इटहरी – कोशी प्रदेशमा प्रहरीले ‘स्वीप अपरेसन’ गरी २५४ जनालाई नियन्त्रणमा लिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी विनोद घिमिरेका अनुसार कोशी प्रदेशस्थित तराईका जिल्लाहरू सुनसरी, मोरङ र झापामा प्रहरीले एकैसाथ ‘स्वीप अपरेसन’ सञ्चालन गरेको हो। जसमा २५४ जनालाई नियन्त्रणमा लिइएको छ।
युवावर्गमा बढ्दो दुर्व्यसन, साना आपराधिक समूहको विस्तार र समुदायस्तरमै फैलिएको असुरक्षालाई न्यूनीकरण गर्न उक्त अभियान चलाइएको घिमिरेले जानकारी दिए।
जसमध्ये सबैभन्दा धेरै सुनसरीमा मात्रै १२० जनालाई नियन्त्रणमा लिइएको छ। मोरङमा ७२ र झापामा ६२ जनालाई नियन्त्रणमा लिइएको उनले बताए। पक्राउ परेकामध्ये ठूलो हिस्सा लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सुनसरीमा मात्रै नियन्त्रणमा लिइएकामध्ये ११५ जना पुरुष र ५ जना महिला रहेका छन्। तीमध्ये १५ जनालाई सुधार केन्द्र पठाइएको छ। जसमा १० जना पुरुष र ५ जना महिला रहेका छन्।
यस्तै, ७६ जनालाई सम्झाई–बुझाई आफन्तको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार लागूऔषध सम्बन्धी मुद्दामा दुई जना पुरुषविरुद्ध मुद्दा दर्ता गरिएको छ भने सोही मुद्दामा संलग्न एक जना फरार प्रतिवादीको खोजी भइरहेको छ। साथै, २६ जनामाथि थप अनुसन्धान जारी रहेको छ।
अपरेसनका क्रममा २६.५६ ग्राम ब्राउनसुगर र ४४ पिस ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। झापा र मोरङजस्ता भारतसँग प्रत्यक्ष सीमा जोडिएका जिल्लामा लागूऔषध ओसारपसारको जोखिम उच्च रहँदै आएको छ।
पछिल्लो समय युवाहरू साना समूहमा आबद्ध भई लागूऔषध प्रयोग र साना आपराधिक गतिविधिमा संलग्न हुने प्रवृत्ति बढ्दो देखिएको सुरक्षा अधिकारीहरूको भनाइ छ।




