जताततै अराजकता मौलायो : माओवादी केन्द्र

हिमाल प्रेस ११ असोज २०८० १४:००
6
SHARES
जताततै अराजकता मौलायो : माओवादी केन्द्र

काठमाडौँ– सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले समाजमा विभिन्न आयमका अराजकताका संकेतहरू देखा परेको बताएको छ। पार्टी केन्द्रीय कार्यलयमा बिहीबार बसेको पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जनाएका छन्।

‘नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ। सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ। अराजकताका संकेतहरू देखा परेका छन्। त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ भन्ने विषयमा छलफल भयो,’ सापकोटाले सञ्चारकर्मीलाई भने।

बैठकमा उक्त विषयलाई हल गर्न सरोकारवाला पक्षसँग संवाद अघि बढाउने छलफल भएको सापकोटाले उल्लेख गरेका छन्।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भीरतापूर्वक लाग्नुपर्‍यो। बाहिर पनि छलफल चलाउनु पर्‍यो,’ बैठकमा भएको छलफल उद्धृत गर्दै सापकोटाले भने, ‘सामाजिक संघ, संस्थासँग अन्तर्क्रिया गर्ने भन्ने पनि भनिएको छ।’

यस्तै, आन्दोलनरत शिक्षकहरूको मागका विषयमा पनि छलफल भएको सापकोटाले बताएका छन्। ‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरूले उठाएका प्रश्नहरू, गुनासाहरूको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो। शिक्षा विधेयक संसद्‌मा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भिर ढंगले छलफल गर्यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल गर्यौँ,’ सापकोटाले उल्लेख गरेका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका बेला उपाध्यक्ष नारयाणकाजी श्रेष्ठको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो।

प्रकाशित: ११ असोज २०८० १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =