लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा महरा

विनोद परियार २० चैत २०८० १८:३७
32
SHARES
लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा महरा

लुम्बिनी- नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारको नेतृत्व फेरिने भएको छ। लुम्बिनी प्रदेशमा केन्द्रीय सहमतिअनुसार नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो।

केन्द्रमा सत्ता गठबन्धनका चार दलबीच प्रदेशहरूको बाँडफाटमा लुम्बिनी प्रदेश माओवादी केन्द्रको भागमा परेको हो। माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन्। नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि छलफल सुरु गरेको नेकपा माओवादी केन्द्र लुम्बिनी अध्यक्ष सुदर्शन बरालले बताए। ‘केन्द्रीय सहमतिअनुसार माओवादीको नेतृत्वमा सरकार बनाउन छलफल सुरु भइसकेको छ, भोलि (बुधबार) सम्ममा हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाउने तयारी छ,’ उनले भने।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको हो।

सोही सहमति अनुसार प्रदेशमा छलफल अगाडि बढेको छ। लुम्बिनीमा संख्याको हिसाबले नेकपा एमाले प्रमुख दल भएको भन्दै नेताहरूले असन्तुष्टि पोखेका छन्। तर केन्द्रीय सहमतिअनुसारनै अगाडि बढ्ने नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए। ‘कसको भागमा पर्‍यो भन्ने विषय गौण हो, सहमतिअनुसार नयाँ गठबन्धनको सरकार बन्छ,’ उनले भने।

चौधरीले विश्वासको मत लिँदै

यता लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारी गरेका छन्। उनले चैत २२ गते बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए। यद्यपि नयाँ सत्ता समीकरणका दलहरूले बुधबार नै बहुत पुर्‍याएर हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

गत वैशाख १४ मा मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले गत वैशाख १९ मा विश्वासको मत पाएका थिए। चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो।

वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। बहुमतका लागि ४४ सांसद चाहिन्छ। कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमतसँग ३, राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन्।

यसै गरी एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन्।

सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी हुने देखिन्छ। जसका लागि नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्ये कुनै एक राजनीतिक दलसँग सहकार्य गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

प्रकाशित: २० चैत २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =