मुलुक विकासका लागि नेतृत्वमा अनुशासन र दृढता आवश्यक : चिनियाँ राष्ट्रपति सी

'नेपाल र चीनले सधैँ एकअर्काका मुख्य चासो र हितसँग जोडिएका मुद्दालाई बुझ्‍ने र समर्थन गर्ने गर्नुपर्छ'

चन्द्रशेखर अधिकारी ६ असोज २०८० १९:२१
46
SHARES
मुलुक विकासका लागि नेतृत्वमा अनुशासन र दृढता आवश्यक : चिनियाँ राष्ट्रपति सी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको हाङजाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हात मिलाउँदै। तस्बिर : रासस

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले एक असल र महत्त्वपूर्ण छिमेकी राष्ट्रका रूपमा नेपालको विकासलाई सधैँ सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शनिबार हाङजाओमा भएको भेटमा राष्ट्रपति सीले नेपालमा राजनीतिक स्थायित्वसँगै विकासकार्य अघि बढेकोमा खुसी व्यक्त गर्दै उनले विकास प्रक्रियामा सघाउन तत्पर रहेको बताएका हुन्।

‘चीन र नेपालले सधैँ एकअर्काकाले मुख्य चासो र हितसँग जोडिएका मुद्दाहरूलाई बुझ्ने र समर्थन गर्ने गर्नुपर्छ,’  सीलाई उद्धृत गर्दै भेटवार्तामा सहभागी एक नेपाली अधिकारीले भने। ती अधिकारीका अनुसार नेपालमा विगतमा बाह्य सक्रियतामा भएका गतिविधिलाई संकेत गर्दै चीनले यस्तो विषय उठाएको हो। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग र चिनियाँ राष्ट्रपतिसहितको चिनियाँ प्रतिनिधिमण्डलले दुईपक्षीय वार्ता भएको हो।

मुलुक विकासका लागि नेतृत्वमा पनि अनुशासन र दृढता आवश्यक पर्ने भन्दै त्यस्ता विषयमा नेपालले ध्यान दिए आफूहरू अझ खुसी हुने सीको भनाइ थियो। उनले नेपाली नेतृत्वको बोली र व्यवहारमा देखिएको फरकपनलाई कूटनीतिक शैलीमा जवाफ दिएको ती अधिकारीले जानकारी दिए।

क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको विषयमा पनि सीले नेपालकाे साथ खाेजेका थिए। त्यसमा प्रधानमन्त्री प्रचण्डले सहमति जनाएका छन्। दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य थप सघन बनाउने विषयमा कुराकानी भएकाे छ।

नेपाल चीनको एक मित्र मुलुक भएकाले नेपालसँगको सम्बन्धमा धेरै आयाम जोडिएको सीको धारणा थियो। भेटवार्तामा सहभागी ती अधिकारीले सीलाई उद्धृत गर्दै भने, ‘चीनले छोटो समयमा आफूलाई अब्बल बनाउन मित्र मुलुकहरूको साथ र सहयोग पाएको छ भने हामी पनि मित्र मुलुकलाई साथ दिन चाहन्छौँ। तर हाम्रा मित्रहरू आपसमा सहकार्य गरेको नदेख्दा दु:खी हुने गरेको छु।’

सीले नेपाललाई विकासको रणनीति बनाएर काम गर्नसमेत सुझाव दिएका छन्। ‘नेपालसँगको सम्बन्धलाई हामीले ठूलो महत्त्व दिएका छौँ। नेपालको विकास रणनीति तयार गर्न र विकास अघि बढाउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ,’ सीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले लेखेका छन्।

राष्ट्रपति सीले ‘ट्रान्स हिमालयन थ्री डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्क’ले आकार लिन थालेकोमा खुसी व्यक्त गर्दै दुई मुलुकले पूर्वाधार कनेक्टिभिटीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।

‘दुई पक्षले पूर्वाधार कनेक्टिभिटी प्रवर्द्धन, यातायात सहकार्य विस्तारका साथै नेपाललाई सकेसम्म चाँडो भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बनाउन ध्यान केन्द्रित गर्नैछौँ,’ सीले भनेका थिए, ‘चिनियाँ उद्योगीलाई नेपालमा लगानी गर्ने वातावरण बनेमा र नेपालमा चिनियाँलाई विद्यार्थी भिसा सहज भएमा चिनियाँ उद्यमीलाई नेपालमा लगानी तथा व्यवसाय सुरु गर्न तथा नेपाली उत्पादनहरू चीनमा निर्यात गर्न प्रेरित गरिनेछ।’

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्वको टोलीबीच शनिबार हाङजाओमा वार्ता हुँदै। तस्बिर : रासस

उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा चीन र नेपालको साझा स्वार्थ रहेको बताउँदै चीन नेपालसँग बहुपक्षीय सहकार्य गर्न तथा साझा स्वार्थहरूको सुरक्षा गर्न इच्छुक रहेको बताएका थिए। सीले कुनै दल नतोकीकन नेतृत्व कहिले कता कहिले कता फर्केकोप्रति लक्षित गर्दै कम्युनिस्टहरू मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्। उनले भनेका थिए, ‘मुलुकको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति हासिल गर्ने चाहना चीनको छ।’

राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनको सम्बन्ध अघि बढिरहेको पनि बताए। ‘आपसी सम्मान, समर्थन र समान अस्तित्वसहित नेपाल र चीनबीच सहकार्य भइरहेको छ। भाैगोलिक र अर्थतन्त्रका हिसाबले सानो तथा ठूलो देशबीच समान सहअस्तित्व तथा साझा विजयीमा चीनले सधैँ विश्वास गर्ने हुनाले यसमा अडेर सहकार्य अघि बढाउनुपर्नेछ’, प्रधानमन्त्री प्रचण्डसँगको वार्तामा सीले भनेका थिए।

सीले सहयोग आदानप्रदानमा पनि चीनले सधैँ नेपालीलाई ध्यानमा राख्ने गरेको भन्दै नेपाल भ्रमण गरेको र प्रचण्डसँग गोवामा भएको भेटवार्ता पनि स्मरण गरेका थिए। २०७३ असोज अन्त्यमा लबीमा बसेको तस्बिरलाई त्रिपक्षीय सहकार्य भन्दै बाहिर ल्याएकोमा प्रचण्डसँग चिनियाँ अधिकारी  रिसाएका थिए। शनिबारको भेटमा  त्यो भेटबारे ठट्यौली कुरा भए पनि चीनले गम्भीर रूपमा लिएको अधिकारीहरूको बुझाइ छ।

चिनियाँ राष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढताका साथ र समर्थन रहँदै आएको बताएका थिए। नेपालले जसरी चिनियाँ भेट्दा एक चीन नीतिमा नेपाल अडिग छ भने झैँ अहिले थपिएको वाक्य हो बीआरआईमा हाम्रो पूर्ण समर्थन छ।

प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड तेस्रो पटक चीन गएका हुन्। ‘मेरो तेस्रो चीन भ्रमणले नेपाल-चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास गरेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै नेपालका लागि चिनियाँ राजदूत विष्णुपुकार श्रेष्ठले भने, ‘यो दुईपक्षीय वार्ताले नेपाल-चीन सम्बन्धलाई बलियो बनाउने, एकअर्कालाई बुझ्ने, साथ दिने साझेदार मित्र भएको पाएको छु।’

प्रधानमन्त्री प्रचण्डले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। नेपाल एक चीन नीतिमा दृढ रहेको र चीनले अघि बढाएको बीआरआईमा नेपालको पूर्ण समर्थन रहेको पनि उनले दोहोर्‍याएका थिए। साथै उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पार्दै यसमा नेपाल दृढ रहेको बताएको भेटमा सहभागी अधिकारीले बताएका छन्।

चिनियाँ राष्टपति सीले आगन्तुक सबैलाई स्वागत गरेका थिए। स्वागत भाषणपछि यो भेटघाट भएको हो। सबै भेटपछि चिनियाँ समयअनुसार ८ बजे १९औँ एसियाली खेलकुद प्रतियोगितामा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन्। उक्त  प्रतियोगिता उद्घाटन चिनियाँ राष्ट्रपति सीबाट भएको छ।

सी र प्रचण्डबीच एक्लाएक्लै वार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान अन वान वार्ता पनि भएको छ। प्रतिनिधिमण्डल र वान अन वान गरी एक घण्टाभन्दा बढी वार्ता भएको थियो। एक्लाएक्लै कुराकानीमा के भयो कोही जानकार छैनन्। भ्रमण टोलीका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले के भन्छन् त्यही पत्याउनुपर्ने अवस्था छ। हाम्रै प्रधानमन्त्रीको चाहनामा एक्लाएक्लै वार्ता भएको हो।’

प्रतिनिधिमण्डलसहितको वार्तामा सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड दुईपक्षीय वार्तापछि आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन वार्ता सफल भएकाे भन्दै  खुसी देखिएका थिए। प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको  बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड १९औँ एसियाली गेमको अतिथि भएर शनिबार बिहान होङजाओ पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर न्युयोर्कबाट त्यहाँ पुगेको हो। प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउदसहित र न्युयोर्कबाट गएका अन्य सदस्यहरू पनि छन्। यस्तै भ्रमणमा नेपालबाट सीधै चीन पुगेका अधिकारीहरू पनि सहभागी छन्।

प्रकाशित: ६ असोज २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =