प्राधिकरणले सुरु गरेका ५१ चार्जिङ स्टेसन कहाँकहाँ छन्?

हिमाल प्रेस २० भदौ २०८० १४:५७
58
SHARES
प्राधिकरणले सुरु गरेका ५१ चार्जिङ स्टेसन कहाँकहाँ छन्? गत साता नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको चार्जिङ स्टेसन उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरे। तस्बिर : रासस

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा बुधबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएका चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वेजियन सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत चार्जिङ स्टेसन निर्माण गरिएको हो। करिब ४० करोड रुपैयाँको लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र २५ वटामा सानाठूला कार चार्ज गर्न मिल्छ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले देशभर चार्जिङ स्टेसन सञ्चालनमा आउनु दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको बताए। विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्ने कार्य भइरहेको पनि बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए। विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने धारणा राखे। प्राधिकरणले देशभर थप पाँच सयवटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको पनि उनले उल्लेख गरे।

चार्ज गर्दा कारमा औसत ७० पैसा, जीपमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने घिसिङले बताए। नेपालमा उपलब्ध सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ। चार्जिङ स्टेसनमा ६०÷६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर पनि राखिएका छन्। यसबाट ठूला बससहित तीनवटा सवारी साधन एक साथ चार्ज गर्न सकिन्छ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार मा (करबाहेक) ठेक्का सम्झौता भएको थियो।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ।

प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र बल्खु, सामाखुसी, पुल्चोक, रत्नपार्क, भृकुटीमण्डप र खरिपाटीमा चार्जिङ स्टेशन सुरु गरेको छ। लमही बसपार्क, सुर्खेत, बुटवल बसपार्क, कोहलपुरको नयाँ बसपार्क र धनगढीका चार्जिङ स्टेशन पनि चलाइएको छ।

त्यस्तै धार्के, मुग्लिन, पारस बसपार्क चितवन, खुर्कोट र सिन्धुली बसपार्कमा पनि स्टेशन सुरु गरिएको छ। इटहरी, विराटनगर, दमक, बेलका, बिर्तामोड, बर्दिबास, हरिवन, इनरुवा बसपार्क, लम्की र लहानमा पनि चलाइएको छ। कास्कीको मालेपाटन, बेगनास ताल, पर्यटक बसपार्क र कुस्मामा एक एकवटा स्टेशन सुरु भएका छन्। त्यसका साथै हेटौँडा र नुवाकोट दुईदुईवटा चार्जिङ स्टेशन सुरु भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २० भदौ २०८० १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =