तनहुँमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय त्रसित

हिमाल प्रेस ३ माघ २०८० १३:०६
92
SHARES
तनहुँमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय त्रसित फाइल तस्बिर

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-४ टुँडिखेल,अस्पताललगायतका क्षेत्रमा साँझ दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी त्रसित छन्।

टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझकाे समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

उनले भने,‘दिनहुँजसो चितुवा देखापर्दा सबैजना त्रसित छन्। साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ।’

अध्यक्ष प्रधानले घर आसपासका झाडी सरसफाइ गर्न सबैलाई आग्रह गरेका छन्। स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्ज्यालोमा सतर्कता अपनाउन आग्रह गरे।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए। पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ।

चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ।

मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए।

प्रकाशित: ३ माघ २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =