टिप्पणी

डा. शेखर : उमेरसँगै थपिँदै ऊर्जा, बढ्दै अपेक्षा

चन्द्रशेखर अधिकारी १० भदौ २०८० १८:३९
534
SHARES
डा. शेखर : उमेरसँगै थपिँदै ऊर्जा, बढ्दै अपेक्षा

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शनिबार आफ्नो ७४ जन्मोत्सव कांग्रेस कार्यकर्ता र कोइराला निवासका साथीहरूसँग मनाएका छन्। उमेर एक वर्ष थपिए पनि उनको राजनीतिक ऊर्जा भने झन् बढ्दो छ। नियमितजसो काठमाडौँ र विराटनगर गरिरहन्छन्। जिल्लाका कार्यकर्ताबीचमा पनि पुगेकै हुन्छन्। त्यसैले पछिल्लो समय पार्टी एक ढिक्का बनाउन सभापति बन्नैपर्ने दबाब उनीमाथि छ।

मुलुकको अवस्थाबारे बोल्नुपर्दा शालीन ढंगमा प्रस्तुत हुनु उनको विशेषता हो। राजनीतिक संस्कारकै कारणले होला कोइराला नामै तोकेर कसैको आलोचना गर्दैनन्। न त उनको अभिव्यक्तिमा गालीगलौजको गन्ध पाइन्छ। मुलुकको राजनीतिक अवस्थाबारे आफूलाई लागेका कुरा लेखेर वा बोलेर सुझाव दिइरहेका हुन्छन् उनी।

त्यसैले जानकारहरू गिरिजाप्रसाद कोइरालाबाट राजनीतिक प्रशिक्षण पाएका डा. शेखर पुर्खाको विरासत मात्रै धानिरहेका छैनन् कांग्रेस नेतृत्वमा पुग्न प्रयासरत रहेको बताउँछन्। अध्ययनशील नेता कोइराला आन्तरिक राजनीति मात्र होइन अन्तर्राष्ट्रिय राजनीति पनि नजिकबाट हेरिरहेका हुन्छन्। विदेशी पत्रपत्रिका पढ्न रुचाउने उनी विश्व परिवेश र यहाँको अवस्थामा निकै चिन्तन देखिन्छन्। नेपालको भूराजनीति चपेटा अन्य नेताभन्दा उनलाई बढी थाहा छ। भारत, अमेरिका र चीनलगायत सबैजसो मुलुकसँग उनी निश्चित दुरी राखेर काम गरिरहेका हुन्छन्।

विराटनगरका कृष्णप्रसाद कोइरालाका तीन सन्तान  (मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद) प्रधानमन्त्री बने। त्यसैले विराटनगरमा कोइराला निवास चर्चित छ। पछिल्लो समय भने त्यो निवास शेखर निवासका रूपमा चिनिन थालेको छ। तीनजना प्रधानमन्त्रीको बाल्यकाल बितेको कोइराला निवासबारे बढी जानकार डा. शेखर नै हुन्। जहानियाँ राणाशासन अन्त्य गर्न होस् या प्रजातन्त्र पुनर्स्थापना र गणतन्त्र ल्याउने तीनै ठूलो क्रान्ति हाँक्ने थलो त्यही हो।

राजनीतिमा सक्रियता

डा. शेखरले औपचारिक अध्ययनपछि केही समय वीर अस्पतालको दरबन्दीमा रहेर पाल्पाको मिसन अस्पतालमा चिकित्सकका रूपमा काम गरे। अनि उनले कोशी अस्पतालमा सेवा गरे। २५ वर्षको उमेरदेखि मानवसेवामा सक्रिय डा. शेखर धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको संस्थापक उपकुलपति हुन्। प्रतिष्ठानलाई अहिलेको अवस्थामा ल्याउन उनको ठूलो योगदान छ। २०४७ फागुन ३ मा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरलाई अभिनन्दन गर्ने क्रममा कोशी अस्पतालका लागि शय्या थप्न सहयोग मागिरहँदा चन्द्रशेखरले नै हाम्रा मित्र बीपीका नाममा अस्पताल माग्न भनेपछि त्यो प्रक्रिया अघि बढेको थियो।

डा. शेखर प्रतिष्ठानको उपकुलपतिबाट निष्कलंक निस्के। प्रतिष्ठानमा काम गर्दा उनी धरान-विराटनगर आउजाउ गर्थे। किनभने उनी आमाले पकाएको खाना खाएर अफिस जान रुचाउँथे। अहिले मुलुकलाई पनि त्यही हिसाबले हेर्छन् उनी। कोइराला भन्छन्, ‘मुलुक आमा हो। मुलुकलाई धोका दिनु आमालाई धोका दिएसरह हो।’

डा. शेखर कोशी अस्पतालमा बिरामी जाँच्दै गर्दा आफ्नो घरमा लाग्ने राजनीतिक भीड नियाल्थे। घरमा अनेकन् समस्या लिएर आउनेजानेको संख्या बढ्न थाल्यो। कोइरालाको रगत बिस्तारै चिकित्सा अध्ययन र रिसर्चभन्दा मुलुकको राजनीतिक चिरफारतर्फ तात्न थाल्यो। उनी पूर्णकालीन राजनीतिमा सक्रिय भए। अहिले त्यहाँ पर्खाल लगाइएको छ। पहिले पर्खाल भएको भए उनी घरको भीड देख्न पाउँदैनथे। उनलाई राजनीतिमा लाग्ने चाहना बढ्दैन थियो होला।

पञ्चायतकालमै भारतीय प्रधानमन्त्री मोरारजी देसाईँको पत्र बीपीकहाँ पुर्‍याउन दिन होस् वा बीपीले भनेका नेताहरूलाई भेट्न दिल्लीको कुनाकुना पुगेर उनले युवा अवस्थामा दुई देशका उच्चस्तरका नेताको संगत गर्ने अवसर पाएका थिए। गिरिजाप्रसादलाई फारबेसजगन्जबाट नेपाल पठाउन पनि शेखरकै भूमिका थियो। उनले जेलमा रहेका बीपीलाई गिरिजाको सन्देश पठाउने काम पनि गरेका थिए।

यिनै अनुभवले गर्दा शेखरमा परिपक्व राजनीतिक चेतको विकास भएको हो। साथै नेपालप्रति भारतीय दृष्टिकोणबारे शेखरबाहेक अन्य नेतालाई विरलै जानकारी होला। भारत र नेपालमा रहेका नेताहरू जोड्न उनी भारतमा अध्ययन गर्दादेखि सक्रिय थिए। २०७२ को संविधान जारी भएयता भने शेखरको सक्रियता ह्वात्तै बढेको हो।

केशवप्रसाद कोइराला र कांग्रेस नेतृ नोना कोइरालाका छोरा डा. शेखर भद्र, संस्कारी र सहयोगी भावना राख्ने व्यक्तित्व हुन्। उनी सामान्य स्यान्ट्रो गाडी चढ्छन्। किन यो सानो गाडी भनेर प्रश्न गर्दा उत्तर पाइन्छ, ‘ठूलो गाडी जाने ठाउँमा पनि यो पुगिहाल्छ।’

काम गर्ने पदमा पुगेका छैनन्

गिरिजाप्रसादले डा. शेखरलाई छोरी सुजाताकै स्तरमा राखेर राजनीतिमा सक्रिय गराए पनि उनले लाभको पदमा रहेर काम गरेका छैनन्। उनलाई मन्त्री बन्ने प्रस्ताव पटकपटक नआएको भने होइन। डा. शेखर राजनीतिमा सक्रिय भएपछि पार्टी र मुलुकप्रति बढी चिन्तित हुँदै आएको देखिन्छ। त्यसैले त उनलाई मुलुक कोमामा जान लागेकोमा चिन्ता छ।

व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेका नेताहरूले मुलुकलाई जे पनि गर्न सक्ने उनी बताउँछन्। उनी सरकारको कार्यशैलीप्रति रष्ट छन्। प्रधानमन्त्री नै जातीय आन्दोलन गराउन सक्रिय रहेको आरोप उनको छ। ‘प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिसक्नुभएको छ’, उनी भन्छन्, ‘यसमा कांग्रेस नेतृत्व चुप रहनुपर्ने कारण छैन।’

कमजोरी सुन्ने क्षमता

नेपाली नेताहरू प्रशंसा सुन्न मन पराउँछन्। डा. शेखर भने यसमा अपवाद हुन्। उनी आफ्नो कमजोरी सुन्न रुचाउँछन्। उनीमाथि पहिला कार्यकर्ता मैत्री छैनन् भन्ने आरोप नलागेको होइन। तर जति राजनीतिमा सक्रिय हुँदै गए उनी त्यति नै विज्ञहरू, साथीभाइ, कार्यकर्ता र पत्रकारसँग भिज्न थाले।

डा. शेखर पहिला धेरैसँग खुल्दैनथे। चिनेकासँग निकट हुने र नचिनेकालाई बेवास्ता गर्ने स्वभाव थियो। तर अहिले सबैलाई चिन्ने, बोलाउने, सँगै आएकालाई खाए नखाएको सोध्ने, आफूले केही खाँदै गरेका बेला कोही आए बाँडेर खाने। अत्यन्त मिलनसार व्यवहारले उनी आमकांग्रेसमा भिजेका छन्।

उनी हचुवामा बोल्दैनन्। कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा पाँच वर्षअघि जो बोलिरहेका थिए अहिले पनि त्यही बोलिरहेका शेखर साँच्चै परिपक्व राजनीतिज्ञ मानिन्छन्। नयाँ दलका बारेमा उनले दिने अभिव्यक्तिमा पनि दम हुन्छ। डा. शेखरबारे सुजाता भन्छिन्, ‘म पहिला बाहिर आएर राजनीति गरेँ। शेखर दाले सानबुबासँग बसेर राजनीति गर्नुभयो। सानबुबालाई सघाउनुभयो। उहाँ त्यहाँ रहँदा आफ्नो दलभित्रको खिचातानी मिलाउने, माओवादी वार्ता र विदेशी समन्वय सबै गर्नुभयो, त्यसले उहाँमा परिपक्वता आएको छ।’

डा. शेखर युवालाई पनि यही सिकाउँदै छन्। युवामाझ पुग्दा उनी भन्ने गर्छन्, ‘रिसाएर नबोल्नू, धेरै र सीधा गाली नगर्नू, लोकतान्त्रिक विधि मान्नू, सबैलाई समान व्यवहार गर्नू, दाउपेचको राजनीति नगर्नू।’ यस्तै उनी राजधानी काठमाडौँमा सीमित रहँदा संगठनमा धेरै कुरा गुम्न सक्नेमा सजग छन्।

उनी भन्छन्, ‘काठमाडौँको अवस्था बुझ्नपर्छ। तर बाहिर कम आँक्न हुन्न। सबै एलिट पल्टिँदा मुलुक टाट पल्टिसकेको छ। यसमा सुधार गर्न आवश्यक छ। नेपाल भनेको काठमाडौँ मात्र होइन।’

आफ्नैबाट असहयोग

राणासँग लड्ने र विराटनगर सहर बसाउने कृष्णप्रसादका नाति-नातिना पुस्तामध्ये डा. शेखरले त्यो विरासत धान्न सक्ने संकेत देखिएको छ। यो कुरा कोइराला परिवारकै सुजाताले पनि स्वीकार गर्दै आएकी छन्। उनी भन्छिन्, ‘शेखर दामा सानबुबा (गिरिजाबाबु) को जस्तो अब्बल राजनीतिक घ्राणशक्ति छ।’

तर शेखरलाई परिवारभित्रैका डा. शशांक र सुजाताले साथ दिएका छैनन्। राजनीतिमा लाग्दा सुरुका वर्षमा सुजाताको सक्रियता निकै थियो। पछिल्लो समय उनी आफ्नै कारण ओझेलमा परिन्। सुजाताको दबदबा रहेको कांग्रेसमा डर हुन्थ्यो, ‘उनले के बोल्लिन्?’ स्वास्थ्यका कारण पनि अब सुजाताको राजनीतिक सक्रियता बढ्ने देखिँदैन।

सुजाताले कांग्रेसको १४औँ महाधिवेशनमा डा. शेखरलाई साथ दिइनन्। बरु आफूले टिकट पाएको भन्दै प्रकाशमान सिंहलाई सघाइन्। सिंहकै प्यानलबाट उपाध्यक्ष पदमा निर्वाचन लडिन्। दोस्रो चरणमा उनले देउवालाई सघाइन्।

त्यति बेला सुजाता र शशांकलाई मिलाउन शेखरले प्रयास नगरेका होइनन्। तर सफल भएनन्। उनले भनेका थिए, ‘परिवारको कुरा भित्रै हुन्छ। यता लगाउने सामर्थ्य बाहिर लगाउँछु।’ सुजाता अहिले पनि सक्रिय भएर लाग्ने हो भने शेखरलाई थप आडभरोसा मिल्ने कोइराला परिवार बुझेका नेताहरू बताउँछन्।

जसरी कोइराला निवासमा पर्खाल लाग्यो त्यसैगरी एउटै परिवारका यी तीन नेताको आत्मीयतामा पर्खाल लागेको छ। यद्यपि उनीहरूलाई मिल्न नदिन केही स्वार्थ समूहको भूमिका रहेको कोइराला परिवारकै सदस्यहरू बताउँछन्। सुजातालाई कोइरालाविरोधी पक्षले रणनीतिक रूपमा प्रयोग गरिरहे पनि उनलाई त्यो चेत छैन। गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ-२ मा मिनेन्द्रले दाबी गरेको टिकट सुजातालाई दिएर क्षेत्र नम्बर-६ मा शेखरलाई हराउने रणनीति तय भएको थियो। तर शेखरले आफ्नै मेहनतले कमाएको ख्याति त्यस्तो तिकडमबाट किन लरबराउँथ्यो र?

सुजाता सधैँ शेखरविरुद्ध हुन्छिन्। जहाँबाट निर्वाचन लडिन् त्यो कोइरालाको क्षेत्र थियो। तर शेखरले मोरङ-२ पनि आफ्नो बनाइसकेका छन्। सुजाता अर्को गुटमा जाँदा शेखरलाई असहज भएको थियो। सुजाता पक्षले चुनावमा शेखर हराउ अभियान चलाएको स्थानीय नेताहरू बताउँछन्। तर उनी संयम भएर अघि बढिरहे।

राजनीतिक चेत खासै नभए पनि बीपी पुत्र भएकै कारण राजनीतिमा स्थापित डा. शशांकले पनि शेखरलाई सघाइरहेका छैनन्। उनी शेखर विरोधीसँग लहसिने र अस्वाभाविक टिप्पणी गर्नमै व्यस्त छन्। उनी न कार्यकर्ता चिन्छन् न पत्रकार, न त बुद्धिजीवी। सधैँ भेटमा आफ्नो परिचय दिनुपर्ने कार्यकर्ताको गुनासो छ। जानकारहरूका अनुसार बीपीले एकपटक भेटेको मानिस कहिल्यै बिर्सँदैनथे। शशांक त्यस्ता रहेनन्। शशांकमाथि विश्व परिवेश र मुलुकभित्रको राजनीतिबारे खासै ध्यान नदिने आरोप लाग्ने गरेको छ।

कांग्रेस महामन्त्री गगन थापाले एउटा कार्यक्रममा डा. शशांकलाई लक्ष्य गर्दै भनेका छन्, ‘बीपीको रगतले मात्र हुँदैन बीपीको जस्तो त्याग र चरित्र चाहिन्छ।’ उनले त्यो भन्नुको कारण थियो शशांकको यस्तै शिथिलता। धेरैले भन्छन्, ‘बीपीको पुत्र भएर मात्र हो। नत्र खै के कारण छ र उनलाई अघि सार्नुपर्ने? उनलाई पनि स्वार्थ समूहले जे गरे पनि हुन्छ भनेर च्यापेर हिँडेकाले केही सहजता भएको हो।’ पछिल्लो पुस्ताबाट उदाएका नेताले यसोभन्दा पनि सुजाता र शशांकमा चेत खुलिसकेको छैन।

सुजाताले विराटनगरको निवासमा पर्खाल लगाएर जीपी कोइराला फाउन्डेसनको अफिस राखिन्। त्यसपछि उनी बिस्तारै छायामा परिन्। विराटनगरमा जसरी कोइराला निवास खण्डित भएको छ, दाजुभाइ र बहिनीमा पनि त्यस्तै देखिन्छ। कोइराला परिवार पहिले एकताको प्रतीक थियो, अहिले तिक्तताको थुप्रोबाहेक केही नभएको मोरङ कांग्रेसका नेताहरू बताउँछन्।

आफूविरुद्ध अभियान चलाउँदा पनि अघि बढेका शेखरले घामपानी सबै सहिसकेका छन्। आफ्नै परिवारका कारण २०७४ को निर्वाचन हार्नुपरेको पीडा उनीसँग छ।

पार्टी सभापतिको तयारी

डा. शेखर आगामी महाधिवेशनमा पार्टी सभापति बन्ने तयारीमा सक्रिय छन्। उनी अघिल्लो महाधिवेशनमा देउवासँग पराजित भएका थिए। महामन्त्री गगन थापाले पनि एक कार्यकाल शेखरलाई नै अघि सानुपर्ने अवस्था रहेको बताइरहेका छन्।

पार्टी सभापति देउवा श्रीमतीलाई पद सुरक्षित राख्न चाहन्छन्। सोही कारण उनले डा.शेखरलाई नै साथ दिने संकेत पाएर महामन्त्री थापाले त्यसो भनेका हुन सक्छन्। पटकपटक गुट परिवर्तन गर्दै आएका थापाले यसपटक ध्यान पुर्‍याउन सकेनन् र मझौला कोटरीमा परे भने साँच्चै असजिलोमा पर्नेछन्।

देउवा पनि गिरिजाप्रसादबाट प्रशिक्षित हुन्। तर उनले गिरिजाप्रसादलाई चुनौती दिएर पार्टी फुटाए। त्यसको नाफा अहिले पनि छिन्न्नभिन्न भएका कम्युनिस्ट पार्टीलाई भएको जानकारहरू बताउँछन्। यस्ता घटना केलाएर आफ्नै परिवारमा थपिएका बार र पर्खाल भत्काउन डा. शेखरलाई सजिलो छैन। तर उनले पार्टीलाइै मनैदेखि एक ढिक्का बनाउने काम गर्लान् भन्ने अपेक्षा धेरै कार्यकर्तामा छ।

‘पार्टीमा आन्तरिक प्रतिस्पर्धा त हुन्छ तर यहाँ दुस्मनी हुन थालिसक्यो,’ डा. शेखरले भने, ‘नेताबीच बोलचाल नहुने कांग्रेसलाई नै हराउने गरी अन्तरघात मौलाएको छ। यसलाई बेलैमा सन्तुलनमा राखेर अघि नबढे समस्या बल्झने अवस्था छ।’

शेखर पनि युवालाई साथ लिएर अघि बढ्नुपर्छ। त्यसको अर्थ पुराना र पाका नेतालाई पाखा लगाउने भन्ने होइन। जो जुझारु भएर पार्टीमा सक्रिय छन् उनीहरूको साथ लिनैपर्छ। यही नै हो राजनीति अनि सफलता। युवाले पनि किन मलेसियामा पटकपटक तिनै बुढा महाथिरको माग भयो भन्ने कुरा बुझ्नुपर्छ।

प्रकाशित: १० भदौ २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =