भोजपुरमा अरुण डाँडा महोत्सव सुरु

हिमाल प्रेस २३ मंसिर २०७९ १५:२०
8
SHARES
भोजपुरमा अरुण डाँडा महोत्सव सुरु

भोजपुर– पौवादुङमा गाउँपालिकाको अरुण डाँडा ‘अरुण डाँडा महोत्सव’ सुरु भएको छ। कृषि उत्पादनका साथै धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव सुरु भएको हो।

‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ नारासहित बिहीबारदेखि सुरु भएको महोत्सव ६ दिनसम्म सञ्चालन हुने बताइएको छ।

‘गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको र यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले भने।

महोत्सवमा आगन्तुकहरूका लागि  विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रदर्शनी, विभिन्न संस्कार र संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति गरिएको छ। अरुण डाँडाको विकासका लागि विस्तृत परियोजना तयार गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ।

यहाँको विकासको काम भइरहेकाले थप प्रचार-प्रसारको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। ‘हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ,’ उनले भने,’ ‘डीपीआरअनुसार अरुण डाँडाको बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा काम अघि बढाइएको छ। यो ठाउँलाई हाम्रो गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागिपरेका छौँ।’

महोत्सवले यहाँको कृषि उत्पादनलेसमेत बजार पाउने पौवादुङमा गाउँपालिका ५ सानोदुम्माका ज्ञानेन्द्र राईको भनाइ छ। समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट हिमाल र फाँटहरू अवलोकन गर्न सकिन्छ।

प्रकाशित: २३ मंसिर २०७९ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =