दसैँ बिदामा कहाँ घुम्न जाने?

हिमाल प्रेस २९ असोज २०८० १७:५६
112
SHARES
दसैँ बिदामा कहाँ घुम्न जाने? रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल। उक्त ताल अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन। तस्बिर : रासस

काठमाडौँ- केही वर्षयता दसैँतिहारको लामो बिदामा घुम्ने चलन बढेको छ। कोही एक्लै त कोही परिवार र साथीभाइसँग घुम्न निस्किने गर्छन्। नेपालमा घुम्नलायक ठाउँ धेरै छन्। दसैँको छेकोमा घुम्न चाहनेका लागि यी गन्तव्य उपयुक्त हुन सक्छन् :

लुम्बिनीको मायादेवी मन्दिर

तराईको समथर भूभाग, पहाडका सुन्दर थुम्का अनि हिमाल। लुम्बिनीमा घुम्नलायक यस्ता थुप्रै ठाउँ छन्। भ्रमण गर्न चाहनेका लागि लुम्बिनी प्रदेश उचित गन्तव्य हो।

लुम्बिनी गौतम बुद्धको जन्मभूमि। विश्वभरिका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र। नेपालको प्रमुख पर्यटकीय र धार्मिक स्थल पनि हो। लुम्बिनीकै नामबाट प्रदेश नामकरण भएको छ। लुम्बिनी सन् १९९७ मा विश्व सम्पदामा सूचीकृत भएको छ।

आन्तरिक पर्यटकका लागि यहाँको मायादेवी मन्दिर आकर्षण हो। मन्दिरमा मायादेवीको प्राचीन मूर्ति छ। सन् १९६६ मा सघन उत्खननबाट पत्ता लागेको जन्म स्मारक, ईसापूर्व २४९ मा सम्राट् अशोकले स्थापना अशोक स्तम्भ, पवित्र पोखरी यहाँका हेर्नैपर्ने स्थल हुन्। त्यस्तै मायादेवी मन्दिरमा पाँचौँदेखि सातौँ शताब्दीसम्मका भग्नावशेष छन्।

त्यतिमात्रै होइन, सुन्दर बगैँचा, शान्तिदीप, दक्षिणतर्फ दायाँ र बायाँतर्फ विहार क्षेत्र छुट्याएको नहरले पर्यटकलाई लोभ्याउँछ। तीन किमि क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा साना सवारीसाधन र रिक्सामा मज्जाले भ्रमण गर्न सकिन्छ।

‘प्रेमको प्रतीक’ पाल्पाको रानीमहल

नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थलमध्ये एक हो, रानीमहल। कतिपयले यसलाई ‘नेपालको ताजमहल’ भन्छन्। पाल्पाको तानसेन नगरपालिका–३ मा अवस्थित छ रानीमहल।

पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी किनारमा रहेको रानीमहल तत्कालीन पाल्पा गौँडाका बडाहाकिम खड्गशमशेरले दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएको इतिहास छ। १९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदीको चट्टानमाथि पश्चिमी कलाकौशलको बेजोड नमुनाले सिंगारेर बनाइएको छ।

प्रेमको प्रतीक मानिने रानीमहल पर्यटकका लागि राम्रो गन्तव्य हो। तानसेनबाट १३ किमिको दूरीमा रहेको यस ठाउँमा अहिले सडक कालोपत्रे भएकाले सजिलै पुग्न सकिन्छ।

र्‍याफ्टिङ गर्न चाहनेले कालीगण्डकी नदी किनारमा त्यसमा रमाउन सक्छन्। पछिल्लो समय रानीमहललाई साक्षी राखेर रात बिताउने पर्यटक बढेका छन्। खाजा, खाना र बासका लागि होटलसमेत छन्। दिनभरि घुमेर तानसेन आएर बस्न पनि सकिन्छ। बुुटवल, भैरहवाबाट बिहान गएर घुमेर साँझ फर्कन सकिने ठाउँ हो यो।

पर्यटकीय गन्तव्य पोखरा

गण्डकी प्रदेश सरकारले तीन वर्षअघि १ सय १० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो। प्रदेशका ११ जिल्लामध्ये हरेक जिल्लाका १०/१० गरी १ सय १० गन्तव्य घोषणा गरिएको हो।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगर लागिपरेको छ। फेवाताल, तालको बीचको तालाबाराही मन्दिर, तालमा देखिने माछापुच्छ्रे हिमालको छायाले पर्यटकलाई लोभ्याउँछ।

पोखराको फेवातालमा डुंगा सयर गर्दै भारतीय पर्यटक। तस्बिर : रासस

बेगनासताल, रूपाताल, विन्ध्यवासिनी मन्दिर, सेती नदी, महेन्द्र गुफा, चमरेगुफा, डेभिडफल, विश्वशान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको मन्दिर, सराङकोट, काहुँ डाँडालगायत ठाउँ घुम्ने र आनन्द लिने गन्तव्य हुन् यहाँका।

‘पहाडकी रानी’ बन्दीपुर

बन्दीपुरलाई ‘पहाडकी रानी’को उपमा दिइएको छ। पृथ्वी राजमार्ग हुुँदै पोखरा आउने क्रममा तनहुँको बन्दीपुर पुग्न उकालो चढ्नुपर्छ। ग्रामीण पर्यटनका लागि चिनिने बन्दीपुर एक सुन्दर बस्ती हो। यहाँ थुप्रै पर्यटकीय स्थल छन्। बन्दीपुरस्थित छिम्केश्वरी मन्दिर, खड्गदेवी मन्दिर, गुफा घुम्न समय बितेको पत्तै हुन्न। यहाँबाट उत्तरतर्फ देखिने हिमालको मनोरम दृश्य, मर्स्याङ्दी उपत्यकाले मनै लोभ्याउँछ।

ऐतिहासिक स्थल गोरखा दरबार

गोरखा जिल्लाको सदरमुकाममा ऐतिहासिक गोरखा दरबार छ। यो दरबारको पश्चिममा देवी गोरखकालीको मन्दिर छ। यहाँको पुरानो गुफामा बाबा गोरखनाथको मूर्ति छ। नेपाल एकीकरणमा योगदान पुर्‍याएका राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक स्थल हो।

गोरखा

गोरखा दरबार घुमेर चर्चित मनकामना मन्दिर दर्शन गरेर फर्किन पनि सकिन्छ। मन्दिर दर्शन गरे मनले चिताएको पुग्ने जनविश्वास रहेकोले बर्सेनि हजारौँ दर्शनार्थी मन्दिर जाने गर्छन्।

होमस्टेका लागि घलेगाउँ

लमजुङको घलेगाउँमा गुरुङ समुदायको बस्ती छ। पछिल्लो समय ग्रामीण पर्यटनका रूपमा घलेगाउँ होम–स्टेका लागि प्रसिद्ध छ। बिदामा घलेगाउँ आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ। यो ठाउँबाट माछापुच्छ्रे, मनास्लु, अन्नपूर्ण, लमजुङ हिमाल आँखैअगाडि देखिन्छ। चियाबगान, भेडीखर्क, उत्तर कन्याको मन्दिर यहाँका भ्रमण गन्तव्य हुन्।

वन्यजन्तुको साम्राज्य ढोरपाटन

बागलुङमा पर्ने ढोरपाटन सिकार आरक्षण अर्को पर्यटकीय गन्तव्य हो। रंगीचंगी फाँटमा घोडा चरिरहेको सुन्दर दृश्यले आँखा आनन्दित हुन्छ। डाँडा उक्लेर धौलागिरी, गुर्जा, चुरेन हिमालको दृश्यले जोकोहीलाई मोहित बनाउँछ। यहाँका सुन्दर फाँट अझ रमाइला लाग्छन्। यहाँ अनुमति लिएर सिकार खेल्न पाइन्छ। यो नेपालको एकमात्र सिकार आरक्षण हो। वन्यजन्तुको साम्राज्य रहेको ढोरपाटनमा ३२ थरीका स्तनधारी वन्यजन्तु तथा १ सय ६४ प्रजातिका चराचुरुंगी छन्।

‘स्वर्गको टुक्रा’ खप्तड

सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यहाँ कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तड यहीँ छ। सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज छ।

निकुञ्ज सन् १९८४ सालमा स्थापना भएको हो। यो निकुञ्ज २२५ वर्ग किमिमा क्षेत्रफलमा फैलिएको छ। यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्छ। जहाँ सल्ला, खसुर र निगालोको जंगलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसेमैदान छन्। यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चरा पनि पाइन्छन्।

खप्तड क्षेत्र।

समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको १२ हजार फिट अग्लो खप्तड लेक यहाँको आकर्षण हो। खप्तड क्षेत्रभित्र त्रिवेणी धाम, सहस्र लिंग, बाबा आश्रम, बाबा कुटी, घोडा दाउन पाटन, डाँफेकोट, गणेश पाटन, नागढुंगा, छित्रेपानी आदि छन्। जो पर्यटकका लागि आकर्षक गन्तव्य हुन्। त्यसबाहेक यस क्षेत्रमा २२ वटा ठूला पाटन र ५२ वटा झोता (रूखका थुम्का) छन्। यहाँको मौसम सामान्यतया चिसो हुने गर्छ।

ताप्लेजुङको पाथीभरा

ताप्लेजुङ भन्नेबित्तिकै धेरैजसोका आँखामा पाथीभरा मन्दिरको चित्र आउँछ। त्यसैले ताप्लेजुङ धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य हो। तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास छ। दसैँका बेला कतिपय श्रद्धालहरू पाथीभरा पुग्ने गर्छन्।

इलामको चिया बगान

इलाम भन्नेबित्तिकै मानिसको मनमा चिया बगानको झझल्को आउँछ। कतिपयले त इलामलाई प्रकृतिकी रानी पनि भनेर चिन्छन्। एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने र जुनसुकै समयमा पनि चिसो बतास चलिरहनु इलामको विशेषता हो।

कन्याम।

इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन्। यहाँको श्री अन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको मनोरम दृश्य हेर्नका लागि पर्यटकको भीड लाग्छ। यहाँ होमस्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।

श्रीअन्तुको अलावा कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुर लगायतका ठाउँ पनि घुम्नका लागि आकर्षक ठाउँ हुन्। त्यसो त दार्जीलिङ जानका लागि पनि यहाँको पशुपतिनगर हुँदै जाने नाका भएका कारण पनि पछिल्लो समय बाह्य पर्यटक पनि बढ्दै गएका छन्।

खोटाङको हलेसी

खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन्। भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवताको अवस्थितिले हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छ। खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोशी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने विश्वास छ।

हलेसीका अलावा बराह पोखरी, हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रुपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पर्यटकीय गन्तव्य हुन्।

चितवनको सौराहा

सौराहा भन्नेबित्तिकै एकसिङे गैँडा, हात्ती र जंगल सफारीको कुरा आउँछ। चितवनमा पर्ने सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य स्थल हो। यस क्षेत्रमा पर्याप्त होटल, लज, रिसोर्ट र रेस्टुरेन्ट छन्।

सौराहा क्षेत्रमा देखिएका गैँडा।

निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ। यहाँ हात्ती, गैँडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, बदेललगायतका वन्यजन्तुको अवलोकन गर्न पाइन्छ। शरद ऋतुका बेला यहाँ धेरै गर्मी र धेरै जाडो नहुने भएकाले दसैँतिहारका बेला घुम्ने उपयुक्त स्थान हो।

 

प्रकाशित: २९ असोज २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =