धनगढीमा ओलीमाथि प्रश्न : ‘भीम रावल खोई?’

हिमाल प्रेस २१ असोज २०८० १८:२६
8
SHARES
धनगढीमा ओलीमाथि प्रश्न : ‘भीम रावल खोई?’

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नागरिकप्रति उत्तरदायी नभएको बताएका छन्।

पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटनमा बोल्दै ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणमा केन्द्रित भएको बताएका हुन्।

‘प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नुपर्छ। सुदूरपश्चिममा एमालेले चेतना ल्याउनुपर्छ। त्यो जिम्मेवारी अब आउने कमिटीलाई हुनेछ,’ उनले भने, ‘ यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नुपर्छ।’

चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन भन्दै ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरे। ‘अहिले देशमा सरकार छ कि छैन? के दुई धाम गरेरमात्रै हुन्छ? जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन,’ ओलीले भने, ‘मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन,राम्रो कर्म गर्नसक्नुपर्छ।’

ओलीले ३९ किलो सुन कहाँ गयो भनेर सरकारलाई प्रश्न पनि गरे। सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भन्दै उनले ‘एमालेको सरकारको पालामा कहिले यति, कहिले ओम्नी भन्ने, अहिले १०० केजी सुनमा ६१ केजी कसरी भयो,’ प्रश्न गरे।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरूले ‘भीम रावल खोई?’ भन्दै प्रश्न गरेका थिए। ओलीले भने चुप लाग्नुस् साथीहरू भन्दै थप नबोली अर्कै प्रसंगलाई अगाडि बढाए। ओलीको सम्बोधनसँगै एमाले अधिवेशनको उद्धघाटन सत्र सकिएको छ।

प्रकाशित: २१ असोज २०८० १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =