सांसद अमरेशकुमारको प्रश्न : प्रधानमन्त्रीकी छोरी राज्यका हरेक बैठकमा कुन हैसियतमा बस्दै आएको?

हिमाल प्रेस १२ भदौ २०८० १३:५०
82
SHARES
सांसद अमरेशकुमारको प्रश्न : प्रधानमन्त्रीकी छोरी राज्यका हरेक बैठकमा कुन हैसियतमा बस्दै आएको?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल राज्यका हरेक बैठकमा सहभागी भएको विषयमा संसद्‌मा प्रश्न उठेको छ। प्रतिनिधिसभा बैठकको मंगलबारको  विशेष समयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा राज्यको कुन हैसियतमा बैठकमा सहभागी भइरहेको भन्दै प्रश्न उठाएका हुन्।

‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौँ?,’ उनले प्रश्न गर्दै भने, ‘कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन्? अनुमतिबिनाको उत्तरदायित्वले सबैभन्दा खतरा बढेको छ। गणतन्त्रलाई कहीँबाट खतरा छ भने चार-पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ। जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ।’

ठूला भ्रष्टाचारको काण्डहरूको अन्तिम टुंगो लगाउन आलटाल गरिएको भन्दै उनले आपत्ति जनाए। सिंहले दाहाल नेतृत्वको सरकार इतिहासकै कमजोर भएको दाबी गरे।

‘नेपालमा विदेशीको हस्तक्षेप इतिहासमै धेरै भइरहेको छ। यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिएन,’ उनले भने, ‘सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो। सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक दंगा गराउन खोजिँदै छ।’ सिंहले नेताहरूमाथिको छानबिन टुंगो नलगाए सरकारले सुशासनको नारा लगाउँदैमा केही बताए।

प्रकाशित: १२ भदौ २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =