धनगढीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा

हिमाल प्रेस २१ साउन २०८० १५:४९
10
SHARES
धनगढीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा

धनगढी- धनगढीमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका परिसरमा जडान गरिएको विद्युतीय चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो।

धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राना र नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जंगबहादुर चन्दले संयुक्त रूपमा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्।

विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उपमहानगरले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको नगर प्रमुख गोपाल हमालले बताए। उनले फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रबर्द्धन गर्ने बताए।

धनगढीको चार्जिङ स्टेसन एक सय ४० किलोवाट क्षमताको रहेको छ। चार्जिङ स्टेसनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको एउटा एसी चार्जर राखिएको छ।

सवारी साधनको चार्ज गर्न ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। गाडी चार्ज गर्न बिहान र राति १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैयाँ २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्नेछ।

चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा विद्युतीय चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागर ज्ञवाली र निर्माण कम्पनीका व्यवस्थापक शिवराम अधिकारी र उपमहानगरका जनप्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित: २१ साउन २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =