एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन : अध्यक्षमा ४ जनाको उम्मेदवारी

पदमराज भट्ट २३ असोज २०८० ११:४५
2
SHARE
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन : अध्यक्षमा ४ जनाको उम्मेदवारी

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनमा रस्साकम्सी देखिएको छ। एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रारम्भिक प्रयास विफल भएपछि मंगलबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जना मैदानमा छन्। प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू तीनै जना अछामका हुन्।

कञ्चनपुरका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार अपराह्न ५ बजेदेखि मतदानको सुरु हुने तालिका निर्धारण गरिएको छ। ‘अहिले मनोनयन हुँदैछ, त्यसपछि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिनेछ। त्यो हुन सकेन भने निर्वाचनको प्रक्रिया सुरु हुनेछ’, नेकपा एमाले सुदूरपश्चिम प्रदेशका निवर्तमान सचिव धर्मराज पाठकले भने।

उनले सकेसम्म सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिने बताए। महासचिव शंकर पोखरेलले अध्यक्ष पदका आकांक्षी उम्मेदवार र सुदूरपश्चिम प्रदेशबाट नेतृत्व गर्ने अगुवा नेताकार्यकर्ताहरूलाई सहमतिको प्रयास गरेका थिए।

तर अध्यक्ष पदका उम्मेदवार कमल तिमिल्सिना र कृष्णप्रसाद जैसीबीच समझदारी नभएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो। उद्घाटनलगत्तै फर्किएका अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई सहमति गराउने जिम्मेवारी दिएका थिए। पोखरेल पनि  सोमबार फर्किसकेका छन्। अधिवेशनले पाँच जना पदाधिकारीसहित १५५ जनाको प्रदेश कमिटी चयन गर्नेछ।

निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सचिव लेखराज भट्ट समर्थित प्रतिनिधि एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित छन्। तिमिल्सिनालाई भण्डारी र भट्टको साथ रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरू बताउँछन्।

केन्द्रीय पदाधिकारीहरूको कसको कसलाई समर्थन छ भन्न स्पष्ट संकेत भने प्रस्ट भइसकेको छैन।

एमाले कैलाली पार्टी जिल्ला कमिटी सदस्य आनन्द भट्टका अनुसार राजनीतिक र आर्थिक दस्ताबेज तथा कमिटीको खाका कस्तो बनाउने भन्ने विषय सोमबार नै पारित भएको छ।

प्रकाशित: २३ असोज २०८० ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =