पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

हिमाल प्रेस २१ भदौ २०८० १९:२५
14
SHARES
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

काठमाडौँ- भदौ २७ गतेदेखि किशोरीहरूमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपीभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गरे।

उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए।

औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ। भदौ २७ गतेदेखि देशमा सात प्रदेशका सात अस्पतालबाट १४ वर्ष पुगी १५ वर्ष नपुगेका किशोरीलाई एचपीभी खोप लगाइने छ। गत असारमा सरकारले चीनबाट खरिद गरेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपीभी किशोरीलाई लगाउने भनेर २० हजार मात्रा ल्याएको थियो।

महाशाखाका निर्देशक डा. लालका अनुसार कोशी प्रदेशमा कोशी अस्पतालमा भदौ २८ देखि ३० गतेसम्म, मधेश प्रदेशमा वीरन्गजस्थित नारायणी अस्पतालमा भदौ २९ देखि ३१ गतेसम्म, बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भदौ २७ देखि ३० गतेसम्म, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान भदौ २७ देखि ३० गतेसम्म खोप लगाइने छ।

यस्तै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा भदौ २७ गतेदेखि ३० गतेसम्म, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतमा भदौ २७ गतेदेखि ३० गतेसम्म र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा भदौ २७ गतेदेखि २९ गतेसम्म एचपीभी खोप लगाइने छ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। सो अवसरमा कास्कीमा १० हजार ९ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपीभी खोप प्रदान गरिएको थियो।

दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने र पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ। अहिले पहिलो मात्रा र ६ महिनापछि दोस्रो मात्रा खोप दिइने छ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले डब्लूएचओले अरू खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गरे।

‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुन सक्ने महिलाको पाठेघरको मुख, यौनांगको क्यान्सर तथा यौनांगमा हुने मुसाबाट खोपले बचाउँछ। यस्तै एचपीभी संक्रमण भएपश्चात् हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा संक्रमण हुने सम्भावना समेत कम हुने गरेको खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए।

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ। विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ। -रासस

प्रकाशित: २१ भदौ २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =