बझाङमा लगतार भूकम्प, ४ दिनमा १५ पटक मापन

हिमाल प्रेस २० असोज २०८० १५:१०
10
SHARES
बझाङमा लगतार भूकम्प, ४ दिनमा १५ पटक मापन फाइल तस्बिर

काठमाडौँ- बझाङ केन्द्रविन्दु भएर शनिबार दिउँसो ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पकै पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार पछिल्लो ४ दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन्।

वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ। ‘सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन। त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ। दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो,’ उनले भने, ‘मंगलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन्। अझै केही दिन यस्ता पराकम्प आउन सक्छन्।’

सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ। सानासाना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको संकट टर्ने कोइरालाको भनाइ छ।

भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस गरिएको थियो। ५.३ म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस गरिएको थियो।

असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्प गएको थियो। बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो। रासस

प्रकाशित: २० असोज २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =