नेपाल-भियतनाम सिधा उडानका लागि पहल गर्छु : राजदूत न्गुयेन

हिमाल प्रेस ३१ साउन २०८० १७:५४
8
SHARES
नेपाल-भियतनाम सिधा उडानका लागि पहल गर्छु : राजदूत न्गुयेन

काठमाडौँ- नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको बताएका छन्। त्यसका लागि आफूले पहल गर्ने उनले बताए।

राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको औँल्याए। ‘हामीले भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गरिरहेका छौँ र यो अझै विस्तार हुने क्रममा छ,’ नेपालका लागि गैरआवासीय राजदूत न्गुयेन थान हाइले भने, ‘नेपाली पक्षले पनि सिधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नो तर्फबाट सिधा उडानका लागि प्रयास गर्नेछौँ।’

राजदूत न्गुयेन थान हाईले काठमाडौँ र लुम्बिनीमा सिधा उडानको सम्भावना रहेको बताए। उक्त ठाउँमा उडान गर्न सकेमा पर्यटनलगायत अन्य क्षेत्रमा पनि सहकार्य विस्तार हुने उनको भनाइ थियो।

नेपालबाट अष्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाइ छ। यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानका लागि पहल गर्न आग्रह गरे।

श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्न सक्ने भएकाले व्यापारमा सहजीकरणका लागि पनि राजदूत न्गुयेन थान हाईसँग आग्रह गरे । दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्न श्रेष्ठले आग्रह गरे।

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मल्होत्राले पनि भियतनाममा रहेका बुद्धमार्गीहरूलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए।

उनले नेपाल र भियतनामका जनता सांस्कृतिक रूपमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्ने बताए। संघका उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच सम्बन्ध विस्तार हुने पनि बताए।

प्रकाशित: ३१ साउन २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =