धरानवासीलाई एकता र सद्‌भावका पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

हिमाल प्रेस ९ भदौ २०८० २१:५३
12
SHARES
धरानवासीलाई एकता र सद्‌भावका पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरानवासीलाई एकता र सद्भावका पक्षमा उभिन अपिल गरेका छन्। यस्तै उनले धरानमा उत्पन्न समस्या समाधानका निम्ति आआफ्नो ठाउँबाट सम्भव पहल लिनु धरानवासीलगायत सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ यस्तो अपिल गरेका हुन्। प्रचण्डले समाजमा उत्पन्न विमतिहरूलाई संवादका माध्यमबाट समाधानमा पुर्‍याउन राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरेका छन्।

उनले केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाएका छन्। उनले भनेका छन्, ‘हरेक समस्या, विमति र चुनौतीलाई संवाद, सहमति र सहकार्यका बलमा समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ।’

धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादका माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीले त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा अपिलल गरेका छन्। ‘कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ’, प्रचण्डको अपिलमा उल्लेख छ।

संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको स्पष्ट पारेका छन्।

मानिस जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिस भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसक्ने प्रधानमन्त्रीको अपिलमा उल्लेख छ। ‘तसर्थ हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ’, अपिलमा उल्लेख छ।

धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ। उनले भनेका छन्, ‘एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ। त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु।’

प्रकाशित: ९ भदौ २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =