४४ औं विश्व पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव

हिमाल प्रेस ७ असोज २०८० १४:४६
6
SHARES
४४ औं विश्व पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव

पोखरा- ४४ औं विश्व पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव आयोजना गरिने भएको छ। आगामी २७ सेप्टेम्बर (असोज १०) मा ‘टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट’ मूलनाराका साथ विश्वभर पर्यटन दिवस मनाइँदैछ।

पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलन गरी पर्यटन दिवसमा मिनी सडक महोत्सव लगायत विविध कार्यक्रम गरेर मनाउने जनाएको हो। उक्त दिन साँझ ५ देखि फेवाताल किनार वाराहीचोकदेखि खहरेचोकसम्म हुने मिनी सडक महोत्सव हुनेछ।

सडकमै खाऔं, सडकमै रमाऔं भन्ने उद्देश्यका साथ रेवानले सो महोत्सव गर्ने छ। यो महोत्सव अंग्रेजी नयाँ वर्षको अवसरमा हुने पोखरा सडक महोत्सवको सानो रुप हुनेछ। जसमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिनेछ। साथै बाजागाजा, झाँकीसहितको र्‍याली निकालिने छ। पर्यटकहरूलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ। जसले पोखरामा आन्तरिक एवं बाह्य पर्यटक भित्राउन मद्दत पुग्ने आयोजकको अपेक्षा छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आतिथ्य रहेको कार्यक्रममा भारतीय टूर अपरेटर, भारतीय मिडिया, नेपाली मिडिया र टूर अपरेटरबीच अन्तक्र्रिया समेत हुनेछ। गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने विविध कार्यक्रमअन्तर्गत अघिल्लो दिन २६ सेप्टेम्बरमा टान गण्डकीले पदयात्रा आयोजना गर्नेछ। व्यवसायी, पर्यटक र पत्रकारको सहभागिता हुने सो पदयात्रा मार्गीदेखि पुम्दीकोटसम्म हुनेछ।

दिवसको दिन नाट्टा गण्डकीले पोखरा पर्यटक बसपार्कमा वृक्षरोपण गर्नुका साथै रक्तदान गर्नेछ। साथै पोखरास्थित पर्यटकीय संघसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटक बसपार्कमा ओर्लिने पहिलो पर्यटकलाई स्वागत सम्मान गर्ने छन्।

पर्यटन दिवसको मूल समारोहको भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन्। जसलाई गण्डकीका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, भारतीय राजदूत श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्बोधन गर्नेछन्।

सन् २०२३ अहिलेसम्मकै धेरै तापक्रम भएको वर्ष रह्यो। मौसम परिवर्तन र दिगो अर्थतन्त्रको विकासको समाधान खोज्नु अहिलेको मूल चुनौती रहेको भन्दै विश्व पर्यटन दिवसको नारा समेत ‘‘टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट’ तय गरिएको बताइएको छ।

पछिल्लो समय कोरोना महामारीपछि चलायमान हुन लागेको पोखराको पर्यटनलाई थप टेवा दिन पर्यटन दिवसमा हुने कार्यक्रमले विशेष महत्व राख्नेमा आफूहरू आशावादी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

प्रकाशित: ७ असोज २०८० १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =