एमाले सुदूरपश्चिम : अध्यक्षका तीन जना प्रत्यासीमा कसलाई कसको समर्थन?

सहमतिकै प्रयासमा नेताहरू

पदमराज भट्ट २२ असोज २०८० १५:५६
24
SHARES
एमाले सुदूरपश्चिम : अध्यक्षका तीन जना प्रत्यासीमा कसलाई कसको समर्थन?

धनगढी- कैलालीको धनगढीमा हिजो (आइतबार)देखि सुरु भएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन जारी छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए।

पार्टी अध्यक्ष ओली उद्घाटनपछि हिजो नै काठमाडौँ फर्किएका छन्। ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएका थिए। ओलीको निर्देशन अनुरूप अहिले प्रदेशका एमाले नेताहरू सहमतिको प्रयासमा जुटेका छन्।

ओली काठमाडौँ गए पनि उनले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशन सम्पन्न गर्न जिम्मा दिएका यहाँका नेता बताउँछन्। महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन प्रदेशका पूर्व इन्चार्जसहित हालका इन्चार्ज, अध्यक्ष र अन्य नेताहरूसँग छलफल गरिरहेका छन्।

छलफलमा बसेका नेताहरू अहिले अधिवेशन स्थलतर्फ लागेका छन्। नेताहरूले होटलको छलफलपछि बन्दसत्र सुरु गर्न लागेका हुन्। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बन्दसत्र सुरु गरिएको र नेतृत्व चयनका लागि सहमति गरिने जानकारी दिए।

अध्यक्ष ओलीले काठमाडौँ फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षीलाई सहमति गराएर नेतृत्व चयन गराउन निर्देशन दिएका थिए। प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले दाबेदारी प्रस्तुत गरेका छन्।

तीन जना आकांक्षीमध्ये एक जनालाई केन्द्रीय कमिटि र दुई जनालाई प्रदेश कमिटिको पदाधिकारी हुनेगरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको छ।

अध्यक्षका उम्मेदवार कृष्णप्रसाद र कमल अछामका हुन् भने बचनबहादुर कञ्चनपुरका हुन्। अहिलेसम्मको परिवेश अनुसार कृष्णप्रसादलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितको समर्थन रहेको बताइन्छ।

कमललाई एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहित एमाले अध्यक्षकै समेत सद्भाव रहेको छ। वचनबहादुरलाई भने प्रदेशका युवा नेताहरूले समर्थन गरेका छन्। एमालेका निवर्तमान इन्चार्ज लेखराज भट्ट भने अहिले तटस्थ बसेका छन्।

२०४४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका कमलले लामो समय अछामको पार्टी राजनीति गरेका छन्। उनी जिल्ला सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै जिल्ला अध्यक्ष बनेका थिए। अहिले उनी प्रदेशको उपाध्यक्ष पनि हुन्।

यस्तै कृष्णप्रसाद पनि सुदूरपश्चिम प्रदेशमा स्थापित नेता हुन्। शिक्षण पेसा छोडेर राजनीतिमा लागेका उनले एमालेको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला उपसचिव र दुईपटक सचिव भएर काम गरेका छन्। अर्का दाबेदार वचनबहादुर भने निवर्तमान राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा एमाले सुदूरपश्चिमका सचिवालय सदस्य हुन्।

प्रकाशित: २२ असोज २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =