एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा कँडेल र रिजालले गराए उम्मेदवारी दर्ता

हिमाल प्रेस १७ भदौ २०८० २१:२४
14
SHARES
एमाले लुम्बिनी अधिवेशन : अध्यक्षमा कँडेल र रिजालले गराए उम्मेदवारी दर्ता अध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै राधाकृष्ण कँडेल।

लुम्बिनी- नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएकाे छ। सहमतिका लागि आइतबार साँझसम्म प्रयत्न भए पनि अन्ततः अध्यक्षमा राति उम्मेदवारी दर्ता भएकाे हाे। अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन्।

सहमतिमा नेतृत्व चयनको प्रयास विफल भएपछि कँडेलले उम्मेदवारी दर्ता गराएका हुन्। राजुप्रसाद श्रेष्ठलाई प्रस्तावक र भोजराज पोखरेललाई समर्थक बनाएर कँडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै विजय विराज विष्टलाई प्रस्तावक र लालसिंह काउछालाई समर्थक राखेर रिजालले उम्मेदवारी दर्ता गराएका छन्। रिजालले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटी सदस्य भरत पोखरेलले जानकारी दिए।

रुपन्देहीको बुटवलमा जारी प्रदेश अधिवेशनमा नेतृत्वका लागि मनाेनयन दर्तासँगै अध्यक्ष केपी शर्मा ओलीकाे निर्देशन कार्यान्वयन भएन। कँडेललाई उपाध्यक्ष विष्णु पाैडेल र रिजाललाई महासचिव शंकर पाेखरेलकाे समर्थन छ।

यद्यपि सहमतिको विकल्प अझै नटुंगिएको दुवै नेताले बताएका छन्। आइतबार दिनभर जारी रहेको निर्वाचन प्रक्रिया नटुंगिएपछि निर्वाचन मण्डलले सोमबार बिहान १० बजेसम्मका लागि सबै काम स्थगित गरेको संयोजक हरिप्रसाद भण्डारीले बताए। आइतबार निर्वाचन प्रक्रियाअन्तरगत मतदाताहरुको नामावली प्रकाशन तथा मनोनयन दर्ता गराएपछि थप प्रक्रिया स्थगित गरेको हो।

सोमबार बिहानैदेखि प्रक्रिया पूरा गरी उम्मेदवारहरूको नामावली प्रकाशन, दाबी विरोध, फिर्तालगायतका काम हुने निर्वाचन मण्डलले बताएको छ।

यो वर्षलाई अधिवेशन वर्षको रूपमा लिएको एमालेले सुरुमा लुम्बिनी प्रदेशको अधिवेशन आयोजना गरेको हो। प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्त्व राख्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएर गएका थिए।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरूबाट छानिएका गरी १००४ प्रतिनिधिहरू सहभागी छन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ। सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका छन्।

प्रकाशित: १७ भदौ २०८० २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =