नेताहरू पोलापोलमै चर्चित काण्डहरू सामसुम पारिँदैछ : गगन थापा

हिमाल प्रेस ३ भदौ २०८० १३:२०
32
SHARES
नेताहरू पोलापोलमै चर्चित काण्डहरू सामसुम पारिँदैछ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले राज्यविरुद्धका ठूला काण्डहरू शीर्ष नेताहरूकै कारण सामसुम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्। झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनलाई आइतबार  सम्बोधन गर्दै थापाले विभिन्न घटनामा संलग्न सबै नेताहरू कारबाहीको दायरामा आउनैपर्ने बताए।

उनले अहिले चर्चामा रहेको सुन काण्ड, ललिता निवास प्रकरणको काण्ड, गिरीबन्धु टिस्ट्रेट प्रकरणका विषयमा छानबिन हुनुपर्ने दोहोर्‍याए। शीर्ष नेताबीच यस्ता काण्डको छानबिन नगर्ने सहमति भएको समाचार आइरहेको भन्दै थापाले आपत्ति पनि जनाए।

‘एउटाले भन्छ म सुनकाण्डको छानबिन गर्छु। अर्कोले ठूलो कुरा गर्छस् गिरी बन्धु टिस्ट्रेटको फाइल खोल्दिऊँ भन्छ। फेरि त्यसले गिरिबन्धुको खोल्यो भने म तेरो शिविर घोटलाको खोल्दिन्छु। अर्कोले भन्छ- त्यसो भए सबै मिलौँ केही पनि नखोलौँ। यो पाइन्छ? पाइँदैन’, थापाले भने।

उनले नेपाली कांग्रेसले यस्ता सबै प्रकारका काण्डको छानबिन गर्न दबाब दिन नहुने बताए। ‘नेपाली कांग्रेसले आज भन्ने कुरा चाहे त्यो यती ओम्नीको फाइल होस्, चाहे त्यो ललिता निवासको होस्, चाहे त्यो सुन काण्डको होस्, चाहे त्यो शिविर घोटालाको होस्,’ उनले भने, ‘जुनसुकै घोटालाको होस्। जुनसुकै काण्ड होस् सबै काण्डको छानबिन हुनुपर्छ। हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस् कि पूर्व प्रधानमन्त्री होस् कि, जुनसुकै ठूलो नेता होस कि, सानो नेता होस् जोसुकै होस् एक जनाले पनि उन्मुक्ति पाउनुहुँदैन। कांग्रेसले भन्नु सक्नुपर्छ। यसमा निर्दोष एक जना पनि पर्नुहुन्न, दोषी उम्किनु हुन्न।’

थापाले पछिल्लो मन्त्रिपरिषद् बैठकले प्रहरीका एआईजीहरूको सरुवा गरेको विषयमा पनि गम्भीर आपत्ति जनाए। सरकारले ललिता निवास प्रकरण, सुन काण्डलगायतको छानबिनको नेतृत्व गरिरहेका प्रहरीको नेतृत्वको सरुवा गरेसँगै थापाले आपत्ति जनाए।

‘पछिल्लो समय सुशासनको काम भइरहेको भनिरहँदा प्रहरी प्रशासनमा रहेका मानिसको सरुवा गर्ने विषय सुनिएको छ,’ थापाले भने, ‘यी सबै कुराभन्दा कांग्रेस अलग्गै छ। कांग्रेसका कोही व्यक्ति संलग्न छ भने त्यो निजी कुरा हुन्छ। माथि बस्ने कुनै नेताले गरेको गल्तिको भारी तल बस्ने कार्यकर्ताले बोक्न सक्दैन।’

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध बयान नलिने निर्णय सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको बारे पनि थापाले गलत भइरहेको बताए।

‘ललिता निवास प्रकरणको बारेमा छानबिन चलिरहेको छ। सुन काण्डको विषयमा अनुसन्धानमा चित्त नबुझेको भन्दै एमालेले भनिरहेको छ। हामी राज्यका संयन्त्र सक्षम छ भनिरहेका छौँ,’ उनले अघि भने, ‘तर मैले समाचार पढे अनुसार हो भने कांग्रेसको महामन्त्रीको रुपमा कांग्रेसको सदस्यको रुपमा गम्भीर आपत्ति छ। हामी सबैको आपत्ति हुनुपर्छ।’

उनले गठबन्धनका नेताहरूबीच के कुरा हुन्छ त्यो सार्वजनिक हुनुपर्ने पनि बताए। ‘हामीले सुन्यौँ गठबन्धनको नेताहरूको बैठक बस्यो बैठकले ललिता निवास प्रकरको विषयमा अनुसन्धान बयान लिनुपर्छ भनेर तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भयो रे भन्ने कुरा पढ्यौँ,’ उनले भने, ‘गठबन्धनकानेताहरू बसेर यो विषयमा छलफल गर्न पाउनुहुन्छ?, निर्णय गर्न पाउनुहुन्छ? म त भनिरहेको छु कांग्रेको बैठकमात्रै होइन गठबन्धनको बैठक लाइभ हुनुपर्छ। त्यहाँ के कुरा हुन्छ देश र जनताले थाहा पाउनुपर्छ।’

थापाले गठबन्धनको मात्रै होइन बेला बेलामा कांग्रेस, एमाले, माओवादी तथा सरकारमा बसेका मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेतासँग हुने छलफलको पनि यथार्थ बाहिर आउनुपर्ने बताए। अहिले नेताहरूले छलफलअघि र छलफलपछि फरक भाषा प्रयोग गरेको भन्दै उनले आपत्ति जनाए।

प्रकाशित: ३ भदौ २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =