कर्णालीका प्रहरी संरचना कर्णालीमै सारिँदै

हिमाल प्रेस ११ असोज २०८० २१:३०
54
SHARES
कर्णालीका प्रहरी संरचना कर्णालीमै सारिँदै गुर्भाकोट नगरपालिका-१४, गुमीमा स्थानान्तरण गरिएको नेपाल प्रहरीको विशेष सुरक्षा गण । तस्बिरः रमा केसी

सुर्खेत– लुम्बिनी प्रदेशमा रहेका कर्णाली प्रहरीका संरचनाहरू कर्णालीमै स्थानान्तरण हुन थालेका छन्। नेपालगन्जमा रहेको नेपाल प्रहरीको विशेष सुरक्षा गण सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा स्थानान्तरण गरिएको हो।

बिहीबार कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रदेशका अर्थमन्त्री बेदराज सिंह, कानुनमन्त्री कृष्णबहादुर जिसी, ऊर्जामन्त्री उर्मिला विक, प्रदेश प्रहरी प्रमूख भीम ढकालसहितको टोलीले गुर्भाकोटमा सर्दै गरेको नेपाल प्रहरीको विशेष सुरक्षा गणको अनुगमन गर्दै लुम्बिनीमा रहेका नेपाल प्रहरीको कर्णालीमा रहने सबै संरचनाहरू कर्णालीमा सार्न थालिएको बताए।

प्रदेश प्रहरी प्रमुख ढकालले भने, ‘गण स्थापनाका लागि मर्मत सम्भार गरेर ३५ जना प्रहरी हाल बसेका छन्। गणमा ५ सय जना प्रहरीको दरबन्दी छ।’

कर्णाली प्रदेश सरकारले तत्काल मर्मत सम्भारका गरी बस्नका लागि १ करोड ९४ लाख रकम विनियोजन गरेर अस्थायी संरचनाहरू निर्माण गरिएको छ। गण स्थापनाका लागि चार बिघा क्षेत्रफलको जमिन गणका नाममा प्राप्त भइसकेको उनले बताए।

हाल गणमा एसपी रामप्रसाद घर्तीले नेतृत्व सम्हालेका छन्। यहाँ गणमा कार्यरत प्रहरीले शान्ति सुरक्षाका लागि प्रदेशभर थप सुरक्षाका लागि तत्काल पुग्न सहज हुनेछ। छिटो प्रहरी परिचालन होस् भनेर गणबाट प्रहरी रुकुम (पश्चिम) को चौरजहारी ७५ जना र दैलेखको राकम कर्णालीमा ५० जना तैनाथ गरिने कार्ययोजना छ। जसमा हाल चौरजहारीमा प्रहरी पुगिसकेका छन् भने दैलेखमा पठाउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयतापछि पनि कर्णालीमा आउन नसकेका प्रहरीका संरचनाहरू स्थानान्तरण गर्न सुरु गरिएको बताए। संघीयताअघि साविक मध्यपश्चिमको केन्द्र सुर्खेत थियो। तर त्यतिबेला सुर्खेतमा हुनुपर्ने अधिकांश प्रहरीका संरचना जग्गा प्राप्तिको समस्याका कारण नेपालगन्जमा राखिएका थिए।

देश संघीयतामा गएपछि पनि कर्णालीमा हुनुपर्ने कतिपय प्रहरीका संरचनाहरू लुम्बिनीको नेपालगन्जमै थिए। जग्गा र भौतिक संरचनाको अभावमा ती संरचनाहरू कर्णालीमा ल्याउन नसकिएको प्रदेश सरकारले बताउँदै आएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयअन्तर्गतका प्रहरी विशेष सुरक्षा गण, प्रहरी तालिम केन्द्र, दंगा नियन्त्रण प्रहरी गण र केनाई (कुकुर) शाखा लुम्बिनीमै छन्। अब ती सबै संरचनाहरू कर्णालीमा सर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ असोज २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =