सशस्त्र प्रहरी अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र उद्घाटन

हिमाल प्रेस २५ साउन २०८० १३:३५
सशस्त्र प्रहरी अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र उद्घाटन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको बिहीबार उदघाटन गरेका छन्।
स्वास्थ्य सेवा विभागको पहलमा जर्मन विकास सहयोग (जीआईजेड) को सहयोगमा अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिएको हो। उदघाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले फोहोर व्यवस्थानका क्षेत्रमा सशस्त्र प्रहरी अस्पतालले उदाहरणीय काम गरेको बताए।

फोहोर व्यवस्थापन गर्न नसक्नु देशका लागि ठूलो समस्या रहेको औँल्याउदै मन्त्री बस्नेतले अस्पतालहरूले उचित तरिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने त्यससकै कारण महामारी फैलिने खतरा रहेको बताए। उनले भने, ‘स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापन कार्यलाई हरेक अस्पतालले प्राथमिकतामा राख्नुपर्छ। ’

प्राकृतिक विपत्तिका बेला होस् वा कोभिड १९ जस्ता महामारीका बेला नै किन नहोस सशस्त्र बल अस्पतालले जनताको सेवालाई प्राथमिकता दिएर काम गरेको स्मरण गर्दै मन्त्री बस्नेतले अस्पतालको सेवा विस्तारका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

आफू स्वास्थ्यमन्त्री भएपछि सबैभन्दा पहिले सरकारी अस्पतालको सेवा सुधारमा लागेको दाबी गर्दै बस्नेतले पहिलेको तुलनामा अहिले वीर अस्पतालको सेवा सुधार भएको बताए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फोहोर व्यवस्थापन केन्द्र स्थापनामा सहयोग गर्ने स्वास्थ्य सेवा विभाग, जीआईजेडसहित सरोकारवालालाई धन्यवाद दिए। उनले राजमार्ग नजिक रहेको सशस्त्र प्रहरी अस्पतालमा दुर्घटनाका घाइते बढी आउने भएकाले ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिदिन स्वास्थ्यमन्त्री बस्नेतसँग आग्रह गरे।

अस्पतालका मेडिकल डाइरेक्टर डा. रूपक महर्जनले २०६२ सालमा स्थापना भएको अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको वातावरण स्वच्छ रहनमा मात्र नभएर उपचारमा पनि सहज हुने बताए। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले नेपालका अस्पतालमा फोहोर व्यवस्थापनको वर्तमान अवस्थाका बिषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: २५ साउन २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =