प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि, कसले के भने?

हिमाल प्रेस २२ साउन २०८० २०:०८
8
SHARES
प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि, कसले के भने? रास्वपा केन्द्रीय कार्यालय

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेता जिम्मेवार नदेखिएको रास्वपा सांसद्‍हरूकाे आरोप छ।

साेमबार पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरूले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाएका छन्। पार्टी सभापति एवं रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन्। ‘कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ। जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ,’ उनले फेसबुकमा भनेका छन्, ‘तर संसद् चल्दैन, बार्गेनिङ चल्छ।’

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति  व्यक्त गरेका छन्। ‘संसद्‍मा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन,’ उनले भनेका छन्, ‘सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ।’

रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले जनताको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘संसद् अवरुद्ध गरेर प्रतिपक्ष र सत्तापक्ष आफैँ मिल्ने भेट्ने गरिरहनुभएको छ,’ उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा फोटो आउँछन्। सदन सञ्चालनको खर्च, सांसदको समय र जनताको मुद्दामा उहाँहरू जिम्मेवार हुनुभएन।’

सांसद स्वर्णिम वाग्लेले संसद् बैठक अवरुद्ध हुन दु:खद रहेको बताएका छन्। उनले पार्टी सभापित लामिछानेको स्ट्याटस सेयर गर्दै संसद् अवरुद्ध हुन दु:खद रहेको उल्लेख गरेका छन्।

त्यस्तै सांसद तोसिमा कार्कीले सदन चल्छ भनेर बोलाउने तर चल्न नदिने भन्दै फेसबुकमा असन्तुष्टि पोखेकी छन्। जनताका मुद्दा उठाउने चल्नै नदिने, मुद्दा कहाँ उठाउने, कहाँ छलफल गर्ने भन्दै सांसद कार्कीले सामाजिक सञ्‍जाल फेसबुकमा आक्रोस पोखेकी छन्।

साेमबारका लागि तय गरिएकाे बैठक बस्न नसकेपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेका लागि तय गरिएकाे छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको राससलाई बताएका छन्।

सुन तस्करी प्रकरणको विषयमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउने बहानामा प्रतिपक्ष नेकपा (एमाले) सदन अवरोध गर्दै आएको छ।

निर्वाचन खर्चबारे विवाद : रास्वपाका चार सांसदलाई कारबाही नगर्न उच्च अदालतको आदेश

प्रकाशित: २२ साउन २०८० २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =