जुम्लाको गौरवको आयोजना ‘चुकेनी जलविद्युत्’को काम अन्तिम चरणमा

हिमाल प्रेस १७ भदौ २०८० ६:२६
8
SHARES
जुम्लाको गौरवको आयोजना ‘चुकेनी जलविद्युत्’को काम अन्तिम चरणमा

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका-१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आउँदो दसैँसम्म सम्पन्न हुने गरी काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले दसैँको घटस्थपानाका दिनसम्म भए पनि विद्युत्‌गृहमा बिजुली बाल्ने तयारी भइरहेको बताए।

चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ। सो टोलीले निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।

इन्जिनियर थपलियाका अनुसार आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तारको काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ। आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने उनको भनाइ छ।

उक्त आयोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३१ करोड रुपैयाँ लगानी छ भने गाउँपालिका र स्थानीय जनताको १३ करोड रुपैयाँ लगानी छ। सर्वसाधारणले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटीमा राखेर ६ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको चुकेनीखोला सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए।

अनुगमनपछि प्रदेशसभा सदस्य शाहीले चुकेनी जलविद्युत्ले जिल्लाको विद्युत् सेवामा निकै महत्त्वपुर्ण भमिका खेल्ने बताए।

जिल्लामा यसअघि नै प्रसारण लाइन पुगेका स्थानीयवासीलाई पनि राम्रोसँग सेवा प्रवाह दिन सकिएको छैन। चुकेनी जलविद्युत्लाई थप स्तरवृद्धि गर्नका लागि प्रदेश सकारसँग बजेटको माग गरिने भएको छ।

जनताले तिर्नुपर्ने सेयर सांसद विकास कोषबाट भए पनि दिन तयार रहेको उनको भनाइ छ। चुकेनीखोलाको बिजुली छिटोभन्दा छिटो उत्पादन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ।

९ सय ९८ किलोवाट क्षमता रहेको आयोजनाबाट बिजुली उत्पादन हुने पातारासी गाउँपालिकाले जनाएको छ। विसं २०७६ जेठ १० गते सम्झौता भई आयोजनाको काम अगाडि बढेको थियो। १८ महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। रासस

प्रकाशित: १७ भदौ २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =