नेकपा एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन सुरु, अध्यक्षका आकांक्षी तीन जना

हिमाल प्रेस २१ असोज २०८० १७:०१
14
SHARES
नेकपा एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन सुरु, अध्यक्षका आकांक्षी तीन जना

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन्।

ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उद्‍घाटन कार्यक्रममा सहभागी थिए।

प्रदेश अधिवेशनको उद्घाटनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाए। इजरायलमा भइरहेको हमलामा परेर घाइते भएकाहरूका विषयमा पनि सरकारले चासो नदिएको पोखरेलले बताए।

‘नेकपा एमाले पहिलो पार्टीमात्रै भएर हुँदैन। हामी पहिलो पार्टी हुँदाहुँदै पनि हामीले केन्द्र र प्रदेशमा हामीले सरकार बनाउन सकेका छैनौँ। त्यसको अन्त्यको लागि कसैको सहारा बिना एक्लै बहुमत प्राप्त गर्ने गरी काम गर्न जरुरी छ,’ पोखरेलले भने।

नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चील प्रवृत्ति अपनाउन निर्देशन दिए। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले माथिल्लो तहबाट नियाल्ने गरी चील प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिए।

त्यस्तै नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताएका छन्। राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

अधिवेशनमा ६ सय ७५ प्रतिनिधि सहभागी छन्। बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि छन्।

बझाङबाट १३ महिला, २६ पुरुष र ९ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र ७ दलित गरी ४१, डडेल्धुराबाट ५ महिला, १२ पुरुष र १ दलित गरी १८ जना प्रतिनिधि रहेका छन्।

जनसंगठनबाट २५ महिला, ४३ पुरुष र ७ दलित गरी ७५ जना प्रतिनिधि रहने छन्। त्यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र ९ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र ६ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र ८ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन्।

९ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन्। पार्टीको बुद्धिजीवी विशेष इलाका कमिटीबाट १ महिला र ४ पुरुष गरी ५ जना प्रतिनिधि र मजदुर विशेष इलाका कमिटीबाट १ महिला, ४ पुरुष गरी ५ जना प्रतिनिधि छन्।

अधिवेशनबाट १ सय ५५ सदस्यीय कार्यसमिति चयन हुनेछ। जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक/एक तथा सहसचिव दुई जना हुनेछन्।

अध्यक्षका लागि तीन आकांक्षी

सुदूरपश्चिममा एमालेको नेतृत्वका लागि ३ जना आकांक्षी छन्। प्रदेशका उपाध्यक्ष रहेका कमल तिमिल्सेना, एमाले नेता कृष्णप्रसाद जैसी र पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्वअध्यक्ष वचनबहादुर सिंह नेतृत्वका लागि आकांक्षी छन्।

प्रकाशित: २१ असोज २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =