आवरण

पर्यटन बिगार्ने पूर्वाधार

मस्त केसी १४ असोज २०८० १०:२७
22
SHARES
पर्यटन बिगार्ने पूर्वाधार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको प्रवेशद्वार अघि प्रदेश र स्थानीय सरकारले बनाएको कंक्रिटको संरचना। तस्बिर : रासस

पूर्वाधार विकासका नाममा कंक्रिट थुपार्दा पर्यापर्यटनमा त असर गरेको छ नै स्थानीय र मुलुकले आम्दानीसमेत गुमाइरहेको छ।

नेपाल आउने पर्यटकमध्ये अधिकांशको रोजाइमा पर्ने गन्तव्य हो अन्नपूर्ण पदमार्ग। यो विश्व चर्चित पदयात्रा लमजुङको बेसीसहरबाट मनाङ हुँदै मुस्ताङ र म्याग्दी भएर कास्कीसम्मको २५ दिन लामो थियो। तर पदमार्ग मासेर मोटरबाटो निर्माणपछि पदयात्रा सात दिनमा झरेको छ।

जसको असर चौतर्फी देखिन थालेको छ। हिमालको फेदसम्मै अनावश्यक रूपमा खनिएका सडकले एकातिर प्राकृतिक रूपमा विनाश निम्त्याएको छ। अर्कोतर्फ नेपाली पर्यटनको महत्त्वपूर्ण आधार मानिने पदमार्गलाई छिन्नभिन्न बनाइदिएपछि पर्यटकको संख्या घट्दा स्थानीयसँगै समग्र मुलुकको आम्दानी घटेको छ। अनि पर्यटकको बसाइ छोट्याएको छ भने अर्कोतिर सडकमार्ग र पदमार्ग एउटै हुँदा पदयात्रीले सास्ती भोग्नुपरेको छ।

मनाङका जनप्रतिनिधि र स्थानीयले सडकमार्गसँगै पदमार्गको वैकल्पिक योजना निर्माण गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङ सडक र पदमार्ग एउटै हुँदा पर्यटकले सास्ती खेप्नुपरेकाले वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सडक र पदमार्गको ट्रयाक एउटै हुँदा पदयात्रीले समस्या भोग्नुपरेको छ, यस्ता समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष आवाज उठाएका हौँ।’ वैकल्पिक पदमार्ग निर्माण गर्नसके पदयात्रीले धुलो र सवारीसाधनको सास्तीबाट खेप्नुपर्ने समस्या हट्ने उनको भनाइ छ।

मनाङमा वार्षिक ३५ देखि ४० हजार बाह्य पर्यटक भित्रिने गरेका छन्। यसमध्ये धेरैले पदयात्राको प्रयोग गर्छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी सडक पुगेसँगै अन्नपूर्ण फेरोमा पुग्ने पर्यटक घटेको बताउँछन्। ‘कोरोना महामारीपछि घटेको पर्यटकको संख्या पुरानै अवस्थामा आउन थाले पनि अन्नपूर्ण पदमार्गमा आउनेको संख्या घटेको छ,’ उनी भन्छन्, ‘यसको असर उक्त पदमार्गमा खुलेका होटल-होमस्टेलगायत अन्य व्यवसायमा परेको छ।’ उनले जथाभाबी बनाइएका सडकको असर वातावरणमा समेत परेको बताए।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्म पनि पदमार्ग मासेर सडक निर्माण भएको छ। जथाभाबी गरिएको सडक निर्माणले ३२ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्रको आकर्षण घट्दै गएको छ ।

अन्नपूर्ण पदमार्गमा बनेको सडकमा हिँडिरहेका पर्यटक। तस्बिर : रासस

यो क्षेत्र कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आरोहण गर्न जानेहरूको पदमार्गसमेत हो। सडकमार्ग निर्माणका कारण त्यहाँ पुगेका पर्यटक बसाइँ अवधि छोट्याउन थाल्दा आर्थिक गतिविधिमा समेत असर परेको छ। यो पदमार्गमा खुलेका दर्जनौँ साना ग्रामीण बजारमा अहिले न्यून कारोबार छ। चल्तीमा रहेको पदमार्ग मासिएको र नयाँ पदमार्गको पहिचान नगरिँदा यस क्षेत्रको पर्यापर्यटन तथा व्यवसाय उत्तिकै प्रभावित भएको छ।

पदमार्ग मासेर सडक बनाउने चलन काठमाडौँ उपत्यका वरपर झन् बढी छ। कीर्तिपुरस्थित पुष्पलाल पार्कदेखि चम्पादेवी हुँदै चन्द्रागिरि काठमाडौँ नजिकको चर्चित हाइकिङ गन्तव्य हो। तर अहिले यो रुट सुनसान छ। कारण गत वर्ष कीर्तिपुर नगरपालिकाले पैदल बाटो मासेर खनेको सडक। दक्षिणकाली नगरपालिकाको फर्पिङदेखि चम्पादेवीसम्म पुग्ने पैदलमार्गमा पनि सडक बनाइएको छ। सडकले पदमार्ग मात्र मासिएको छैन, पहिरो गएर राष्ट्रिय वनका रूख मासिँदा पर्यावरणमा उत्तिकै प्रभाव पारेको छ।

काठमाडौँको मातातीर्थदेखि चन्द्रागिरि देउरालीसम्म पुग्ने चलनचल्तीको पदमार्ग थियो। उक्त पदमार्ग मासेर अहिले मकवानपुरको चित्लाङ जोड्ने सडक बनाइएको छ। मातातीर्थभन्दा झन्डै तीन किलोमिटर पश्चिमबाट चित्लाङ जाने अर्को समानान्तर सडक पनि छ।

ललितपुरका फूलचोकी, भट्टेडाँडालगायत ठाउँ पुग्ने पैदलमार्गमा पनि सडक बनाइएको छ।

सडकमार्गलाई विकासको पहिलो खुड्किलाका रूपमा लिने गरिन्छ। गाउँगाउँमा सडकसँगै बिजुली अनि अन्य विकासका पूर्वाधार पुग्छन्। त्यसले गर्दा सडक निर्माण पहिलो आवश्यकता हो। तर सडक बनाउँदा वातावरणीय मूल्यांकन, त्यसको उपादेयता, औचित्य पनि उत्तिकै पुष्टि गर्नुपर्ने हुन्छ। जुन नेपालको सन्दर्भमा एकदमै कम स्थानमा पूरा भएको छ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला सडक बनाउँदा पदमार्ग नबिथोलिने र पर्यावरणमा कम क्षति हुने गरी बनाउन सकिनेमा त्यसलाई सबैले बेवास्ता गरेको बताउँछन्। ‘वातावरणीय अध्ययन गरेर, त्यसको आर्थिक तथा अन्य प्रभाव मूल्यांकन गरेर बनाएको भए पर्यटन क्षेत्रलाई कुनै प्रभाव पार्दैनथ्यो,’ उनी भन्छन्, ‘तर हाम्रो देशको अभ्यास ठीक उल्टो भयो। यसले नेपालको पदमार्गबारे पर्यटकहरूले नकारात्मक सन्देश बोकेर जाने र त्यसले आगामी दिनमा झन् असर गर्नेछ।’

कंक्रिटका सिँढी
पदमार्गको प्राकृतिक स्वरूप बिगारेर सडकमार्ग बनाउनेमात्रै होइन पछिल्लो समय पर्यटन विकासका नाममा अनावश्यक पूर्वाधार बनाउने होड पनि उत्तिकै छ। प्रदेश र स्थानीय सरकारले पर्यटक हिँड्ने मार्गमा सिमेन्ट ढलान गरी बनाइएका सिँढीहरू प्रशस्त देखिन्छन्।

सुन्दरीजलदेखि मूलखर्कतिर जाने पदमार्ग, चम्पादेवीबाट भष्मासुर डाँडा चढ्ने उकालो, शिवपुरी, फूलचोकी, जामाचो गुम्बा, घ्याम्पेडाँडा-रानीकोटलगायत उपत्यकाका पदमार्गमा यस्ता सिँढीहरू बेग्रल्ती बनेका छन्। यसकै सिको पछिल्लो समय देशव्यापी रूपमा फैलिएको छ।

यस्ता खुट्किलाले जंगल, खुलाचौर वा पदमार्गको सुन्दरता खोसेको छ। साथै हिँडाइ र प्रकृति दुवैका लागि हानिकारक छन्। सिँढीमा एकनाशको हिँडाइले घुँडा तथा ढाड दुख्ने समस्यासमेत निम्त्याउने जानरकारहरू बताउँछन्। प्राकृतिक मार्गमा बनाइएका कंक्रिटका यस्ता संरचनाले बजेटको दुरुपयोग त भएको छ नै प्रकृति र संरक्षणप्रति सरकारको उदासीनता पनि झल्काएको छ।

प्रकाशित: १४ असोज २०८० १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =