सभामुखको ध्यानाकर्षणपछि सदन खुलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १ भदौ २०८० १०:५९
8
SHARES
सभामुखको ध्यानाकर्षणपछि सदन खुलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच शुक्रबार बालुवाटारमा भएको भेट। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा जारी अवरोध अन्त्य गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सभामुख देवराज घिमिरेसँग शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्डले यसका लागि सभामुखलाई पनि सक्रिय बन्न आग्रह गरेका छन्।

भेटमा प्रधानमन्त्री प्रचण्डलाई उधृत गर्दै सभामुखको सचिवालयले भनेको छ, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ।’ यसबारेमा आफूले प्रमुख विपक्षी दलको नेता केपी शर्मा ओलीसँग थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ थियो।

अवैध सुन बरामद प्रकरणमा संसदीय समिति छानबिन गठन गर्नुपर्ने माग गर्दै एमालेले साउनभर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभामुख घिमिरेले सदन नचल्दा नराम्रो सन्देश गएको भन्दै गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

घिमिरेले प्रधानमन्त्रीसँग भनेका थिए, ‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ।’ यस्तै उनले दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति नरहेको औँल्याएका थिए। घिमिरेले भनेका छन्, ‘आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्।’

समितिको नेतृत्व चयन हुन नसकेको विषयमा पनि सभामुखले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। यस्तै सभामुखका रूपमा आफूदले जिम्मेवारीपूर्वक पहल गरे पनि परिणाम निस्कन नसकेको सभामुखको भनाइ छ। उनले भनेका छन्, ‘संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो छ। सभामुखका रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु। तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन।’

एमाले अवरोधका कारण साउन १०, २३, २४, २६ र २९ गतको दिन बैठक अवरुद्ध भएको थियो। अवरोधका कारण १५, १६ र २२ साउन गरी तीन दिन बैठक नबसी सूचना टाँसेर स्थगित गरिएको थियो। पछिल्लो पटक ३ भदौसम्मका लागि बैठक सारिएको छ।

राष्ट्रियसभा पनि ११ साउनमा मिटरब्याजसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउनुबाहेक अन्य कार्यसूचीमा प्रवेश गरेको छैन । त्यसयता १८, २२, २४ र २६ साउनमा बैठक बसे पनि अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन। ३० साउनमा सूचना टाँसेर ५ भदौसम्मका लागि बैठक सारिएको छ।

प्रकाशित: १ भदौ २०८० १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =