‘बौद्ध संस्कृति प्रवर्धनका लागि सिल्क रोडको विकास अपरिहार्य’

हिमाल प्रेस २० असोज २०८० १५:३४
20
SHARES
‘बौद्ध संस्कृति प्रवर्धनका लागि सिल्क रोडको विकास अपरिहार्य’

लुम्बिनी- बौद्धदर्शन र संस्कृतिका प्रवर्धन गर्ने उद्देश्यले बुद्धजन्मस्थल लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एन्ड रोड इनिसियटिभ (बीआरआई) को संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो।

बौद्ध संस्कृति सम्मेलन तथा बीआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै सरोकारवालाहरूले बेल्ड एन्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए। यसका लागि सिल्क रोडको विकास अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

चिनियाँ बौद्ध भिक्षुयात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको चर्चा गरिएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले बौद्ध पुरातत्त्व स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरूको ऐतिहासिक भूमिका रहेको बताइन्। उनले त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्न सहयोग पुगेको स्पष्ट पारिन्।

बीआरआईले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै राज्यमन्त्री ठकुरीले यसमा सरकार सकारात्मक रहेको बताइन्। ‘प्रधानमन्त्रीज्यूको भर्खरको चीन भ्रमणमा पनि बीआरआई कार्यान्वयनमा जोड दिइएको छ’, राज्यमन्त्री श्रीपालीले भनिन्, ‘व्यापार, देशहरूबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्त्वपूर्ण हुनेछ।’

तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवर्धनमा टेवा पुग्ने उनको भनाइ छ। बीआरआईले १० औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना गरिएको छ।

चीनको यो महत्त्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो। क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना बीआरआईको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्क रोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बीआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले सिल्क रोडको विकासका लागि असल छिमेकी देशका हिसाबले नेपाल सकरात्मक रहेको बताए। यस्तै लामाले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीहरूबीच प्रचारप्रसार गर्नुपर्ने खाँचो औँल्याए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको व्यावहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए। लुम्बिनीस्थित चिनियाँ मोनास्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवर्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए।

भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए। यी क्षेत्रका पहिचानमा चिनियाँ यात्रीको भूमिकालाई बिर्सन नहुने उनको भनाइ छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्ने बताए।

भिक्षु महासंघका निग्रोध महाथेरले कैयौँ बौद्ध दार्शनिकहरूले सिल्क रोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए। उनले यो क्षेत्र निकै महत्त्वपूर्ण रहेकाले बीआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताए। आईसीसीआर चियर प्रोफेसर विमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसँग आबद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरूले बौद्ध धर्मको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत भएको थियो। तिनमा विज्ञहरूले टिप्पणी गरेका थिए।

प्रकाशित: २० असोज २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =