हवाई दुर्घटनापछि पोखराको पर्यटनमा धक्का, आधा घटे यात्रु

विजय नेपाल २२ माघ २०७९ १२:५७
4
SHARES
हवाई दुर्घटनापछि पोखराको पर्यटनमा धक्का, आधा घटे यात्रु

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले व्यावसायिक उडान थालेको एक महिना पूरा भएको छ। पुस १७ गते निकै तामझामका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गरेका थिए।

मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनसँगै आन्तरिक एवं बाह्य पर्यटकको ओइरो लाग्ने पोखरेलीहरूको व्यवसायी थियो। तर सोचेजस्तो भएन। उडान सुरु भएको एक महिना बढी हुँदासमेत पोखराबाट एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन। तत्काल हुने छाँटकाँट पनि देखिँदैन। आन्तरिक उडानमा भर परेको विमानस्थल सुरु भएको १५ दिनमै भयंकर दुर्घटना भयो।

माघ १ गते काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए। यसको असर पोखराले अहिलेसम्म व्यहोरिरहेको छ।

विमान दुर्घटनापछि यहाँको उडान आधाजसो घटेका छन्। पोखरा घुम्ने पर्यटकको संख्यामा भारी गिरावट आएको छ। दुर्घटनाको अघिल्लो दिनसम्म १८ हजार २४० जना यात्रुले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेका थिए। माघ १ पछिको १५ दिनमा ९ हजार ७८३ जनाले यात्रा गरेको विमानस्थलको तथ्यांक छ।

विमानस्थलका राजश्व अधिकृत देवराज सुवेदीले माघ ७ गते सबैभन्दा कम ४१३ जनाले हवाई यात्रा गरेको जानकारी दिए। उनका अनुसार यात्रु नपाएपछि सबैजसो विमान कम्पनीले उडान संख्या आधा कटौती गरेका छन्।

पोखराबाट हाल बुध्द, यती, श्री, सौर्य, गुणलगायत एयरलाइन्सले उडान भर्दै आएका छन्। त्यसमध्ये बुध्द एयरलाइन्सको उडान सबैभन्दा बढी छ।

माघ १ अघि बुध्दले पोखरा-काठमाडौँ रुटमा दैनिक १२ वटासम्म उडान भर्दै आएको थियो। अहिले ८ मा झरेको छ।

त्यस्तै यती एअरलाइन्सको विगतमा ६ वटासम्म उडान हुने गरेकोमा घटेर २ मा सीमित छ। श्री, सौर्यलगायतले दिनमा एकभन्दा बढी उडान गर्न सकेका छैनन्।

सुवेदीका अनुसार फेब्रुअरीको अन्तिम सातादेखि पर्यटकको चाप बढ्नेछ। उनी भन्छन्, ‘फेब्रुअरी, अप्रिलमा पर्यटकको चाप बढ्ने गर्छ, त्यतिबेला हामी पुरानै अवस्थामा फर्किन्छौँ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतम हवाई दुर्घटनाको प्रतिवेदन सार्वजनिक भएपछि यात्रुको चाप बढ्ने बताउँछन्। ‘सत्यतथ्य थाहा भएपछि मनोवैज्ञानिक असर हराउँदै जान्छ,’ उनी भन्छन्, ‘मौसममा पनि सुधार हुने भएकाले लयमा फर्किने समय नलाग्ला।’

गौतमले पोखराबाट फेब्रुअरी तेस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान थाल्ने पनि तयारीमा भइरहेको बताए। यसको लागि निजी क्षेत्रका विमान कम्पनी पनि तयार छन्। बुध्द एयरले त भारतका तीन गन्तव्यमा उडान गर्ने भन्दै अनुमति पनि मागेको छ । तर भारतले रुट दिन आनाकानी गरिरहेको छ।

यसमा तत्काल कूटनीतिक पहल गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न पर्यटन व्यवसायीहरूले मागसमेत गरेका छन्।

पर्यटनमा धक्का

पर्यटकीय सिजनमै हवाई दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्रले ठूलो धक्का महसुस गरिरहेको छ। कोरोना महामारीका कारण दुई वर्ष बढी थलिएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किंदै थियो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी हवाई दुर्घटनाले पोखराको पर्यटनमा ठूलो असर परेको बताउँछन्। उनी भन्छन्, ‘पर्यटन व्यवसाय भर्खरै उठ्न खोजेको थियो, दुर्घटनाले फेरि असर गर्‍यो।’

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई भने आन्तरिकको तुलनामा बाह्य पर्यटक घटेकोले सिजनको मध्यतिर पर्यटक बढ्नेमा आशावादी छन्। छिमेकी मुलुक चीनका पर्यटक भित्राउन सक्ने हो भने पर्यटनमा राहत मिल्ने उनको भनाइ छ।

चिनियाँ नागरिकलाई अन्य मुलुकमा घुम्नका लागि छुट दिए पनि नेपाल घुम्न अझै सहज बनाइएको छैन। उनी भन्छन्, ‘कोरोनाअघि आउने ठूलो संख्याका चिनियाँ पर्यटक पोखरा नआएको धेरै भइसक्यो।’

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्गबाट ५५ हजार पर्यटक नेपाल भित्रिएका थिए। जनवरीमा सबैभन्दा धेरै भारतबाट १६ हजार ४३६ र अमेरिकाबाट ६ हजार ५६१ पर्यटक आएका छन्। अस्ट्रेलियाबाट ३ हजार ४४१ बाट पर्यटक नेपाल भित्रिएका छन्। जनवरीमा चीनबाट १ हजार ४३७ जना मात्रै पर्यटक नेपाल आएका छन्।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने करिब ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको विगतको तथ्यांक छ। अहिले यो संख्या घटेको छ।

प्रकाशित: २२ माघ २०७९ १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =