झापा-पोखरा सिधा उडानसँगै दुई प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने

हिमाल प्रेस २७ फागुन २०७९ २१:०९
2
SHARE
झापा-पोखरा सिधा उडानसँगै दुई प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने

पोखरा- झापा-पोखरा सिधा उडान सिधा उडान सुरु भएसँगै गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन्।

पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा गरिएको बृहत अन्तक्रियामा सहभागीहरूले पर्यटन प्रवर्द्धनमा दुई प्रदेशले जोड दिनुपर्ने औंल्याएका हुन्।

बुद्ध एयरले पोखरा–झापा (भद्रपुर) सिधा उडान थालेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका सरोकारवालासँग अन्तर्क्रिया गरेका छन्। पोखराका व्यवसायीले कोशीका स्थानीय तह र पर्यटन व्यवसायीसँग छलफल बढाएका छन्।

पोखरा पर्यटन परिषद्को आयोजना, नाट्टा गण्डकीको संयोजनमा अन्तर्क्रिया भइरहेको छ। अन्तक्र्रिमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाई उडानले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तव्य र गतिविधिमा जोड दिनुपर्ने बताए।

पर्यटन बृहत् विषय भएकाले यसमा सानो कुराको पनि प्रत्यक्ष प्रभाव पर्ने भएकाले आतिथ्यतालगायत विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले घुम्नैपर्ने सहरको रूपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुरूप पर्यटन पूर्वाधारमा महानगरले काम गरिहेको पनि बताए।

प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबी)ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेका १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी गराए।

उनका अनुसार पोखरा पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने उक्त परियोजना तीन वर्षभित्र सक्ने लक्ष्य छ। परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको आचार्यले बताए।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्र मात्र नभई सबै सरोकारवालाको सहकार्य र समन्वय आवश्यक रहेको औँल्याए। उनले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तव्य प्रवर्द्धन, उत्पादित सामग्रीको बजारीकरणलगायत भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने बताए।

उनले सुन्दर प्राकृतिक सहर पोखरालाई झापासँग अब एक घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको भन्दै यसलाई अवसरका रूपमा लिएर दुई प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सहकार्यको आवश्यता रहेको बताए।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटी, कनेक्टिभिटी, मार्केटिङ र पूर्वाधारको अपरिहार्यता रहेको बताए। उनले विविध क्षेत्रलाई पर्यटनमा समेट्दै दिगो पर्यटन विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटन बोर्ड स्थापनाको तयारी भइरहेको पनि बताए।

पोखरा पर्यटन परिषद्का कार्यबाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिटीले पर्यटनलाई चलायमान बनाउने भएकाले एकअर्काे स्थानको गन्तव्य पहिचान र प्रवर्द्धनका लागि सहकार्य आवश्यक रहने बताए।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरा–भद्रपुर उडान आन्तरिक पर्यटकमात्र नभई भारतीय पर्यटकलाई पनि अब पोखरा आउन सहज भएको बताए।
वक्ताहरूले कोशी प्रदेश राजनीतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका विशेषतायुक्त प्रदेश भएकाले यसको प्रवर्द्धनमा जुट्नुपर्ने औंल्याएका छन्।
भद्रपुर नगरपालिका र पोखरा महानगपालिकाको सहयोगमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनलाई सबैको पहुँचमा पु¥याउने हवाई उडानको नियमितता र सडक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: २७ फागुन २०७९ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =