पुस्तक चर्चा

चार कूटनीतिज्ञ : विस्मृत इतिहासको संहिताकरण

रमेशप्रसाद खनाल ९ भदौ २०८० ९:३१
236
SHARES
चार कूटनीतिज्ञ : विस्मृत इतिहासको संहिताकरण

कूटनीतिक कर्म कलामा निपुण, कौशलयुक्त, दक्ष र सक्षम कूटनीतिक संयन्त्र राष्ट्रको स्वतन्त्र अस्तित्वका निमित्त एक अपरिहार्य तत्त्व मानिन्छ। यसैकारण कुनै पनि राष्ट्रको गैरसैनिक प्रथम सुरक्षा घेराको रूपमा काम गर्ने भएकाले कूटनीतिलाई विशिष्ट सेवाको रूपमा विकसित गर्ने र मान्यता दिने गरिन्छ।

राष्ट्रको कूटनीतिक संयन्त्र, यसको गठन र कार्यशैली समय, परिस्थिति, देशविदेशको विकसित घटनाक्रम र त्यसले सिर्जना गर्ने परिवेशका आधारमा परिवर्तित हुँदै परिस्थितिको जटिलता आत्मसात् गर्ने र सिर्जित जटिलता सामना गर्न सबल एवं सक्षम संगठनमन रूपमा यसलाई विकसित गरिएको हुन्छ।

परराष्ट्र सम्बन्ध वा वैदेशिक नीतिमा परिवर्तन र निरन्तरता(change and continutiy) को सिद्धान्तलाई आत्मसात् गर्ने यो संयन्त्रको सामु छिटोछिटो फेरिने विश्व तथा क्षेत्रीय राजनीतिक शक्तिका समीकरण, यसका कर्ता (actors) र तिनले लिने कदम( posture) को सही पूर्वानुमान (prediction) गरेर आफ्नो राष्ट्रिय हित संरक्षित गर्न होस् वा यस प्रकारको परिवर्तनले लिने दुरगामी दिशाको सही पहिचान गर्ने चुनौतीपूर्ण कार्यको अभिभारा बोकेको हुन्छ।

वर्तमान विश्वमा द्रुतगतिमा हुँदै गएको सूचना, सञ्चार र यातायातको अभूतपूर्व विकासले अन्तर्राष्ट्रिय, क्षेत्रीय र छिमेकका समसामयिक घटनाक्रमको आकलन, विश्लेषण र संश्लेषण गर्न र सोबमोजिम देशको चासोका विषय चुस्तदुरुस्त राख्न सहज देखिए पनि सूचना र सञ्चारको बाढीले ल्याइरहेको विसंगतिहरूसँग सामना गर्न सक्ने थप कार्यमुखी (pro-active) बन्नुपर्ने अवस्था सिर्जना भएको छ।

स्मार्ट फोनको युगमा स्मार्ट कूटनीतिको अपेक्षा गर्नु अस्वाभाविक होइन। अब परम्परागत कूटनीतिक कर्मले मात्र राष्ट्रको अभीष्ट प्राप्त हुन सक्छ भन्न नसकिने अवस्था भएकाले समयको मागबमोजिम आफ्ना कार्यनीतिहरू पनि परिवर्तित गर्दै जानुपर्ने भएको छ। एक देशसँगको सम्बन्धले अर्को देशसँगको सम्बन्धमा असर नपरोस्, प्रभावित नहोस् र एक देशसँगको चासोका विषय अर्को देशसँग बाझिने वा विपरीत हुने वा एकसँगको कारणले अर्कोसँग द्वेष सिर्जना नहुने गरी संवेदनशीलताका साथ पाइला चाल्ने कार्य (fine treading) नै कूटनीतिक कौशलताको कसी हो।

कूटनीतिक कर्ममा ‘फुकी फुकी पाइला चाल्नु’ पर्ने भएकाले यस कर्ममा वर्षौँ तालिम पाएका, यसै कर्ममा जीवन बिताएका र आफ्नो देशको मात्र होइन अन्तर्राष्ट्रिय सम्बन्धका बदलिँदो धारहरूबारे अध्यावधिक ज्ञान राख्दै सबै पक्षलाई समेट्न सक्षम कूटनीतिका निपुण जनशक्तिको विकास हुन अपरिहार्य छ। यस्तै जनशक्तिबाट नै राष्ट्रको समग्र हित, स्वार्थ र चासोका विषय सन्तुलित रूपमा संरक्षित गर्न, प्रवर्धन गर्न र विस्तार गर्न सम्भव हुन्छ।

नेपालको एकीकरणपश्चात् पृथ्वीनारायण शाहको जैसीकोठा, इतिहासको विभिन्न कालखण्डमा मुन्सिखाना अनि परराष्ट्र विभाग नामकरण हुँदै नेपालको कूटनीतिक कर्म थलोको केन्द्रमा रहेको परराष्ट्र मन्त्रालय विगत करिब २५० वर्षदेखि एक ऎतिहासिक विरासत बोकेको संगठनका रूपमा छ।

यसै केन्द्रको मुख्य कूटनीतिज्ञ भएर राष्ट्रलाई योगदान दिएका तर इतिहासका पानामा हराएका व्यक्तित्वहरू, उनीहरूको समयको सामाजिक, राजनीतिक, आर्थिक अनि खासगरी कूटनीतिक पक्षहरूको तथ्यगत संकलन र विश्लेषण गरिएको ‘चार कूटनीतिज्ञ’ नामक कृति हालै प्रकाशित र लोकार्पित भएको छ। नेपालका २० औँ परराष्ट्र सचिव तथा राजदूत डा. मदनकुमार भट्टराईद्वारा लिखित यो कृति विगतमा नेपालको परराष्ट्र संयन्त्र सफलतापूर्वक हाँकेका चार सचिवहरूको विषयमा केन्द्रित छ। परराष्ट्र अध्ययन प्रतिष्ठानले प्रकाशित गरेको यो पुस्तक यो प्रकारको पहिलो पुस्तक हो जसमार्फत नेपाली कूटनीतिक इतिहासको पृष्टभूमिमा रहेर काम गर्ने कर्ताहरू(actors) को योगदान, व्यक्तित्व, उनीहरूका उपलब्धि वा कमीकमजोरीको (contributions) को तर्क, तथ्य र प्रमाणसहित संहिताकरण गर्ने प्रयास गरिएको छ।

नेपालको कूटनीतिक इतिहासका पात्रहरूका विषयमा लगातार खोज, अनुसन्धान र सत्य तथ्य संकलन गरी यस प्रकारको ग्रन्थ सिर्जना गर्नु सहज कार्य होइन। व्यक्तिको विषयमा निरपेक्ष भएर लेख्न र सोहीबमोजिम तथ्यहरू संकलन गर्नु पनि निकै कठिन कार्य हो। यो एक प्रकारको तपस्या नै हो।

अन्ततः यसै तपस्याको प्रतिफल सिर्जना भएको यो कृति नेपालको कूटनीतिक इतिहासको विकासक्रममा दोस्रो परराष्ट्र सचिव रामप्रसाद मानन्धर, तेस्रो शोभागजंग थापा, छैटौँ पद्मबहादुर खत्री र सातौँ झरेन्द्रनारायण सिंहको जीवन, कार्यकालका उपलब्धि, कमीकमजोरी एवं अन्य सम्बन्धित विषय वा प्रसंगहरूका बारेमा राणाशासनदेखि प्रजातन्त्र हुँदै पञ्चायती व्यवस्थासम्मको नेपालको इतिहासको महत्त्वपूर्ण कालखण्डको कूटनीतिक इतिहासको जीवन्त दस्ताबेज बनेको छ यो कृति। परराष्ट्र मन्त्रालयको सचिवमा हालसम्म २४ परराष्ट्र सचिवको नामावली (हेर्नुस् तालिका: १) भए पनि यस पदमा पद्मबहादुर खत्री र यदुनाथ खनाल दुई/दुई पटक सचिव भएको समेत जोड्दा २६ पटक पराराष्ट्र सचिव भएको देखिन्छ।

१९४५ मा द्वितीय विश्वयुद्धको समाप्तिसँगै विश्वका शक्ति राष्ट्रका उपनिवेश बनेका वा अन्य प्रकारले उत्पीडित बनेका राष्ट्र र जनतामा स्वतन्त्रताप्रति आएको जागरणको लहरले नयाँ राष्ट्रहरू स्वन्तन्त्र हुने क्रम बढ्यो। १९४७ मा एसियाबाट नै ब्रिटिस साम्राज्यको अवसानको सुरुवात र भारतमा आएको प्रजातन्त्र र खुलापनसँगैको शासकीय परिवर्तनले तत्कालीन ब्रिटिस साम्राज्यसँग निकट सम्बन्ध कायम गरिरहेका राणा शासकहरू आफ्नो शासनसत्तालाई निरन्तरता दिने अभिलाषा राख्नुपर्ने रक्षात्मक स्थितिमा पुगेको फलस्वरूप १९५० मा स्वतन्त्र भारतसँग शान्ति र मैत्री सन्धि गरेर नयाँ भारतको समर्थन कायम राख्ने उद्देश्यका साथ गरिएको प्रयासका रूपमा पनि विश्लेषण गर्ने गरेको पाइन्छ।

अर्कोतर्फ देश छोडेर गएका राजा र भारतमा बसेर नेपालमा राजनीतिक परिवर्तनको निमित्त कार्यरत नेपाली राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने र तत्पश्चात् सिर्जना हुने नयाँ राजनीतिक परिदृश्यमा आफ्नो हित संरक्षित गर्न थप सहज हुने भारतको आकलनसहित १९५१ को राजनीतिक परिवर्तनसँगसँगै सुरु भएको जटिल परिस्थितिको पृष्ठभूमिमा नेपालको परराष्ट्र संयन्त्र एक प्रकारको संक्रमणकालबाट गुज्रिरहेको थियो। नेपाली इतिहासको यस जटिल मोडदेखि राजा ज्ञानेन्द्रको शासनकाल( १९५१-२००८) सम्म कुनै न कुनै रूपमा नेपालको वैदेशिक सम्बन्धको नीत निर्माण, सञ्चालन र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेका पात्रहरूका विषयमा उनीहरूको कूटनीतिक क्षमता, सफलता-असफलता, योगदान र उपलब्धि आदि विषयहरू विशद रूपमा समेटिएको यो पुस्तकले नेपालको विस्मृत कूटनीतिक इतिहास लेखन, संकलन र उत्खनन गर्ने कार्यमा नि:सन्देह एक नयाँ अध्याय थपेको छ।

‘चार कूटनीतिज्ञ’ मा समाविष्ट व्यक्तित्वहरू

यस पुस्तक ‘चार कूटनीतिज्ञ’ मा समावेश भएका प्रथम व्यक्तित्व हुन् परराष्ट्र सेक्रेटरी (सचिव) रामप्रसाद मानन्धर। तत्कालीन समयमा राणा भाइभारदारले मात्र हासिल गर्न सक्ने उच्च पदमा मानन्धर आफ्नो मिहेनत र प्रतिभाको प्रतिफल नै त्यो स्थान हासिल गर्न सक्षम भएका थिए भन्नेमा कुनै शंका छैन। नेपालको बदलिँदो नयाँ राजनीतिक परिवेशमा सर्वसाधारणबाट यति उच्च स्थानको पदमा नियुक्ति हुने पहिलो व्यक्ति र परराष्ट्र संयन्त्रको दोस्रो परराष्ट्र सचिवका रूपमा मिरसुब्बा प्रा. रामप्रसाद मानन्धर बन्न पुगे।

मानन्धरमा रहेको असाधारण क्षमताको मूल्यांकन गरेर नै राणा शासकहरूले ‘पत्याएको’ व्यक्तिमा गनिएको हुनुपर्छ। पुस्तक पढ्दै जाँदा थोरै पढेलेखेका मान्छेहरूको बीचमा उच्च अध्ययन गर्ने र उत्कृष्ट प्रतिभा भएका व्यक्तिलाई अवसर दिन तत्कालीन शासक वर्ग तयार रहेछन् भन्ने देखिन्छ। कूटनीतिजस्तो संवेदनशील विषयले राष्ट्रको अस्मिता, स्वाधीनता र सार्वभौम अस्तित्वको रक्षा गर्ने पहिलो नागरिक सुरक्षा घेरा हुने भएकाले राज्य सञ्चालनमा शासकले विश्वास गरेका वा ‘पत्याएका’ व्यक्तिले नै प्रतिनिधित्व गराउने प्रचलन भए पनि क्षमता र प्रतिभाको कदरस्वरूप उनको नियुक्ति भएको स्पष्ट छ।

जनवरी ८, १९१४ मा जन्मिएका मानन्धर अंग्रेजी भाषाका प्रकाण्ड विद्वान् मानिन्थे। उनले १९३६ देखि १९४९ सम्म १३ वर्ष त्रिचन्द्र कलेजमा प्राध्यापन गरेपछि १९४९ मा लन्डनस्थित नेपाली दूतावासमा पहिलो काउन्सेलर पदमा ३ वर्ष कार्यरत रहँदै गर्दा उनको प्राध्यापनबाट औपचारिक रूपमा कूटनीतिक सेवाको यात्रा सुरु भएको थियो। मानन्धर १९५३-५४ मा परराष्ट्र सचिव नियुक्त भई छोटो समयका लागि सेवामा रहे।

१९५५ मा इन्डोनेसियाको बाङडुङमा आयोजित सम्मेलनमा उपनेताका हैसियतमा सहभागी हुनु पनि उनको अर्को महत्त्वपूर्ण कूटनीतिक कर्म थियो। १९५५ अक्टोबर १४ मा शिक्षा सचिव रहँदा जगेडामा राखिएका उनलाई १९५६ फेब्रुअरीमा बेलायतको निमित्त राजदूत पदमा भएको नियुक्तिसँगै उनको कूटनीतिक सेवा पुन: सुरुवात भएको पाइन्छ।

सेप्टेम्बर १९६२ मा साढे ६ वर्षको राजदूत कार्यकाल सकेर नेपाल फर्केपछि केही महिना परराष्ट्र मन्त्रालयमा जगेडामा राखिएका उनी ४८ वर्षको उमेरमा सेवा निवृत्त भएका थिए। प्राज्ञिक कार्यका अलावा धर्म, संस्कृति र सभ्यता सम्बन्धमा रुचि, ज्ञान र विद्वत्ता भएका मानन्धरले १९८६ मा न्युयोर्कमा आयोजित धर्मसम्बन्धी विश्व सम्मेलनमा बौद्ध धर्मबारे कार्यपत्र पेस गरेका थिए भने १९८७ मा क्यानाडाको लेक लुईमा हिन्दु धर्मसम्बन्धी कार्यपत्र पेस गरेका थिए। यसैगरी अप्रिल १९८८ मा ध्यान (मेडिटेसन) बारे फ्लोरिडाको कि वेस्टमा कार्यपत्र पेस गरेका मानन्धरको निमित्त त्यो नै उनको जीवनको अन्तिम उल्लेखनीय काम हुन पुग्यो किनकि अक्टोबर ९, १९८८ मा उनको निधन हुन गयो। यसरी एक होनहार नेपाली प्रशासक, कूटनीतिज्ञ तथा विद्वान्‌को अवसान भयो।

बेलायतमा साठीको दशकमा उनी कार्यरत रहँदा नेपाल-बेलायतको द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण भ्रमणहरू आदानप्रदान भएको देखिन्छ। राजा महेन्द्रको संयुक्त अधिराज्यको राजकीय भ्रमण र बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपालको राजकीय भ्रमण हुनु कूटनीतिक हिसाबमा दुरगामी महत्त्वका थिए।

त्यसै अवधिमा रुसका लागि पहिलो गैरआवासीय राजदूतका रूपमा रुससँग उनले बढाएको सम्बन्ध सुधारका पहलहरू उल्लेखनीय छन्। राजा महेन्द्रको रुस भ्रमण हुँदा उनको क्षमताको राजाद्वारा प्रशंसा भएको थियो। सो अवसरमा नेपाल-रुस सहयोग सम्झौताको सूत्रधार र सोमा हस्ताक्षर भएको थियो। मानन्धर विद्वत्ता, भद्रता र शिष्टताका लागि चिनिन्थे तर प्रशासनिक मामिलामा कमजोर देखिए भन्ने लेखकको भनाइले छोटो समयका लागि परराष्ट्र सचिव रहँदा ‘कूटनीतिक महत्त्व’ को उल्लेखनीय काम नभएकाले लेखकले उनको कार्यकाललाई ‘नन-इभेन्टफुल’ भन्न चाहेका छन्।

तत्कालीन समयमा त्यति उत्कृष्ट शैक्षिक उच्चता, योग्यता र अनुभव सँगालेका व्यक्तित्व मानन्धर बाङडुङ सम्मेलनमा उपनेताका रूपमा सहभागी, नेपालको दोस्रो परराष्ट्र सचिव, बेलायतमा राजदूत र विश्वका भिभिन्न मन्चमा पूर्वीय दर्शन र धर्म आदिको प्रस्तोता भई बाँचुन्जेल नेपाल प्रवर्धन गर्ने कार्य गरिरहेको एक कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाउने वरिष्ठ प्राज्ञिकका रूपमा पहिचान स्थापित गर्न सफल देखिन्छन्।

‘चार कूटनीतिज्ञ’ मा समाविष्ट तेस्रा परराष्ट्र सचिव मेजर जनरल शोभागजंग थापा उच्च भारदार खलक, वैदेशिक सम्बन्धको राम्रो विश्लेषक र ज्ञाता मानिन्छन्। नोभेम्बर १२, १९१० मा जन्मिएका थापा सैनिक पृष्ठभूमिबाट आएका बेलायतमा सैनिक सहचारी र भारतमा समेत लामो समय नियोगमा काम गरेको अनुभव भएका व्यक्ति थिए। १९३४ मा आफ्नो पिता दिल्लीस्थित वकिलको कार्यालयमा नियोग प्रमुख हुँदा उपनियोग प्रमुख र पिता नेपाल फर्केपछि २१ वर्षको उमेरमा नियोग प्रमुख भई काम गरेको अनुभव थियो। बाबुछोरा एकै नियोगमा नियोग प्रमुख र उपप्रमुख बनाइएको इतिहासमा यो सायद पहिलो थियो। १९३४ मा लन्डनमा खुलेको पहिलो नेपाली दूतावासमा नेपालको पहिलो सैनिक सहचारीका रूपमा उनी १९३४ देखि १९३७ सम्म त्यहाँ कार्यरत रहे।

तत्कालीन समयमा सञ्चारको प्रमुख साधनमध्ये एक हुलाक सञ्चार आदानप्रदानको मुख्य र एक संवेदनशील माध्यम मानिन्थ्यो। नेपालको बाह्य संसार खासगरी भारतसँगको चिठीपत्र आदानप्रदान गर्ने विषय एक प्रकारले ‘अर्ध-कूटनीतिक’ कर्म रहेकोले १९५०-५१ सम्म हुलाक डाइरेक्टरको पदमा कार्यरत रहनु पनि कूटनीतिक हिसाबले महत्त्वकै थियो। प्रधानमन्त्री मोहनशमशेर निकट मानिएका उनलाई १९५० को डिसेम्बरमा नेपाल आएको बेलायती उच्च टोलीसँग वार्ता गर्न खटाइएको थियो। भलै सो समयमा परराष्ट्र विभागका प्रमुख तथा पहिलो परराष्ट्र सचिवमा सरदार नरेन्द्रमणि आचार्य दीक्षित थिए।

यसैको निरन्तरता देखिन्छ जब १९५० को सुरुमा प्रधानमन्त्री मोहनशमशेरको भारत भ्रमणका दलका सदस्यमा बाबु चन्द्रजंग र छोरा शोभागजंग सम्मिलित गरिन्छन्। १९५१ को राजनीतिक परिवर्तनपछि सेनामा पुनर्गठन गरिने क्रममा मेजर जनरल पदमा पदोन्नति र रक्षा मन्त्रालय गठन हुनासाथै पहिलो रक्षा सचिवमा नियुक्त भएका उनकै पाला फेब्रुअरी २७, १९५२ भारतीय सैन्य ‘शिष्ट मण्डल’को नेपाल आगमन भएको थियो।

पराराष्ट्र मन्त्रालयको कार्य क्षेत्र, भूमिका र महत्त्वलाई पहिलेदेखि नै राजनीतिक नेतृत्वले नजरअन्दाज गर्दै आएको उदाहरण भारतीय मिसनको नेपाल भ्रमण, वार्ता होस् वा नेपालको ‘परराष्ट्र तथा रक्षा सम्बन्ध भारतले हेरिदिने’ खालको भारतीय प्रस्ताव होस् यस्ता विषयमा तत्कालीन पराराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षित र परराष्ट्र मन्त्रालयलाई सहभागी नगराउने गरिएको खुलासा पुस्तकमा भएको पाइन्छ। ठूल्ठूला कूटनीतिक, सामारिक र वैदेशिक सहयोगसम्बन्धी दुरगामी महत्त्वपूर्ण निर्णयहरूमा भूमिका शून्य वा नगण्य राखिनुले मन्त्रालयको साख घट्दै गएको स्पष्ट नै छ।

नेपाल-भारत शान्ति तथा मैत्री सन्धि-१९५० का विषयमा प्रधानमन्त्री मोहनशमशेरले ‘कमा, फुलिस्टप केही मिलाउने भए हेर, अरू जेजस्तो आएको छ त्यसैमा हस्ताक्षर गर्ने हो’ भन्ने आशयको आदेश दिएको भन्ने उल्लेख भएको पढेपछि नेपालको कूटनीतिक संयन्त्रको स्थिति सहजै बुझ्न सकिन्छ। यसै सन्दर्भमा पहिलो परराष्ट्र सचिव सरदार नरेन्द्रमणि आचार्य दीक्षितले किन राजीनामा दिए, उनको कार्यकाल कस्तो रह्यो र नेपालको एकदम जटिल राजनीतिक परिवर्तनको समयमा रहेको उनको योगदान वा उपलब्धि के के थिए भन्ने जान्न भने लेखकको चाडै प्रकाशित हुने दीक्षितबारेको सिंगो पुस्तक नै पर्खनु र्ने हुन्छ। राजनीतिक घटनापरिघटना छिटोछिटो फेरिँदै गरेको अवस्थामा थापा अक्टोबर १४, १९५५ मा  दोस्रो पटक रक्षासचिवमा सरुवा भए। जुलाई २५, १९५९ मा रक्षा सचिवमा कायमै रही क्याबिनेट सेक्रेटरी (मुख्य सचिव) भए। तर राजा महेन्द्रले शासन आफ्नो हातमा लिएपछि फेब्रुअरी ८, १९६१ मा भएको प्रशासनिक पुनर्गठनमा उनी अवकाशमा परे।

अप्रिल १९५५ मा बाङडुङमा आयोजित एसियाली र अफ्रिकी मुलुकहरूको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाउनु थापाको कार्यकालको एक अत्यन्त महत्त्वपूर्ण उपलब्धि थियो। उक्त सम्मेलन विश्वलाई नेपालको अखण्डता, स्वतन्त्र पहिचान र सार्वभौम अस्तित्वको परिचय दिने एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च थियो र त्यो मञ्चको सदुपयोग गरेका थिए थापाले। यस सम्मेलनमा नेपालको यस तहको प्रतिनिधित्वको महत्त्वलाई कम आँक्न सकिँदैन तथापि तत्कालीन नेपालको उच्च राजनीतिक तहबाट सहभागिता भएको भए नेपालको हित प्रवर्धनमा अझ बल पुग्ने थियो भन्नेमा कुनै शंका थिएन।

राणाकाल, त्यसको अवसानको अन्तिम घडीदेखि प्रजातन्त्रको उदय भएर संक्रमणमा रहेको देशको परराष्ट्र, रक्षा, मुख्य सचिवसमेत भई काम गर्नु एक चुनौतीपूर्ण अवस्था थियो। राजनीतिले आक्रान्त गरेको परिवेशमा कार्यक्षमताले होइन व्यक्तिको लगाव हेरेर उत्थान र पतन हुने प्रक्रिया सामान्य हो र यसै घानमा सायद उनी पनि परेर अवकास दिने निर्णय भएको पनि हुनसक्छ। ५० वर्षमा नै अवकाश भएकाले प्रशासन, कूटनीति र मुख्य सचिव जस्तो उच्च प्रशासनिक पदमा रहेर काम गरेको अनुभव र क्षमता उनले पूर्ण रूपमा प्रयोग गर्न पाएनन्। परिवर्तित राजनीतिक सन्दर्भका कारण नै होला क्षमतावान् भएर पनि उनलाई राजदूतमा समेत मनोनयन गर्ने आवश्यकता नदेख्नु तत्कालीन सरकारले उनीप्रति दर्शाएको अर्घेल्याइँ नै थियो सायद। परराष्ट्रसचिव भएर पनि राजदूत हुन नपाएका परराष्ट्र सचिवमा उनी दोस्रो व्यक्तिका रूपमा इतिहासमा दर्ज भएर रहन गए। नेपालको वैदेशिक सम्बन्ध र रक्षा क्षेत्रमा गहन योगदान दिएका थापालाइ किन राजदूत पदको नियुक्तिबाट वञ्चित गरिएको होला भन्ने प्रश्न भने अनुत्तरित रहन गएको छ; यस पुस्तकमा पनि ठोस कारण खोतलिएको पाइँदैन।

शोभागजंगको सन्दर्भका क्रममा लेखकले पुस्तकमा ‘नेपालबारे नेहेरुको दृष्टिकोण र नेहेरू-बीपी व्यक्तित्व टकराव’ शीर्षकमा चर्चा गरेको देखिन्छ। तत्कालीन समयको भूराजनीतिक चुनौती र नेपाल-भारत सम्बन्धको उतारचढाव र नेहरूको नेपालप्रतिको धारणा विषयमा विस्तृत रूपमा सन्दर्भ सामग्रीसहित वर्णन गरिएको हुँदा नेपाल-भारत सम्बन्धका विविध पक्ष बुझ्न पाठक थप लाभान्वित भएका छन्। त्यस्तै ‘प्रा. नरेशमान सिंह’ नामक शीर्षकमा चर्चा गरिएको विषय पनि नेपालको कूटनीति र प्रशासनमा योगदान दिएका अर्का एक विशिष्ट व्यक्तित्व तथा बाङडुङ सम्मेलनमा नेपालका तर्फबाट सहभागी पाँचौँ प्रतिनिधिको योगदानको उल्लेखन प्रशंसनीय छ। बाङडुङ सम्मेलनका प्रतिनिधिमण्डलका ५ सदस्यमा नेता शोभागजंग, रामप्रसाद, पद्मबहादुर र नरेशमानबारे यसै पुस्तकमा विस्तृत चर्चा गरिएको छ। बाँकी एक सदस्यमा यदुनाथ खनालबारे लेखकको अर्को बेग्लै पुस्तक प्रकाशोन्मुख छ।

१४ महिना मात्र पराराष्ट्र मन्त्रालयको शीर्ष पदमा रहेर काम गरेका थापा बाङडुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको तत्कालीन परिवर्तित राजनीतिक अवस्था, नेपालको स्वतन्त्र अस्तित्व, सार्वभौमिकता र अखण्डताबारे एसिया र अफ्रिकाका भर्खर उपनिवेशबाट मुक्त भएका राष्ट्रहरूलाई पहिचान गराउने एवं नेपालको शान्ति, स्थायित्व र विकासप्रतिको झुकाव, नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा असंलग्न धारणाको परिचय दिन सफल भएको मान्नुपर्दछ। यसैगरी थापाको अर्को महत्त्वपूर्ण योगदान भने उनको कार्यकालमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय परम्परागत रूपमा चीनसँग रहेको नेपालको द्विपक्षीय सम्बन्धलाई विधिवत् स्थापना गर्ने दुरगामी महत्त्वको कार्य सम्पन्न भएको थियो। भारतसँग १९५० मा शान्ति तथा मैत्री सन्धि हुँदा पनि कुनै न कुनै रूपमा योगदान गरेका थापाको चीनसँगको सन्धिमा पनि प्रत्यक्ष संलग्नता हुनु अर्को एक संयोग नै देखिन्छ।

‘चार कूटनीतिज्ञ’ मा परेका तेस्रा व्यक्तित्व हुन् परराष्ट्र सचिव सरदार पदमबहादुर खत्री। जुलाई १९, १९१५ काठमाडौँमा जन्मिएका उनी सैनिक र भारदार परिवारको पृष्ठभूमि भएका व्यक्ति हुन्। १९३३ मा सैनिक सेवामा प्रवेश गरेको भनिए तापनि १९३६ मा विधिवत सेनामा सम्मिलित भएका राणा परिवारसँगको गहन सम्बन्ध र सम्पर्क रहेका उनी सेनामा मेजर जनरल, कूटनीतिक सेवामा लन्डन र मलायामा क्रमश: सैनिक सहचारी र सम्पर्क अधिकृत, सयुंक्त राष्ट्र संघ र अमेरिकाका लागि राजदूत, परराष्ट्र सचिव, परराष्ट्र सल्लाहकार र परराष्ट्रमन्त्रीसमेत भए। नेपालको सैनिक सेवाबाट परराष्ट्रसेवामा प्रवेश गरेका खत्री दोस्रो व्यक्ति हुन्। १९४५ देखि १९४७ सम्म लन्डनस्थित नेपाली राजदूतावासमा सैनिक सहचारी भई सेवा गरेका खत्री नेपाललाई सयुंक्त राष्ट्रसंघको सदस्यता दिलाउने कार्यालयको प्रमुख भएर लेखापढीलगायतका काम गरेका थिए।

उनले १९४५ को यूएनको पहिलो साधारणसभामा नेपालका तर्फबाट पर्यवेक्षकका रूपमा भाग लिएका थिए भने १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्य रहेका उनलाई डिसेम्बर ६, १९६२ मा परराष्ट्र सचिवसहित रक्षा सचिवको कार्यभार बोक्ने अभिभारा परेको थियो। अप्रिल ९, १९६४ मा परराष्ट्र सचिव भई ७ महिना मात्र काम गरेका खत्रीलाई नोभेम्बर ८, १९६४ मा संयुक्त राज्य अमेरिकाका लागि राजदूत र संयुक्त राष्ट्रसंघका निमित्त स्थायी प्रतिनिधि पदमा नियुक्त गरिएको थियो।

अमेरिका जानुअघिसम्म परराष्ट्र सचिव पदमा आसीन रहेका खत्रीको कार्यकालमा नेपाल-चीन सीमा सम्झौता एक महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। अगस्त ११, १९६० मा नेपाल-चीन संयुक्त सीमा समितिको नेपाली पक्षको पहिलो अधिवेशनमा नेपाली नेता मेजर जनरल पद्मबहादुर खत्री थिए। पहिले रक्षासचिव र पछि रक्षा तथा परराष्ट्र सचिवका रूपमा उनी सहभागी भई सीमा सम्झौतालाई अन्तिम रूप दिने कार्य सम्पन भएकै कारण नेपाल-चीन सीमा सन्धिमा नेपालका तर्फ बाट श्री ५ महेन्द्र र चीनका तर्फबाट राष्ट्रपति ल्यु साओचीले अक्टोबर ५, १९६१ मा हस्ताक्षर गरेका थिए। त्यसैगरी नेपाल-भारत सम्बन्धलाई सुमधुर बनाउन र थप विकासमा योगदान दिन पनि उनको कार्यकाल सफल भएको मानिन्छ।

१९७२-७५ मा दोस्रो पटक परराष्ट्र सचिव रहँदा राजा वीरेन्द्रको राज्याभिषेकको समय पनि परेकोले उनको सक्रिय कूटनीतिक क्रियाकलाप स्वाभाविक थियो। खत्रीको सन्दर्भको सिलसिलामा लेखकले भारतीय कूटनीतिक र अन्य प्रशासनिक संयन्त्रले नेपालप्रति राख्ने धारणा र लिने वार्ताव कस्तो हुन्छ भन्ने विषयमा पनि घटना र सन्दर्भ सूचीसाथ लामै चर्चा गरेका छन् जुनले नेपाल-भारत सम्बन्धका विभिन्न आयाम बुझ्न मद्दत गर्छ। खत्रीका कतै बिर्सिएका जस्ता लाग्ने कूटनीतिक पाटामा नेपालको शान्ति क्षेत्रको प्रस्तावको अवधारणाको विकासमा उनको महत्त्वपूर्ण भूमिका पनि ओझेलमा पर्न गएको जस्तो लाग्दछ। नेपालको शान्ति क्षेत्रको प्रस्तावमा विश्वका ११६ राष्ट्रहरूको समर्थन भएर पनि त्यो प्रस्ताव मृत बनाइएको कारणबारे पनि केही विस्तारमा लेखकले लेखिदिएको भए पाठक थप लाभान्वित हुने थिए। खत्री १९७५ मा पुन: दोस्रो पटक संयुक्त राज्य अमेरिकाको निमित्त राजदूत पदमा नियुक्त भए। अक्टोबर १०, १९८२ मा परराष्ट्रमन्त्री भएका उनले सयुंक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको तीन पटक नेतृत्व गर्ने अवशर पाए। जुलाई १९, १९८५ मा ७० वर्षको उमेरमा उनको निधन भयो।

तीन पटक राजदूत, २ पटक परराष्ट्र सचिव, परराष्ट्र सल्लाहकार र परराष्ट्रमन्त्री समेत भएर नेपालको कूटनीतिक इतिहासमा अब्बल साबित भएका विशिष्ट योगदान र भूमिका रहेको खत्री कतै आज राष्ट्रले बिर्सिएका एक कूटनीतिज्ञमा त सीमित भएका त होइनन् भन्ने आभास भइरहेको अवस्थामा यस पुस्तकले हामीलाई नेपालको कूटनीतिक इतिहासका यस्ता दिग्गज व्यक्तित्वका बारेमा अभिलिखित गरिदिएर लेखकले हामी जिज्ञासुलाई ठुलो गुन लगाइदिएका छन्।

‘चार कूटनीतिज्ञ’ मा समावेश भएका अन्तिम (चारौँ) कूटनीतिज्ञ हुन्- झरेन्द्रनारायण सिंह। ‘खारिएका कूटनीतिज्ञ : झरेन्द्रनारायण सिंह’ शीर्षकमा लेखकले बझाङी राजपरिवारका सदस्य, शाह वंश र राणा शासकहरूसँगको पारिवारिक घनिष्ठता भएका सिंहको नेपालको कूटनीतिक इतिहासमा प्रदान गरेको योगदान र भूमिकाबारे विस्तारमा लेखेका छन्। नेपालका तत्कालीन समयका वरिष्ठ कूटनीतिज्ञ एवं मामा दमनशमशेरबाट प्रभावित भई यस क्षेत्रमा डोरिएका सिंह नेपालको सातौँ परराष्ट्र सचिव थिए। संक्रमणको अवस्थामा मुन्सिखानामा सेवा प्रवेश गरेका उनले १९५० को दशकमा नयाँदिल्लीस्थित नेपाली दूतावासमा द्वितीय सचिवबाट आफ्नो कूटनीतिक पेसागत कर्म सुरु गरेको देखिन्छ। नोभेम्बर १९५५ मा भारतमा प्रथम सचिव भई कार्य गरेका उनको १९६४ मा मस्कोमा राजदूत भइरहँदा नै परराष्ट्र सचिवमा नियुक्ति भएको थियो।

अगस्ट ६, १९६७ मा भारतको निमित्त नेपाली राजदूतमा नियुक्त भएका उनले १९ महिना कार्यरत रहँदा नेपाल-भारत सम्बन्धमा आउने उतारचढावलाई आफ्नो तवरबाट सामना गर्ने प्रयास गरे। भारतको निमित्त राजदूत भइरहेको अवस्थामा जनवरी २७, १९६९ नयाँदिल्लीबाट इजिप्टको कायरोमा राजदूत पदमा सरुवा भएका सिंह अफ्रिकी महाद्वीपमा पहिलो नेपाली कूटनीतिक नियोग स्थापना गर्ने व्यक्ति भए।  यस कार्यले विश्वमा नेपालको कूटनीतिक उपस्थिति विस्तार गर्न थप मद्दत गरेको मानिन्छ। उनी कायरोबाट फर्केपछि मुख्य सचिवको कार्यालयमा २ वर्ष हाजिर भई सेवा अवधि २५ वर्ष पुगेपछि सरकारी सेवाबाट राजीनामा दिए। सिंहको मार्च १५, २०१८ मा ९४ वर्षको उमेरमा निधन भयो।
उनको कार्यकालका उपलब्धि र योगदानमा उच्चस्तरीय भ्रमणको आदान प्रदान, अरनिको राजमार्गको उद्घाटन आदि पर्छन्। चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको सुरुवात गर्न, तिब्बतसँगको सम्बन्धमा चीनसँग वार्ता सुरुवात गर्न र परराष्ट्र सेवाको पुनर्गठनमा उनको विशेष भूमिका रहेको छ। कूटनीतिक सफलता प्राप्त गर्न विषय (substance) आवश्यक हुन्छ तर यो प्राप्त गर्न आवश्यक हुने सिँगारपटार (style) को पनि महत्त्व हुन्छ।

सिंह सूचना, सम्पर्क तथा शिष्टाचारका विविध विषयमा निपुण भएकाले नेपालको नाम स्थापित गर्न आफ्नै तर्फबाट सफल भएको मान्नुपर्छ। कूटनीतिमा अवलम्बन गर्नुपर्ने विविध पक्षहरू जस्तै- आतिथ्यता, शिष्टाचार विषयमा विशेष रुचि भएका, नेपाल र भारतका तत्कालीन राजारजौटालगायत नेताहरूका विषयमा विशेष जानकार रहेका सिंहको भारतीय उच्च अधिकारीहरूसँगको व्यक्तिगत चिनाजानीले नेपालका चासोका विषयहरू उच्च तहमा उठान गर्न सहज पहुँच पुर्‍याउने कुरामा उनी सफल मानिन्छन्। लेखकले सिंहको सचिवको कार्यकाललाई ‘नेपालको वास्तविक कूटनीतिक उपलब्धिका हिसाबले सामान्य’ रहेको उल्लेख गरेका छन्। मस्को, नयाँदिल्ली, लन्डन र कायरोमा गरी ४ पटक राजदूत भएका पेसेबर कूटनीतिक कर्मचारीमा सायद सिंह नै एक मात्र पर्छन्। चार राजा ( त्रिभुवन, महेन्द्र, वीरेन्द्र र अन्तिम शाह राजा ज्ञानेन्द्र)को शासन कालमा समेत विभिन्न हैसियतमा कूटनीतिक सेवा गर्ने अवशर पाउने व्यक्तित्व सिंह दुर्लभ कूटनीतिज्ञमा पर्दछन्। कूटनीतिक सुझबुझ र क्षमताका धनी भएकाले नै सायद उनलाई सर्वग्राह्य बनाएको हुनुपर्दछ।

मन्त्रालयको सांगठनिक विकासमा उनले सुरु गरेको वैज्ञानिक तवरमा शाखा विभाजन गर्ने, क्षेत्रीय र कार्यगत शाखाहरू निर्माण गर्ने, डेस्क प्रणाली सुरु गर्ने र केही दरबन्दी थप्ने कार्यमा उनको योगदान उल्लेखनीय छ। कूटनीतिक सेवा बलियो बनाउन  दक्ष जनशक्ति आवश्यक हुन्छ। त्यसका लागि सक्षम व्यक्तिको चयन भए मात्र सम्भव हुन्छ भन्ने उनको मनसाय मन्त्रालयलाई सशक्त बनाउने नै रहेको देखिन्छ। कूटनीति सञ्चालन गर्ने संस्थाले देशको भौगोलिक अवस्थितिलाई ध्यान राख्दै राष्ट्रको हित रक्षार्थ विश्वका कूटनीतिज्ञहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको विकास हुनुपर्ने उनको मान्यता स्तुत्य छ।

उपसंहार

यो पुस्तकमा सँगालिएका चारै व्यक्तित्व र तिनका क्रियाकलापसँग जोडिएर आएका ऐतिहासिक तस्बिरहरूले पाठकको ध्यान विशेष रूपमा खिच्नेछ। आजको नेपालको परिवर्तित राजनीतिक वातावरणमा यो पुस्तकमा संलग्न तस्बिरहरूले नेपालको कूटनीतिक इतिहासका महत्त्वपूर्ण घटना र पात्रह बारे प्रत्यक्ष रूपमा नयाँ पुस्तालाई अवगत गराउने र इतिहास बचाउने काम गरेकोमा प्रतिष्ठानको प्रयास सँगसँगै यस्ता दुर्लभ ऎतिहासिक तस्बिरहरू संकलनकर्ताको पनि प्रशंसा गर्नैपर्छ।

नेपालको स्वतन्त्र अस्तित्व कायम गराउने इतिहासका विशिष्ट पात्रहरूप्रति सामान्य रूपमा भए पनि दर्शाउनुपर्ने सदभाव, शिष्टाचार र कृतज्ञता देखाउँदा पनि ‘अपराध’ गरिएको जस्तो हुने वर्तमान स्थितिमा यस प्रयासलाई स्तुत्य मान्नुपर्दछ। नेपालको परराष्ट्र नीतिको मूल अवधारणाका रूपमा रहेको ‘दुई ढुंगाका बीचको तरुल’ सिद्धान्त अवलम्बनको तात्पर्य दुई विशाल छिमेकी साम्राज्यसँग सन्तुलित नीति कायम गर्ने र सोहीबमोजिम व्यवहार गरेर नै नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौम अस्तित्व कायम रहन सक्छ भन्ने नीति करिब २५० वर्षअघिदेखि नै स्थापित छ।

भूगोल अपरिवर्त्य छ र यसको वास्तविकताभन्दा बाहिर गएर कुनै परराष्ट्र नीति बन्न सक्दैन भन्ने पनि निर्विवाद छ। जुनसुकै भाषा र तरिकामा भने पनि नेपालको भौगोलिक यथार्थताले यसको परराष्ट्र नीति र सम्बन्धहरू निर्दिष्ट र परिभाषित गर्दछ। ‘जैसी कोठा’ बाट विकसित ‘मुन्सिखाना’ हुँदै आजको अवस्थामा पुगेको नेपालको परराष्ट्र संयन्त्रले आफ्नो जन्म र अस्तित्वको इतिहासप्रति गर्व गर्ने आँट गरेको आभास हुन्छ पुस्तकका तस्बिरहरू हेर्दै जाँदा। नेपालको स्वतन्त्र अस्तित्व कायम गर्न र नेपाललाई विश्वमा सोहीबमोजिम स्थापित गराउन भूमिका खेलेका ऎतिहासिक व्यक्तित्वत्वहरूको योगदानको झलक देखाउने संलग्न तस्बिरहरूले नयाँ पुस्तालाई अवश्य पनि एक पटक झक्झकाउनेछ।

यस्ता कृतिहरूको प्रकाशनले नेपाली कूटनीतिक इतिहास र ऎतिहासिक व्यक्तित्वहरूको विभिन्न पाटाहरू उजागर मात्र गर्दैनन्, यिनले समग्रमा नेपाली इतिहासको संवर्धन गर्न, पुर्खाहरूको योगदान, कमीकमजोरीबाट शिक्षित-दीक्षित हुन एवं अभिप्रेरित हुन नयाँ पुस्तालाई सहयोग गर्ने निश्चित छ। नेपालको कूटनीतिक इतिहासको विशिष्ट कालखण्ड १९५०, १९६० र १९७० को दशकमा नेपाललाई बदलिएको विश्व परिस्थितिमा एक स्वतन्त्र, सार्भौवम र अखण्ड राष्ट्रका रूपमा स्थापित गराउन आआफ्नो तवरबाट भूमिका खेलेका नेपाली कूटनीतिका यी चार हस्तीहरूको काम, योगदान, उपलब्धि र कमीकमजोरीको विश्लेषण गरी तथ्य, तथ्यांक र प्रचुर सन्दर्भ सामाग्रीसहित वर्षौँको मिहेनतले तयार भएको यो ग्रन्थले युगौँयुगसम्म नेपालको कूटनीतिक इतिहासको कीर्ति स्थापित गर्ने पवित्र कार्य गरेको छ।

(कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल हुन्।)


प्रतिक्रिया

One thought on “चार कूटनीतिज्ञ : विस्मृत इतिहासको संहिताकरण

  1. Congratulations for such exclusive review of the recently published book ” char kutnitighya”!authored by an author of great repute as a prolefic writers, a successful foreign secretary and ambassador of Nepal to Germany and Japan Dr Madan Kumar bhattarai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =