यस्तो छ ‘हेलो सरकार’ को विस्तारित सेवा

हिमाल प्रेस १७ भदौ २०८० १४:०९
8
SHARES
यस्तो छ ‘हेलो सरकार’ को विस्तारित सेवा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित प्रचण्डले जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन्।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारी खटिएका छन्। हेलो सरकारमा आएका गुनासो सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सीधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।

गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए। टिमले सम्बन्धित निकायमा पठाइएका गुनासो कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।

प्रकाशित: १७ भदौ २०८० १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =