीले सुर्खेत नगरपालिका-९ स्थित कालीमाटी टोलका ४० जना महिलामा आधारित भएर अनुसन्धान गरेका थिए। अनुसन्धान संयोजक रामलीला बमका अनुसार सबै महिलाले स्तनपान गराए पनि  सन्तुलित र व्यवस्थित रहेको पाइएन।  उनले भनिन्, ‘बुझेर वा नबुझेर पनि कालीमाटी टोलका सबै आमाले बच्चाबच्चीलाई स्तनपान गराइरहेका छन्।’

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्। प्रदेशको बहुसूचक सर्वेक्षण सन् २०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको पाइएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। यस्तै कर्णालीमा ६ महिनासम्म आमाको दूध खुवाउने महिला ६८ प्रतिशत छन्।

नेपालमा ६२ प्रतिशत महिलाले मात्र शिशु जन्मेको ६ महिनासम्म स्तनपान गराउँछन्। बहसूचक सर्वेक्षण २०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बागमती र गण्डकी प्रदेशभन्दा कर्णालीमा बढी देखाएको छ।

समाजशास्त्रका प्राध्यापक डा. आनन्दप्रसाद सुवेदीले समाजको यथार्थ अवस्था बाहिर ल्याउन यस्ता अध्ययन उपयोगी हुने बताए। यस्ता कार्यले विद्यार्थीलाई अनुसन्धानमूलक काममा जुट्न थप सहयोग पुग्ने सुवेदीको भनाइ छ। स्थानीयबारे व्यावहारिक ज्ञान सिक्न र समाजको आवश्यकताबारे जानकारी लिन स्थलगत अध्ययनमा खटाइएको उनले जानकारी दिए। अध्ययनका लागि ३८ विद्यार्थी खटिएका थिए।

प्रकाशित: ९ पुष २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =