विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया

हिमाल प्रेस ११ असोज २०८० १४:१६
विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया तस्बिर: रासस

काठमाडौँ- ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक तयारी सुरु गरेको छ। आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ काम सुरु गरिएको आयोजनाले जनाएको छ।

डोल्पामा रहेको आयोजनाको कूल क्षमता १०६ मेगावाट छ। स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले केही दिन पहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आयोजनाको अवस्थाबारेमा जानकारी गराउँदै ६ महिनाभित्र निर्माणमा लैजाने तयारी गरिएको जानकारी गराएका थिए। उनले आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम भइरहेको र अन्य प्राविधिक तयारीसमेत अन्तिम चरणमा पुगेको ‘ब्रिफिङ’ गरेका थिए।

आयोजनास्थल पुग्नका लागि पहुँचमार्ग निर्माण तथा अन्य तयारीको काम अन्तिम चरणमा छ। आयोजनाबाट वार्षिकरूपमा ६२३.४७ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ। आयोजना अर्धजलाशय प्रकृतिको हो। यसको डिजाइन बहाव १६.७ घनमिटर प्रतिसेकेण्ड छ। यस्तै कुल ग्रस हेड ७८९.६० रहेको छ। यसमा ९३ मिटरको बाँध निर्माण गरिने छ। बाँध समुद्री सतहबाट २६९६ मिटरको उचाइ रहने छ।

आयोजनाबाट उत्पादित बिजुली १३२ केभी क्षमताको ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने रुकुमको बाँफिकोट सवस्टेशनमा जोडिने छ। आयोजनामा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएलल)ले ४ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने भएको छ।

गत भदौ ९ गते एचआईडीसीएल र प्रवर्द्धक कम्पनीबीच ऋण स्वीकृतपत्र आदानप्रदान भएको थियो। आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नविल बैंकलगायतले ऋण लगानी गर्नेछन्। कुल लगानीको ५ प्रतिशत सेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ।

विद्युत् खरिदबिक्री सम्झौतामा तोकिएको तालिकाअनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने सुुरु हुनेछ। आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशतले हुन आउने १६ अर्ब ९२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ। ऋण बाहेकको ३० प्रतिशत ७ सात अर्ब २५ करोड स्वपुँजी लगानी जुटाउने तयारी गरिएको छ।

आयोजनाको प्रवर्द्धक कम्पनीमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत बराबरको सेयर स्वामित्व छ। यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत शेयर स्वामित्व हुनेछ। बाँकी रहने ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =