सांसद सिंहको आरोप : सरकारी स्वामित्वमा आउन नदिन नेताहरूको चलखेलमा एनसेल बिक्री गरियो

हिमाल प्रेस १७ मंसिर २०८० १६:४१
4
SHARES
सांसद सिंहको आरोप : सरकारी स्वामित्वमा आउन नदिन नेताहरूको चलखेलमा एनसेल बिक्री गरियो

काठमाडौँ– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन्। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको भन्दै एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने पुँजीगत लाभकर छली गरिएको बताए। त्यसका लागि एनसेल शेयर खरिद बिक्रीमा ठूलो चलखेल भएको उनको दाबी छ।

एनसेलको शेयर बिक्री ५० मिलियन डलरमा बिक्री भएको सत्य भए आफू ६० मिलियन डलर दिन तयार रहेको सिंहको भनाइ छ। ‘जम्मा पाँच मिलियनमा किनेको ६ महिनापछि दिँदा हुने, बाँकी ४५ मिलियन डलर छ, त्यो चार वर्षमा दिँदा हुन्छ। यस्तो खरिद–बिक्री कहीँ पनि हुँदैन। यो सबै ठगी हो,’ सिंहको भनाइ छ।

यसभन्दा अघि पनि एनसेलबारेमा आन्तरिक राजश्वका महानिर्देशकले क्यापिटल गेन ट्याक्स लिनुपर्दैन भनेको र इन्टरनेस्नल ट्रिबुनलबाट नेपालले जितेपछि ४३ अर्ब नेपाललाई राजश्व आएको घटना स्मरण गराउँदै उनले अहिलेको खरिदबिक्री पनि गलत मनसायका साथ भएको दाबी गरे।

एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरूको पनि संलग्नता रहेको उनको ठोकुवा छ। उनले एनसेलका शेयर बिक्रीमा नेताहरूलाई अर्बमा फाइदा भए पनि नेपाली जनतालाई भने खरबौँ घाटा लागेको उनको दाबी छ। एनसेलको शेयर बेच्ने अभ्यास एक वर्षदेखि राजनीतिक दलका नेता, सरकारका पदाधिकारीलगायतको मिलेमतोमा भएको भन्दै उनले केही बिजनेस माफिया, राजनीतिक दलका नेताहरू, सरकारका अधिकारीहरू मिलेर यो काम भएको बताए। ‘एक वर्षदेखि यो नेपाल सरकारलाई सन् २०२९ मा कसरी ह्याण्डओभर नगर्ने, त्यसका लागि प्रयास भयो,’ सिंहले पत्रकार सम्मेलनमा बताए।

६ अर्बमा कम्पनी बिक्री भए पनि एनसेलले नेपालका तीन वटा बैंकबाट ४० अर्ब ऋण लिएको उनको दाबी छ। एनसेलका भ्यालुएसन ६ अर्बमात्रै हो भने ऋण प्रवाह गर्ने बैंकहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने सिंहको भनाइ छ।

एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्स बैंकबाट ४० अर्ब ऋण लिएको उनले दाबी गरे। एनसेल ६ अर्बमा बिक्री भयो भनेर पत्याउन नसकिने उनले बताए। नेपालको कर छली गर्नलाई सरकारकै मिलेमतोमा यूकेमा सो सम्झौता भएको र यूकेसँग नेपालको दोहोरो कर सम्झौता रहेको उनले बताए। सोही सम्झौताको फाइदा उठाउँदै खरिद बिक्री सम्झौता यूकेमा भएको सिंहको दाबी छ।

उनले एनसेलको २० प्रतिशत शेयरकर्ता शतिषलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा २०१७ देखि २०२३ सम्म १५० मिलियन डलर डिभिडेन्ड लगेको दाबी गरे। २० प्रतिशतवालाले त्यति धेरै डिभिडेन्ड लगेको कम्पनीको शेयर ५० मिलियनमा बिक्री हुन्छ भनेर पत्याउन नसकिने उनको भनाई छ।

आजका दिनमा एनसेलको भ्यालुएसन दुई खर्बभन्दा बढी रहेको भन्दै एनसेलको मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आगामी १९ गते तोकिएको पेशीमा चलखेल गरेर ५७ अर्ब कर छली गर्न खोजेको सांसद सिंहको दाबी छ।

एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै उनले अहिले भएको अपारदर्शी खरिद–बिक्री नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने बताए। ‘नेपाली जनताले सडकमा आएरपनि यसलाई रोक्नुपर्छ। किनकि यो नेपाली जनताको सम्पत्ति हो। चार वर्षपछि नेपाली जनताको हुनेवाला छ। यदि ६ अर्बमा नै बेचिन्छ भने नेपाल सरकारले अधिकरण गर्नुपर्छ। ६ अर्ब छ भने नेपाल सरकारले किन्छ। नेपाल सरकारको दूरसञ्चार संस्थानले किन्छ,’ उनले भने।

एनसेललाई नेपाल सरकारको स्वामित्वमा आउन नदिने र त्यसको लाभ लिने चलखेलमा नेपालका चार/पाँच जनाको संलग्नता रहेको भन्दै ती संलग्न माफियाहरू महतो, आचार्य, ढकाल, सुमार्गी र सिंह थरका रहेको सांसद सिंहले दाबी गरे। एनसेल बिक्रीका लागि पूर्वस्वीकृति नलिएको भन्दै त्यसबारे पनि आलोचना भइरहेको छ।

प्रकाशित: १७ मंसिर २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =