कोशी सरकार गठनमा विवाद

देउवा, गगन र विश्वलाई आक्रोशित शेखरको प्रश्न : पार्टी माओवादीलाई बुझाउन लागेको हो?

सन्तोष अधिकारी २५ असोज २०८० १९:४४
2.7k
SHARES
देउवा, गगन र विश्वलाई आक्रोशित शेखरको प्रश्न : पार्टी माओवादीलाई बुझाउन लागेको हो?

काठमाडौँ- कोशी प्रदेशमा सरकार गठनको रस्साकस्सी जारी छ। प्रदेशसभामा रहेका दलका तर्फबाट दुईजनाले मुख्यमन्त्रीमा दाबीसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका छन्। जसअनुसार सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उता कांग्रेसकै इतर समूहबाट केदारबहादुर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनलाई नेकपा एमालेको साथ छ।

संविधानको धाराअनुसार सरकार निर्माणका लागि कोशीमा अन्तिम विकल्प प्रयोग भइरहेको छ। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ‘५’ अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयावधि  शुक्रबार (भोलि) सकिँदैछ।

सरकार गठनका लागि भइरहेको राजनीतिक खेलप्रति कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीप्रति आक्रोश व्यक्त गरे। ‘कांग्रेसकै सांसदलाई मुख्यमन्त्री बनाऔँ भन्न छोडेर माओवादीलाई बनाऔँ भन्ने? कांग्रेसका लागि योभन्दा दुर्भाग्य के हुन्छ?  त्यसरी त पार्टी नै माओवादीलाई बुझाए भयो त,’ उनले हिमालप्रेससँग भने, ‘बडा गजबको खेल खेल्दैछन्। मेरो रिस पार्टीमा फेर्नुपर्ने किन? जो बने पनि कांग्रेसबाट नै बन्नुपर्छ भन्ने मेरो भनाइ हो।’

कोइरालाले पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मात्र होइन कृष्णप्रसाद सिटौलाले समेत पार्टीलाई धोका दिएको आरोप लगाएका छन्। ‘यसरी पनि कांग्रेस बलियो हुन्छ र? मैले नेताहरूलाई प्रस्टै भनेको थिएँ। उद्धव थापा दुईपटक मुख्यमन्त्री हुनुभयो। दुईपटक नै राजनीति हामीले सोचे जस्तो भएन। विश्वासको मत पनि पाउनु भएन,’ नेता कोइरालाले भने। सोही कारण आफूले थापाको विकल्पमा कार्कीलाई प्रस्ताव गरेको कोइरालाले प्रस्ट पारे। उनले भने, ‘मैले थापाको विकल्पमा केदार कार्कीलाई उम्मेदवार बनाऔँ भनेको हुँ।’ एमालेको पनि समर्थन लिए कांग्रेसकै नेतृत्वमा सरकार बनाऔँ भन्दा किन नहुने? भन्दै कोइरालाले आक्रोश व्यक्त गरे। ‘यिनीहरूले कांग्रेस समाप्त पार्दैछन्’, उनले भने।

कोइरालाले सभापति देउवा, उपसभापति खड्कादेखि इतर समूहमै रहेका महामन्त्री थापा र पछिल्लो समय इतर समूहसँग निकट देखिएका अर्का महामन्त्री शर्मा आफ्नोविरुद्ध उत्रिएको आरोप लगाए। ‘कोशी ठूलोमध्येको प्रदेश पनि हो। राजनीतिक रूपमा पनि यहाँ कांग्रेसकै नेतृत्व हुन आवश्यक छ भन्ने कुरा हाम्रा नेताले कहिले बुझ्ने?’ उनको प्रश्न छ।

कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन एमालेका ३९ (उपसभामुखबाहेक) र कांग्रेस शेखर कोइराला समूहका ९ सांसदले समर्थन जनाएका छन्। मतदान वा सनाखत भएको खण्डमा यही संख्याले कार्कीलाई मत दिए उनी मुख्यमन्त्री बन्न सक्नेछन्।

कोइरालाले मुख्यमन्त्री बन्न संसदीय दलको नेता चाहिन्छ भन्ने तर्क नेताहरूले गरेको प्रति पनि आपत्ति जनाए। उनले प्रश्न गर्दै भने, ‘अहिलेको अवस्थामा सरकारको नेतृत्वमा दाबी गर्न संसदीय दलको नेता बन्नुपर्ने अवस्था छैन। संविधानको धाराले त्यो माग गर्दैन भन्ने कुरा पनि नबुझ्ने?

पार्टी नेतृत्वले  कोइरालालाई एक्ल्याउन राजनीतिक खेल खेलेको कोइराला समूहकै एक नेताले बताए। ‘यही बिन्दुबाट काेइराला र गगनलाई छुट्याउने खेल रहेकाे पनि विद्यार्थी कालदेखि राजनीति गर्दै आएका गगनले पनि बुझेनन्। उनी जता पनि ठिक्क हुने र पार्टीको भन्दा प्रचण्डको कार्यकर्ता भइदिने?’ ती नेताले भने।

गगनसँगै विश्वप्रकाश पनि शेखरविरुद्ध उत्रिएको ती नेताको भनाइ छ। ‘शेखरलाई एक्ल्याउन अरू त लागेकै छन्, लागिरहेका छन्। गगन धेरै नै लागेका छन्। विश्वप्रकाश पनि लागेका छन्,’ ती नेताले भने, ‘हाम्रा महामन्त्रीहरू बाहिर भाषण गर्दा पार्टी जोगाउने कुरा गर्ने अनि व्यवहारचाहिँ पार्टी सिध्याउने खालको गर्ने? यसको असर पार्टीमा अझै पर्ने देखिन्छ।’

थापा पार्टीको १४औंँ महाधिवेशनमा शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा उनकै समूहबाट प्रतिस्पर्धा गरेर निर्वाचित भएका हुन्। शर्मा भने प्रकाशमान सिंह समूहबाट उम्मेदवार बनेर महामन्त्री बनेका हुन्। पार्टीमा शेखर शक्तिशाली हुँदै गएपछि उनीहरूले सभापति हारेकालाई वरिष्ठ नेता बनाउन पनि पहल गरेका छैनन्। बरु देउवा खेमाकै केही नेताहरू शेखरसँग नजिकिँदै छन्।

कोशीमा कुन दलका कति सांसद?

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमाले हो।
– एमालेको ४० सांसद छन् (उपसभामुखसहित)।
–  कांग्रेसका २९ जना सांसद छन् ।
– नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।
– राप्रपाका ६ सांसद छन् ।
– जसपाका १ जना सांसद छन् ।
– नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् ।

कोशी प्रदेश : दलको उपनेताबाट राजीनामा दिएर केदार पक्षमा खुले हिमाल कार्की

कोशी : कांग्रेस संसदीय दलका उपनेताले दिए राजीनामा

कोशीमा ८ सांसदको दोहोरो हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्न अन्योल

कोशीको मुख्यमन्त्रीमा एमाले-कांग्रेसबाट कार्की र माओवादी-कांग्रेसबाट आङ्बोको दाबी पेस

 

प्रकाशित: २५ असोज २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =