भूकम्प अपडेट : बाजुरामा २ जना घाइते, ९ घर पूर्ण रूपमा क्षति

हिमाल प्रेस १७ असोज २०८० १५:२८
6
SHARES
भूकम्प अपडेट : बाजुरामा २ जना घाइते, ९ घर पूर्ण रूपमा क्षति मंगलबार गएको शक्तशाली भूकम्पले बझाङमा घाइते विद्यार्थी तथा भत्किएका भाैतिक संरचना

बाजुरा- मंगलबार बझाङको तलकोटमा ५.३ म्याग्नेच्युड र चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा २ जना घाइते भएका छन्। साथै ९ घर पूर्ण रूपमा क्षति भएका छन्।

घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुंगा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्। भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ६ घर र बूढीगंगा नगरपालिकामा ३ घर पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताए।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई भूकम्पबाट क्षतिको विवरण संकलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारीअनुसार खप्तड छेडेदहमा ६ र बूढीगंगा नगरपालिकामा ३ घर पूर्ण रूपमा क्षति भएको बताए।

उनका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रूपमा क्षति भएका छन्। भूकम्पबाट भएको थप क्षतिको विवरण संकलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा जाने भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

भूकम्पबाट जिल्लाका बूढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन्। भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरी भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगंगा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन्। रासस

बझाङमा रोकिएन भूकम्प

प्रकाशित: १७ असोज २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =