सर्लाहीमा कर्फ्यु

हिमाल प्रेस २३ भदौ २०८० १९:४७
14
SHARES
सर्लाहीमा कर्फ्यु सांकेतिक तस्बिर

मलंगवा- सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबारदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेसम्म जारी रहने बताए।

शुक्रबार साँझ मलंगवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो।

विवादपछि ढुंगा हानाहान तथा झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

ढुंगा लागेर मूर्ति विसर्जनमा सहभागी केही व्यक्ति र प्रहरीसमेत घाइते भएका उनले जानकारी दिए। शनिबार दिउँसो पनि दुवै पक्षबीच ढुंगा हानाहान हुनथालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए।

स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै शनिबार जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा सर्वदलीय तथा सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ।

शनिबार बिहानैदेखि सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश लगाइएको छ।

घटनास्थलमा अहिले उल्लेख्य संख्यामा सुरक्षाकर्मीको खटाइएको छ। प्रदर्शन र ढुंगामुढाका कारण शनिबार बिहानैदेखि मलंगवा बजार क्षेत्रका पसल बन्द छन्। यहाँबाट चल्ने साना तथा लामो दूरीका सवारीसाधन चल्न सकेको छैनन्। रासस

प्रकाशित: २३ भदौ २०८० १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =