सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोषाध्यक्ष रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

हिमाल प्रेस २१ असोज २०८० १८:३८
16
SHARES
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कोषाध्यक्ष रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पोखरा- कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा सहकारी कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आइतबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनालाई प्रतिवादी बनाई अभियोग दायर गरेको थियो। पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म फरार सहकारीका पूर्व अध्यक्ष एवं संस्थापक गितेन्द्रबाबु (जिबी) राईसहित १८ जनाको हकमा अदालतले म्याद जारी गर्नेछ।

उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनभन्दा १५ लाख बढी बिगो थपेर अभियोग दायर गरेको थियो। उक्त कसूरमा सहकारी ऐन २०७४ को दफा १२४ बमोजिम १ अरब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ।

जसमा १ हजार ३५ जनाको उजुरी परेको उल्लेख गर्दै मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता ढकालले बताए। रम्तेल पक्राउ परेको २४ औं दिनमा प्रहरीले अनुसन्धान सकेर १६ असोजमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। जसमा १ अरब ११ करोड १९ लाख बिगो भराई बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको थियो।

अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीले यस अदालतमा बयान गर्दा सहकारी ठगीको कसुर गरेकोमा इन्कारी बयान गरेको देखिए तापनि सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र प्रमाणबाट यी प्रतिवादी वारदातमा संलग्न रहेन छन् भन्ने भन्न मिल्ने नदेखिँदा’ प्रतिवादीलाई थुनामा पठाउने।’

बहसमा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरवालाको तर्फबाट अधिवक्ताहरु नारायणप्रसाद शर्मा, युवराज पराजुली, विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए। यस्तै, प्रतिवादी रम्तेलको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेका थिए।

पोखराको तेर्सापट्टीमा कार्यालय रहेको सूर्यदर्शन सहकारीले गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि ठगी प्रकरण बाहिरिएको हो। कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी जाहेरी संकलन गरेको थियो। सोबमोजिम २४ भदौमा जिबि राईसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै रम्तेल पक्राउ परेका थिए।

ठगी प्रकरणमा आवश्यक छानबिन गर्न गठन गरिएको विज्ञको प्रतिवेदनबमोजिम थप १२ गरी सहकारीका पूर्व सञ्चालक, हालका सञ्चालक, कर्मचारी लगायत गरी कुल १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। रम्तेल पक्राउ परे पनि अरु १८ जना हालसम्म पक्राउ नपर्नुले भने पीडित बचतकर्ता आक्रोशित छन्।

सहकारीका सानाठुला १८ हजार ७ सय जना बचतकर्ता छन्। अभियोगपत्र अनुसार सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर थुप्रै बचतकर्ताको लाखौं रुपैयाँ अपचलन गरेको भेटिएको छ। सहकारीमा ७ सयदेखि ७ करोड ९२ लाख रुपैयाँसम्म बतत गर्ने बचतकर्ता छन्।

प्रकाशित: २१ असोज २०८० १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =