घुम्ने ठाउँ

पर्यटन प्रचारमा चुकेको कोशी

विवेक विवश रेग्मी १४ असोज २०८० १३:३८
98
SHARES
पर्यटन प्रचारमा चुकेको कोशी मुन्धुम ट्रेकिङ।

इटहरी- कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको होचो कचनकवलसम्म पर्छन्। यीबाहेक अन्य दर्जनौँ आकर्षक र पुग्नैपर्ने गन्तव्य पनि प्रदेशमा छन्। कोशी प्रदेश सरकार र पर्यटनकर्मीले यहाँ भएका सम्भावनाको प्रचार गर्न नसक्दा लोकप्रिय पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन्। पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जनमा प्रदेश सरकारले सिन्कोसमेत भाँच्न सकेको छैन।

नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल छन्। कोशी प्रदेमा रहेका ८ हजार मिटरमाथिका पाँच हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौँ मकालु र छैटौँ अग्लो चोओ यु छन्। प्राकृतिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेशले पर्यटनबाट पर्याप्त आम्दानी गर्न सक्छ।

प्रदेश सरकार परिवर्तन र आन्तरिक द्वन्द्वका कारण पछिल्लो समय पर्यटन क्षेत्रको अवस्था नाजुक बनेको सरोकारवाला बताउँछन्। साथै स्थानीय तहदेखि नै पूर्वाधार निर्माणमा पर्यटनको महत्त्वलाई प्राथमिकता दिइएको पाइँदैन।

धरानका पर्यटन व्यवसायी वासुदेव बरालको बुझाइमा पर्यटन सम्पदाको उचित प्रचार नहुँदा पर्यटक आकर्षित हुन सकेका छैनन्। उनी भन्छन्, ‘प्रदेश सरकारले यस क्षेत्रमा कामै गर्न सकेको छैन। सोही कारण छिमेकी देशका पर्यटक कोशी प्रदेशमा घुम्न आएका छैनन्।’

प्रदेश सरकार र सम्बन्धित मन्त्रालयले पयर्टन नै नबुझेको उनको तर्क छ। ‘औपचारिक कार्यक्रमलाई पर्यटन भन्ने बुझाइ छ। बजेट सक्दैमा पर्यटनको विकास हुन सक्दैन,’ हिमाल प्रेससँगको कुराकानीमा बराल भन्छन्, ‘पर्यटन भनेको व्यवसायीको बिजनेस मात्रै होइन, सरकारको बिजनेस पनि हो। हामी पर्यटन भएसम्म प्रचार गर्नै सकेका छैनौँ।’

भारतको जोगबनीदेखि सिलगढीसम्मका मानिसको दार्जिलिङ र सिक्किम घुम्न ताँती लाग्ने गरेको छ। तर त्यहाँका भन्दा उम्दा गन्तव्य प्रचार नगरेकै कारण ओझेलमा परेका छन्।

पूर्वको पर्यटकीय गन्तव्य इलामको श्रीअन्तुमा होटलहरू खाली हुनुले पनि पर्यटनको अवस्था खस्किएको स्पष्ट हुने उनले सुनाए। बाह्य पर्यटकसम्म सरकार पुग्न नसक्नु, आन्तरिक पर्यटकलाई पर्यटकमैत्री व्यवहार नगर्नु र पर्यटक लक्षित काम गर्न नसक्नु जस्ता समस्या छन्।

इलामको कन्याम। तस्बिर : विवेक।

‘प्रदेश सरकार न कोशी कटेर उता प्रचार गर्न गएको छ न भारतको सिलगढी र जोगबनी पुगेको छ। त्यहाँ पुग्न नसक्दा र कोशी प्रदेशमा भएका प्रसस्त सम्भावनाको प्रचार गर्न नसक्दा हामीले सोचेजस्तो पर्यटनमा विकास गर्न सकेका छैनौँ,’ उनले भने, ‘काठमाडौँका अधिकांश मान्छे सीधै पोखरा हुँदै जोमसोम जाने चलन छ। पोखरा र जोमसोमका मान्छे दार्जीलिङ र सिक्किम जाँदा कोशी प्रदेशमा आउने अवस्था छैन। यो सबै प्रचारको कमी र पर्यटकमैत्री व्यवहार नभएका कारणले हो।’

देशमा आर्थिक मन्दी भएका कारण पर्यटन क्षेत्र दर्बिलो बन्न नसकेको उनले सुनाए। एकदुईवटा होटल चल्दैमा पर्यटनको विकास भएको स्वीकार गर्न नसकिने उनी बताउँछन्। सरकारले दुई लाख र पाँच लाख बजेट हालिदिएँ भनेर कार्यकर्ताको चित्त बुझाउने गरी पैसा छर्ने काम मात्रै गरेको छ।

‘सरकारी बजेटमा केही होटल चलिरहेका होलान्। तर आमपर्यटनका पूर्वाधार समस्यामा छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा कसैले पनि नियमित रूपमा होटलको भाडा नतिरेको अवस्था छ। बैँकको ब्याज नतिरेको अवस्था छ।’

उनले कोशी प्रदेशमा वार्षिक रूपमा कुनै एक ठाउँको खास प्रचार गरेमा यहाँको पर्यटन प्रवर्धन हुने सुझाए। ‘हामीले मकालु, कञ्चनजंघा वा कुनै धार्मिक स्थल वा वन्यजन्तुको मात्रै प्रवर्धन गर्ने नीति ल्याउनुपर्छ। कुनै निश्चित क्षेत्रलक्षित कार्यक्रम गर्न सकेमा प्रसस्तै सम्भावना छन्,’ उनले भने, ‘हामी त्यहाँ पनि चुकिरहेका छौँ। भारतीय पर्यटकलाई कोशी प्रदेशका हरेक ठाउँ घुम्न सक्ने गरी प्रचार गर्न सक्नुपर्छ। नेपाल भनेको विराटनगर मात्रै भन्ने बुझाइ चिर्न आवश्यक छ।’

खोटाङको हलेसी।

उद्योग वाणिज्य संघ कोशी प्रदेश पर्यटन विभागका संयोजक भविष श्रेष्ठले पर्यटन क्षेत्र गाह्रो अवस्थामा रहेको बताए। ‘नयाँ गन्तव्य आउने र नयाँ होटल खुल्ने भइरहेका छन्। तर पर्यटनको क्षेत्र गाह्रो छ। कोशीमा पर्यटनको अवस्था त्यति राम्रो छैन,’ श्रेष्ठले भने, ‘होटल सुनसान छन्। पर्यटनसँग सम्बन्धित गतिविधि सुस्त स्थितिमा छ। ट्राभल एजेन्सीका सक्रिय गतिविधि घटेका छन्।’

सरकार र निजी क्षेत्र मिलेर पर्यटक आकर्षिकत गर्नुपर्ने उनले बताए। तर कोशी प्रदेशको विडम्बना सरकार नै नरहेकोजस्तो अनुभूति भएको उनले सुनाए। ‘हाम्रो अभिभावक सरकार हो। कोशी प्रदेश सरकारले स्थायित्व दिन सकेन,’ उनी भन्छन्, ‘त्यसैले प्रदेश तहमा केही कामै भएको अवस्था छैन। एक त कामै भएका छैनन्।’

स्थानीय सरकारले आफ्नो भन्दा अरुको ठाउँ राम्रो कहिल्यै नभनेको उनले सुनाए। एउटा पालिकाले अर्को पालिका राम्रो छ भन्ने वातावरण नभएका कारण पनि पर्यटक नभित्रिएको उनी बताउँछन्।

‘अभिभावक नै कमजोर छन्। केन्द्रबाट केही नहेर्ने, प्रदेशले वास्तै नगर्ने र स्थानीय निकायले आफूबाहेक अन्य स्वीकार गर्न नसक्ने भएका कारण पर्यटन क्षेत्र थप पछाडि परिरहेको छ,’ पर्यटन व्यवसायी श्रेष्ठ भन्छन्, ‘नयाँ गन्तव्य खोजिरहेको अवस्था पनि छ। भइरहेका ठाउँहरूको प्रचार गर्न सरकारी पक्षबाट पनि कमजोरी भएको छ।’

बैँक र वित्तीय संस्थाहरूले लिएको ब्याज तोकिएभन्दा बढी लिएका कारण पर्यटनको अवस्था तहसनहस भएको उनको आरोप छ।

इलामको कन्याम। तस्बिर : विवेक।

उनका अुनसार तेस्रो मुलुकका पर्यटकहरू हिमाल चढ्ने बाहेक पहाडी र मधेश क्षेत्रमा कम आउने गरेका छन्। ‘हाम्रो क्षेत्रका सबैभन्दा धेरै पर्यटक भारतीय पर्यटक हुन्। तर उनीहरू आउने वातावरण छैन। सरकारी वा अन्य पक्षले र हरेक राजनीतिक दलले आफू राम्रो बन्नका लागि भारतीयलाई गाली गर्नेबाहेक केही छैन,’ उनी भन्छन्, ‘सदनदेखि सडकसम्म भारतलाई गाली गरेर देशभक्ति र स्टन्टबाजी गर्ने चलन छ।’ भारतीय पर्यटकलाई म सुरक्षित छु भन्ने नदेखिएको उनी बताउँछन्।

भारतीय गाडीहरूलाई चेकिङका नाममा ट्राफिकदेखि स्थानीय तहले पनि विभिन्न बहानामा दुःख दिइरहेको उनको अनुभव छ। ‘विराटनगरको बोर्डरदेखि भेडेटार पुग्न ६ घण्टा लाग्नुपर्ने अवस्था छ। विभिन्न नगरपालिकाले दुःख दिइरहेका छन्,’ उनले भने, ‘भारतीय पैसाको मूल्यमा कृत्रिम रूपमा नेपालमा भ्यालुलेस भइरहेको छ। भारतीय पैसा चल्न छाडेको अवस्था छ। पेट्रोल पम्पहरूले नै भारतीय पैसा चलाउन छाडेका छन्।’

विश्वको सर्वोच्च शिखर सगरमाथा । तस्बिर : विकिपिडिया ।

आन्तरिक पर्यटकलाई पनि कोशी प्रदेशमा घुम्ने वातावरण छैन। सुनसरीको बराहक्षेत्रदेखि खोटाङको हलेसीसम्म, ताप्लेजुङको पाथीभरादेखि, इलामको पाथीभरासम्म कोशीका प्रमुख धार्मिक गन्तव्य हुन्। तर ती क्षेत्रमा पुग्नका लागि पर्यटकलाई त्यति सजिलो छैन। धार्मिक पर्यटक बाटोका कारण गन्तव्यमा पुग्न चुनौती थपिइरहेको उनले बताए।

त्यसो त कोशीमा निजी क्षेत्रको पहलमा चार–पाँचवटा पाँचतारे होटल निर्माणाधीन छन्। प्याराग्लाइडिङदेखि र्‍याफ्टिङसम्ममा निजी क्षेत्रले लगानी गरेका छन्। तर पर्यटनलाई ब्रान्डिङ गर्नुपर्ने विषयमा सरकार उदासीन रहेको श्रेष्ठ सुनाउँछन्। सरकार पक्ष, निजी क्षेत्र र सरोकारवालाले समन्वय गरी पर्यटन क्षेत्रमा काम गर्न सक्दा असाध्यै धेरै सम्भावना रहे पनि सरकारी पक्षबाट कामै नभएकाले पर्यटन व्यवसायी निराश बन्दै गएको श्रेष्ठले बताए।

माउन्टेन फ्लाइट गर्न काठमाडौँ पुग्नुपर्ने अवस्था छ। ‘संघीयता कहाँ छ? कोशी प्रदेशमा १४ वटा एयरपोर्ट रहे पनि माउन्टेन फ्लाइट हुन सकेको छनै। सरकारले ऊर्जा दिएमा निजी क्षेत्र काम गर्न तयार छ,’ उनले भने।

यी हुन् कोशी प्रदेशमा घुम्न लायक ठाउँ

ताप्लेजुङ

ताप्लेजुङ भन्नेबित्तिकै धेरैजसोका आँखामा पाथीभरा मन्दिरको चित्र आउँछ। त्यसैले ताप्लेजुङ धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य हो। तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास छ।

त्यसो त विश्वको तेस्रो अग्लो स्थानमा रहेको कञ्चनजंघा हिमाल (८,५८६ मि) पनि धेरैजसो पर्यटकको आकर्षणको केन्द्र बन्छ। कतिपयले पाथीभरा मन्दिरबाट कञ्चनजंघालाई आँखाको लेन्समा कैद गर्छन्। ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, सुकेटार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् भने तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोला पनि यही जिल्लामा पर्छ।

पाँचथर

पाँचथरमा घुम्नका लागि जिल्ला सदरमुकाम फिदिमदेखि ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबारसम्म छन्। काबेली, तिम्बुपोखरी, जोरपोखरी, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, गुरु फाल्गुनन्दलगायत पाँचथरका घुम्न योग्य ठाउँ हुन्।

इलाम

इलाम भन्नेबित्तिकै मानिसको मनमा चिया बगानको झझल्को आउँछ। कतिपयले त इलामलाई प्रकृतिकी रानी पनि भनेर चिन्छन्। एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने र जुनसुकै समयमा पनि चिसो बतास चलिरहनु इलामको विशेषता हो।

इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन्। यहाँको श्री अन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको मनोरम दृश्य हेर्नका लागि पर्यटकको भीड लाग्छ। यहाँ होमस्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।

श्रीअन्तुको अलावा कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुर लगायतका ठाउँ पनि घुम्नका लागि आकर्षक ठाउँ हुन्। त्यसो त दार्जीलिङ जानका लागि पनि यहाँको पशुपतिनगर हुँदै जाने नाका भएका कारण पनि पछिल्लो समय बाह्य पर्यटक पनि बढ्दै गएका छन्।

संखुवासभा

संखुवासभामा यहाँको सभापोखरी र गुफापोखरीले चर्चित छ। मकालु वरुण राष्ट्रिय निकुञ्ज, मिल्के डाँडा पनि संखुवासभाका पर्यटकीय गन्तव्य हुन्।

संसारकै होचो अरुण उपत्यका (४५७ मिटर), विश्वको पाँचौँ र नेपालको चौथो अग्लो मकालु हिमाल (८,४८१ मिटर) लगायतका हिमशृंखलाका रूपमा प्रसिद्व छ। लालीगुराँससहित धेरै प्रजातिका गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पनि पर्छ। बालेश्वर ऐतिहासिक गुफासहित संखुवासभामा घुम्न लायक प्रसस्तै ठाउँ छन्।

तेह्रथुम

तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ। तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका रूपमा प्रसिद्व रहेको तेह्रथुममा २८ प्रजातिका गुराँस पाइन्छन्। नेपालकै अग्लो ह्यात्रुङ झरना (३६५ मि.) उचाइमा छ।

यस्तै ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगानले पनि यस जिल्लालाई पर्यटक आउने गन्तव्य बनाएको छ। मेन्छ्यायेम डाँडा र सिमिनाक्सी पाथीभरा तेह्रथुमका धार्मिक पर्यटकीय गन्तव्य हुन्।

धनकुटा

धेरैजसो मानिसले धनकुटा भन्नेबित्तिकै भेडेटार सम्झन्छन्। २०६७ सालमा अमेरिकी टेलिभिजन च्यानल (सीएनएन) ले विश्वका उत्कृष्ट घुम्न लायक १२ स्थानमा नाम्जेलाई पनि समेटेपछि यहाँ पर्यटकीय गन्तव्य बनेको छ।

होमस्टे र अर्गानिक खाना खान पाइने भएकाले पनि नाम्जेमा पर्यटकहरूको चहलपहल बढी हुन्छ। सुनसरीसँग सीमा जोडिएको धनकुटास्थित भेडेटार १४ सय ३० मिटर उचाइमा छ। धनकुटा एभोकाडो फलका लागि पनि चर्चित जिल्ला हो। जिल्लाका पाख्रीबास, हिले, धनकुटा बजार, डाँडाबजार, छिन्ताङ, विश्रान्ति मन्दिर, राजारानी, नमस्ने झरना, हलदे पटकेडाँडा पर्यटक ट्रेल आदि पर्यटकीय गन्तव्य हुन्।

भोजपुर

भोजपुर जिल्ला खुकुरीका लागि प्रसिद्व छ। अहिले पनि कतिपय अन्य ठाउँहरूमा भोजपुरे खुकुरी भनेर खुकुरी बेच्ने गरेको पाइन्छ। भोजपुर प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक रूपमा परिचित जिल्ला हो। ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, साल्पापोखरी, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नागछाँगा, बैकुण्ठे, हतुवागढी आदि भोजपुरका पर्यटकीय गन्तव्य हुन्। पछिल्लो समय भोजपुरमा ट्याम्केडाँडा (मुन्धुम ट्रेल) धेरैको रोजाइको विषय बनेको छ।

खोटाङ

खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन्। भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवताको अवस्थितिले हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छ। खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोशी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने धेरैजसोको विश्वास छ।
हलेसीका अलावा बराह पोखरी, हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढे डाँडा, रुपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पर्यटकीय गन्तव्य हुन्।

उदयपुर

उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारण प्रख्यात छ। जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्ष, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरी बेलका लगायत जिल्लाका पर्यटकीय गन्तव्य हुन्।

सुनसरी

सुनसरी कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र भएकाले चर्चित छ। यहाँ धार्मिक पर्यटकका लागि बराहक्षेत्र, धरानको बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिर, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधामका कारण पनि प्रख्यात छ।

सप्तकोशी नदी पनि यही जिल्ला हुँदै बग्ने भएका कारण पनि धेरैजसोको पर्यटकीय गन्तव्य सुनसरी हुनसक्छ। सप्तकोशीमा जेटबोट चढेर त्रिवेणीदेखि भोजपुरसम्म पुग्न सकिन्छ। कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको लागि उचित बासस्थान हो। यस्तै, अर्ना, जंगली हात्ती लगायतका अन्य विभिन्न वन्यजन्तु नियाल्न पाइने भएकाले सुनसरीको कोशीटप्पु आकर्षक गन्तव्य हो।

सुनसरीमा विभिन्न मूर्तिहरूले भरिपूर्ण इटहरीको तालतलैया पनि अर्को आकर्षक गन्तव्य हो। यस्तै, विभिन्न ताल, पोखरी, बर्जु तथा धरानको चिण्डेडाँडा पनि यहाँको घुम्न लायक अर्को गन्तव्य हो।

मोरङ

कोशी प्रदेशको एउटै मात्र महानगर रहेको मोरङमा विराटनगर महानगरपालिका छ। औद्योगिक सहरका रूपमा परिचित रहेको विराटनगरमा विभिन्न ठाउँमा अवलोकन गर्न सकिन्छ।

मोरङको कर्णाली भनेर चिनिँदै आएको जेफाले पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो। जेफाले डाँडाबाट विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ। केराबारी, मिक्लाजुङ डाँडा, बेलबारीको बेतना सिमसार, बेतिनी सिमसार, सुन्दरहरैँचाका विभिन्न पार्क, धनपालगढी पर्यटकीय क्षेत्र यहाँका लागि अर्को आकर्षणका गन्तव्य हुन्।

झापा
घना बस्ती भएको झापा जिल्ला ‘धान उत्पादनको राजधानी’ मानिन्छ। झापामा नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल छ। बिर्तामोड पछिल्लो समय तीव्र सहरीकरण हुँदै गएकाले कोशी कै मुख्य व्यापारिक केन्द्रसमेत बन्दै गएको छ।

झापामा अर्जुनधारा, सतासीधाम कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढी, कृष्ण थुम्की, जामुनखाडी सिमसार क्षेत्र, शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र आदि घुम्न लायक ठाउँ हुन्।

ओखलढुंगा

ओखलढुंगा जिल्ला युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो हो। साहित्यका लागि उर्वर भूमि ओखलढुंगा विविधताले भरिपूर्ण छ। मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए। उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको यहाँका पुर्खा सुनाउँछन्।

उक्त ओखल रहेको ढुंगा परिसरमा सिद्धिचरण श्रेष्ठको पार्कसमेत बनाइएको छ। ओखलढुंगामा रुम्जाटारले पनि परिचित छ। ओखलढुंगामा थोलेदम्बा डाँडा पनि पर्यटनको दृष्टिले अब्बल मानिन्छ।

सोलुखुम्बु

विश्वकै सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बुमा अवस्थित छ। हिमाली भेगको यात्रा गर्न चाहनेहरूको पहिलो गन्तव्य नै सोलुखुम्बु हुने गरेको छ। ८८४८.८६ मिटर उचाइमा रहेको सगरमाथासहित अन्य विभिन्न हिमाल यो जिल्लामा छन्। हिमाल चढ्ने मात्रै होइन, हिमालको बेसक्याम पुग्नेहरूका लागि पनि सोलुखुम्बु आकर्षक गन्तव्य मानिन्छ।

लुक्ला विमानस्थल पनि यहाँको चर्चित ठाउँ हो। नाम्चे बजारका कारण पनि सोलुखुम्बु पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। त्यसको अलावा दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, पत्ताले डाँडा यहाँका चर्चित ठाउँ हुन्। विदेशी पर्यटकहरूका लागि पनि घुम्ने पहिलो गन्तव्य सोलुखुम्बु हो।

कोशी प्रदेशमा यी माथि उल्लेख गरिएका र अन्य दर्जनौँ पर्यटकीय क्षेत्र भएपनि यसको प्रचारको अभाव र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण बनाउन नसकिएको स्वयम् पर्यटन व्यवसायीहरू स्वीकार गर्छन्।

पर्यटनको अब्बल क्षेत्र मानिने कोशीमा प्रचार गरी पर्यटक भित्र्याउनका निम्ति प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायी तथा सम्बन्धित पक्षले दर्बिलोगरी समन्वयकारी भूमिकासहित काम गर्न आवश्यक देखिन्छ।

पर्यटन बिगार्ने पूर्वाधार

प्रकाशित: १४ असोज २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =