साँझ ८ बजेसम्मलाई नेपालगन्जमा निषेध आदेश हटाइयो

हिमाल प्रेस १८ असोज २०८० १२:४५
साँझ ८ बजेसम्मलाई नेपालगन्जमा निषेध आदेश हटाइयो बुधबार लगाइएको निषेध आदेशका कारण नेपाल प्रवेश नपाएर नेपालगञ्जको जमुनाहा नाकामा अलपत्र यात्रु।

नेपालगन्ज- बाँकेको नेपालगन्ज क्षेत्रमा आज साँझ ८ बजेसम्मलाई निषेध आदेश हटाइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेध आदेश हटाएको जानकारी दिए।

आज राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेध आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टाँस्न वा लेख्न नपाइने र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाँउमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गरिएको छ।

शान्ति कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न, नगराउन अपिलसमेत गरेको छ।

बुधबार जिल्ला प्रसासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय बैठकले निषेध आदेश खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिस गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो।

प्रकाशित: १८ असोज २०८० १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =