कोलोराडोमा मनुजयन्ती मनाइयो

हिमाल प्रेस ७ भदौ २०८० ११:२४
434
SHARES
कोलोराडोमा मनुजयन्ती मनाइयो

कोलोराडो- सुप्रसिद्ध कथाकार तथा गजलकार मनु ब्राजाकीको ८१ औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले ब्रुम्फिल्ड कोलोराडोमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा मनु ब्राजाकीको संस्मरणात्मक कृति ‘मनु ब्राजाकीको श्यामकहानी’ का बारेमा विभिन्न व्यक्तित्वहरूले समीक्षात्मक टिप्पणी गरेका थिए। यस्तै उपस्थित स्रष्टाहरूले आफ्ना रचना वाचन गरेर मनुलाई सम्झिएका छन्।

‘मनु ब्राजाकीको श्यामकहानी’ कृतिका संयोजक विमल अधिकारीले उक्त कृतिको विविध पक्षमाथि चर्चा गरेका थिए। अनेसास, बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्माले मनुको सम्झना गर्दै नेपाली साहित्यमा उनको स्थान सधैँ अटल रहने विश्वास व्यक्त गरे।  कलाकार तथा अनेसास, कोलोराडो शाखाका पूर्वअध्यक्ष कृष्णमुरारि ढुंगेलले नेपालमा मनुसँग काम गर्दाका आफ्ना अनुभव सुनाए।

कार्यक्रममा रीता ढकाल, तारा अधिकारी, सीता सापकोटा, डा. शारदा काफ्ले त्रिपाठी, जलेश्वर श्रेष्ठ, दामोदर लुइटेल, मिलन कोइराला, सम्झना आचार्य, डा. विजयराज शर्मा, प्रमिला शर्मा, डा. खगेन्द्रप्रसाद दाहाल, भगवती दाहाल, विकास त्रिपाठी, इन्दिरा रेग्मी, पुष्पराज पौडेल, भूपेन्द्र महत, शर्मिला शर्मा, विभीषिका अधिकारी, वसन्तराज घिमिरे, सफला घिमिरे, चन्द्रमोहन अधिकारी, ज्वाला कोइराला, वासुदेव खनाल आदिले रचना वाचन गरेका थिए।

कार्यक्रममा नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले, सामाजिक अभियन्ताहरू धर्मराज श्रेष्ठ र राज ढुंगाना, अनेसास कोलोराडो शाखाका कोषाध्यक्ष सेनुप्रसाद तिवारी, सदस्य निर्मला अर्याल, राम पौडेल, पुजन पोख्रेल, नारायण पोख्रेल, सदीक्षा रिजाल, समीक्षा रिजाल, लक्ष्मण रिजाल, अप्सरा आचार्य, सर्वज्ञ खनाल, प्रवेश खनाल, मिन बोलखे आदिको उपस्थिति थियो। कार्यक्रममा मनुका छोरीज्वाइँ अपर्णा बस्नेत, विष्णु बस्नेत र नातिनी रेवा बस्नेतको पनि उपस्थिति थियो।

शाखा अध्यक्ष राजु सिटौलाको सभापतित्वमा भएको कार्यक्रम शाखा महासचिव किरण अधिकारीले सञ्चालन गरेका थिए। अध्यक्ष सिटौलाले मनु ब्राजाकीका रचनामा आधारित रहेर विभिन्न व्यक्तित्वहरूले तयार पारेका समालोचनाको संग्रह ‘दृष्टिबिम्बमा मनु ब्राजाकी’ छिटै प्रकाशन हुन लागेको जानकारी दिए। उनले पाठशालाका लागि स्तरीय कार्यक्रम आउने पनि बताए। अमेरिकाका विभिन्न राज्यमा नेपाली पाठशाला सञ्चालनमा छन्। जसमा बालबालिकालाई नेपाली भाषा सिकाइन्छ।

१९९९ साल साउन १९ गते महोत्तरीको औरहीमा जन्मिएका मनुको ७५ वर्षको उमेरमा २०७४ माघ १९ गते पाटन अस्पतालमा निधन भएको थियो। ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्री स्वास्नी र म’, ‘भविष्ययात्रा’, ‘पारदर्शी मान्छे’, ‘मनु ब्राजाकीका छोटा कथाहरू’, ‘अन्नपूर्णाको भोज’, ‘जनजीवनका जीवनगाथा’ मनुका कथासंग्रह हुन्। ‘कान्छी बेगम’ उनको अपूर्ण उपन्यास हो।

‘गजलगंगा’, ‘काँडाका फूलहरू’, ‘के हेरेको ए जिन्दगी!’, ‘आगोले त पोल्छ पोल्छ पानीले झन् पोल्छ’, ‘मनु ब्राजाकीका रोज्जा गजलहरू’ गजलसंग्रह हुन्। यस्तै ‘मनु ब्राजाकीको श्यामकहानी’ संस्मरणसंग्रह प्रकाशित छ। उनको ‘आमालाई बेच्नुहुँदैन लाटा’ भन्ने कथासंग्रहको पाण्डुलिपि नेपाल प्रज्ञा प्रतिष्ठानले हराइदिएको छ।

प्रकाशित: ७ भदौ २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =