बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते

हिमाल प्रेस २२ भदौ २०८० ६:३०
2
SHARE
बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते

काठमाडौँ- चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ।

बिहीबार मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो।

आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली ल्याइएको थियो।

मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ। सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा सञ्जीन केसीले बताए। घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ।

प्रकाशित: २२ भदौ २०८० ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =