टल्कने ढुंगा गोरखा दरबारमा राख्ने सरकारको निर्णय, संरक्षण गर्ने शाही परिवारलाई पुरस्कृत गरिने

हिमाल प्रेस ३० साउन २०८० १८:५२
636
SHARES
टल्कने ढुंगा गोरखा दरबारमा राख्ने सरकारको निर्णय, संरक्षण गर्ने शाही परिवारलाई पुरस्कृत गरिने

काठमाडौँ- सरकारले गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा राख्ने निर्णय गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगालाई गोरखा दरबारमा राख्ने र अहिलेसम्म संरक्षण गरेको भन्दै राममाया शाहीको परिवारलाई पुरस्कृत गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

उक्त ढुंगालाई गोरखामै राख्नका लागि गोरखाका जनप्रतिनिधि र स्थानीयले सरकारको ध्यानाकर्षण गरेका थिए। मंगलबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गोरखाका जनप्रतिनिधिले भेटेर उक्त ढुंगालाई गोरखामै राख्न पहल गरेका थिए। त्यसअघि गोरखा नगरपालिकाले पनि उक्त ढुंगा गोरखा दरबार परिसरमा राख्ने निर्णय गरेको थियो।

शाहीको परिवारले वर्षौँदेखि उक्त ढुंगालाई कुल देवताको रुपमा पूजा गर्दै आएको बताएको छ। शाहीले प्रहरीले बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा लगेर राख्दा पनि पूजा गर्दै आइरहेकी छन्।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी संघसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार बसेकाे सर्वपक्षीय बैठकले क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो।

‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाईसमेत थप आकर्षण गराउँछ,’ नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले भनिन्, ‘गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो।’

बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहाना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएका छन्। ‘खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो,’ उपप्रमुख थोकरले भनिन्, ‘राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित संघसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो।’

आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसर भित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरूले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा थियो।

सर्वपक्षीय बैठकमा ढुंगा गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णयसमेत गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुंगाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुंगा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो।

भूगर्भविद्को टोलीले दुई दिन लगाएर परीक्षण गरेको थियो। विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिइ उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो।

परीक्षणबाट उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुंगा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए।

उक्त ढुंगा ५२ किलो तीन सय ३० ग्राम रहेको रहेको छ। गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुंगा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरिएको थियो।

प्रकाशित: ३० साउन २०८० १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =