प्रधानमन्त्रीलाई गगनले भने : बहुमत छ भनेर हामीलाई हेपिएको छ, यो स्वीकार्य हुँदैन

हिमाल प्रेस १२ भदौ २०८० १५:२१
38
SHARES
प्रधानमन्त्रीलाई गगनले भने : बहुमत छ भनेर हामीलाई हेपिएको छ, यो स्वीकार्य हुँदैन प्रतिनिधिसभा बैठकमा सांसद गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूलाई हेपेको भन्दै असन्तुष्टि जनाएका छन्। आज मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै थापाले प्रधानमन्त्रीको कामकारबाहीमाथि प्रश्न उठाएका हुन्।

उनले संसद्‌लाई सरकारले हेपेको पनि बताएका छन्। ‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद,’ थापाले भने,’मसँग बहुमत छ सांसदहरूले थपडी बजाउन आएका हुन् भन्ने सोच्नु भएन। हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन।’

त्यस्तै थापाले अपराधको राजनीतिककरण गर्ने विधेयकको भारी कानुनमन्त्रीले बोक्न नहुने पनि बताए। उनले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको प्रष्ट पारे।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन्।

उनले कांग्रेसलाई राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य नभएको भन्दै यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई आग्रह गरे। ‘यो विधेयकमा मुलुकी फौजदारी संहीताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु,’ उनले भने, ‘राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण को व्यवस्था हामीलाई स्वीकार्य छैन। माननीय कानूनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नबोक्नुस्। यसलाई बिसाउनुस्। यसलाई हटाउनुस्।’

प्रकाशित: १२ भदौ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =